सामाजिकीकरणको उज्यालो दृश्य
नेपाली लोकतन्त्रले कुनै पनि प्रकारको जञ्जीर स्वीकार नगर्ने परिपक्व अवस्था हासिल गरिसकेको छ।
अचेल राजनीतिक दलहरूप्रति जनतामा नैराश्य छाएको छ। कसैकसैले यो दिग्दारीलाई दलीय पद्धतिबाटै निराश भएको अर्थमा समेत लिन खोजेको देखिन्छ। किन्तु यो असन्तोष हाल राजनीतिको मूलधारमा रहेका दलहरूको गतिविधिप्रति लक्षित हो। यो लोकतान्त्रिक अभ्यासभित्रको स्वाभाविक प्रक्रिया मात्र हो। यसलाई बहुदलीय लोकतान्त्रिक पद्धतिप्रतिको दिग्दारीको रूपमा लिनु अनर्थ हुन्छ। राजनीतिक दल लोकतान्त्रिक शासनप्रणालीका जीवनरेखा हुन्। ठूला दलका ठूला नेताहरूबाट जनताको अपेक्षामा तुषारापात हुँदा देखिएको शालीन जनआक्रोशलाई लोकतन्त्रको गहनाको रूपमा लिनुपर्छ।
पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले लेखेका छन्, ‘मेरो एकाएकको प्रशंसायुक्त उन्नतिभित्र पनि कतै केही जनताको हिरो खोज्ने भावनाको कमजोरी मात्रै हो कि भन्ने डरले म सदैव त्राहिमाम हुन्छु।’ (मेरो म)। लोकतन्त्र पूर्णतः संस्थागत भइनसकेको मुलुकका केही भावुक व्यक्तिले विशेष गरेर सत्तारूढ दलको प्रमुख नेतालाई हिरो मान्न थाल्दछन्। नवलोकतान्त्रिक देशमा राजनीतिक दलका नेताहरूले अनेकौं रोमहर्षक र तिलस्मी सपना बाँडेका हुन्छन्। महत्त्वाकांक्षी नेतामा प्रायः म गर्छु, गर्नसक्छु भन्ने भावना हुन्छ। तिनै रोमान्टिक सपनालाई जनतामाझ प्रसारण गरेर नेताहरू हिरो हुन पुग्दछन्। सानो आलोचनाबाट विचलित र प्रशंसाबाट सहजै पुलकित हुने नेता लोकतान्त्रिक प्रणालीको सच्चा मार्गदर्शक हुन सक्दैन। लोकतन्त्रमा सत्तारूढ दल र नेताको प्रशंसाभन्दा आलोचना ज्यादा हुन्छ। कोही कोही यो स्वाभाविक कुरालाई महसुस गर्न नसकेर अधीर हुन्छन्। परिपक्व भनिएका नेता पनि लोकतन्त्रमा अल्पमतको सुनुवाइ र कदरको ठूलो महत्त्व हुन्छ भन्ने कुरा भुलिदिन्छन्।
हाम्रो प्रणालीभित्र लहलहाउँदो रूपमा पल्लवित केही अँध्यारा पक्षहरू छन्। दुर्भाग्यवश नेताहरूले आफ्ना समर्थक युवाहरूलाई विचारका पात्र बनाउनुभन्दा प्रतिकार दस्ताको रूपमा विकास गर्न चाहे। चाकडी प्रथाको विरोधको जगमा उठेका विद्रोही नेताहरूमा जयजयकारप्रति तृष्णा र आशक्ति जाग्नु अचम्मको कुरा हो। यो प्रवृत्तिले प्रगतिशील सोच कुण्ठित गराई परनिर्भर र आशामुखी समाजको विकास गर्दछ। यसले विद्रोहलाई अकर्मण्यता र कर्तव्यलाई विकर्ममा विसर्जन गराउँछ। यस्तो उक्साहटले खेती गरेर खाने युवक श्रमविहीन वैभवमा लालायित हुन्छ। पञ्चायत प्रणालीको समयमा वैचारिक प्रतिवादका लागि नभई भौतिक प्रतिकार गर्ने जत्था तैयार गरिएको थियो। बहुदलीय पद्धति आएपछि पनि त्यसको सिको गर्न छाडिएन। अहिले पनि बेरोजगार युवाहरूलाई त्यस्तो कृत्यमा संलग्न गराइएकै छ। दुर्भाग्यवश उनीहरूलाई आफ्नो विचार र स्वतन्त्र जीवन खोसिएको पत्तो पनि हुँदैन।
राजनीतिक सामाजिकीकरणको माध्यमबाट राजनीतिक संस्कृतिको रक्षा र आवश्यकता अनुरूप परिवर्तनको शिक्षा प्राप्त हुन्छ। व्यत्तिाmको राजनीतिक विचारको निर्माण हुँदै जानु नै राजनीतिक सामाजिकीकरण हो।
राजनीतिक व्यक्तित्व विचारको माध्यमबाट प्रकट हुन्छ। बीपी कोइराला विचारबाट प्रकट भएका हुन्। नेल्सन मण्डेला, अब्राहम लिंकन, कार्ल मार्क्स, महात्मा गान्धी र मदन भण्डारीहरू विचारले चिनिएका हुन्। विचारबाट निर्मित व्यक्तित्वले विचारकै प्रेरणा दिन्छ। अहिले नेपालमा वैचारिकभन्दा पदीय राजनीति केन्द्रबिन्दुमा छ। राजनीतिक दलका वयोवृद्ध नेताहरूले आशक्तिको त्याग गर्न नसकेकै कारण वैचारिक राजनीतिको अवशान भएको हो। अहिले त ‘आई लाइक फलाना’ को शुभ बेला छ।
एक जमानामा राजालाई विष्णुको अवतार मानिन्थ्यो। राजाहरू पनि आफू भगवान भएकोमा ढुक्क थिए। वंशानुगत रूपमा राजा हुनेले त्यसरी सोच्नु कुनै अचम्मको कुरा थिएन। परन्तु समुदायको पिँधमा रहेका अकिञ्चन आमाबाबुका छोराछोरीहरू शिखरमा पुगेपछि आफ्नो देवत्वकरणमा धन्यधन्य भएको देखेर दुनियाँ हाँस्छ। देशमा रोजगारीको अवसर उत्पन्न गरी आआफ्नो पेसा गरेर खान प्रोत्साहन दिनुपर्ने राजनीतिक नेतृत्वले युवाहरूलाई राजनेता नभई मालिक खोज्न उत्साहित गरेको आरोप लागेको छ। विडम्बना त के छ भने वर्तमान राजनीतिक नेताहरूको गतिविधिबाट आजित भइयो भन्दै वैकल्पिक प्रणालीको पैरवी गर्नेहरू झनै बलियो मालिकको खोजीमा छन्।
यी त भए हाम्रो सत्ताराजनीतिका अँध्यारा दृश्यहरू। परन्तु हाम्रो राजनीतिक सामाजिकीकरणको अर्को उज्यालो पाटो पनि छ। अँध्यारो परिदृश्यले जति निराश पार्दछ, उज्यालो परिदृश्य त्योभन्दा धेरै हौसला प्रदायक छ। यहाँ सत्ताका खेल हुन्छन्, आजका आयारामहरू भोलिका गयाराम हुन्छन्। शक्ति र सत्ताको राजनीति निराशाजनक तवरले गतिमान छ। किन्तु राजनीतिक सामाजिकीकरण आशाप्रद छ। सत्तामुखी राजनीति अस्थिर छ तर लोकतन्त्रप्रतिको सर्वसाधारणको विश्वास सुदृढ। अहिले सर्वसाधारण जनतामा कम्युनिस्टको छवि बलात् सत्ता कब्जा गर्ने शक्तिको रूपमा छैन।
जनता कम्युनिस्ट भनेको सामाजिक न्याय र समाजवादमा विश्वास गर्ने लोकतान्त्रिक विचार हो भनेर बुझ्छन्। अति दक्षिणपन्थी विचार राख्ने नेताले बरु कुनै प्रकारको तानाशाहीको समर्थन गरेर बोल्ला, तर सर्वसाधारण जनतामा जस्तोसुकै विचारको शासन आए पनि त्यो लोकतान्त्रिक नै हुनुपर्छ भन्ने सुदृढ धारणा छ। हाम्रो मुलुकको समाज, समुदाय, पारिवारिक वातावरण र धार्मिक रूपमा समेत कट्टरवादी सोच नरहेको हुँदा बहुलता र लोकतन्त्रलाई आत्मसात् गर्ने संस्कृति कायम भएको छ। सत्तासम्बन्धी क्रियाकलाप अप्रिय खालका भए तापनि हाम्रा राजनीतिक दलहरूमा न्यूनतम आपसी सहनशीलता छ।
यहाँ कतिलाई अफगानिस्तानमा जस्तै क्रान्ति हुने आशा जाग्यो होला। कतिलाई वर्तमान नेताहरू देश छाडेर भागाभाग गरेको हेर्ने रहर लाग्यो होला। कतिलाई त्यस्तै धार्मिक कट्टरतावादमा आधारित अति दक्षिणपन्थी शासनको रहर जाग्यो होला। तर अफगानिस्तानको मामिलामा कति रगत, रोदन र रुग्ण विचार छ भन्नेतर्फ ध्यान गएन। एउटा अफगानी किशोर या किशोरीको सामाजिकीकरण कसरी हुने गर्छ होला भन्ने अनुमान नगरी त्यहाँको आम मनस्थितिको कल्पना गर्न सकिन्न। कैयौं वर्ष अघिदेखि जीवनको मूल्य नरहेको समाजको शिक्षकले कसरी शिक्षा दिन्छ होला। एउटी होनहार र प्रतिभाशाली किशोरीको भाग्य कस्तो हुन्छ होला।
हो, नेपाल धेरै पिछडिएको छ। भौतिक समृद्धिमा अत्यन्तै पछाडि छ। राजनीतिले निराशा दियो। तथापि यो देश सापेक्ष रूपमा शानसँग बस्न लायक छ। अनेकौं असहमति र गुनासाबीच पनि हाम्रो समाज मिलेर बसेको छ र मिलेरै बस्नुपर्छ भन्ने सोचमा छ। विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक भनिने छिमेकी देश भारतका साधारण जनताभन्दा नेपाली जनता ज्याद सचेत र जागरुक छन्।
राजनीतिक सामाजिकीकरणको माध्यमबाट राजनीतिक संस्कृतिको रक्षा र आवश्यकता अनुरूप परिवर्तनको शिक्षा प्राप्त हुन्छ। परिवार, छिमेक, समाज एवं विद्यालयको माध्यमबाट व्यक्तिको राजनीतिक विचारको निर्माण हुँदै जानु नै राजनीतिक सामाजिकीकरण हो। यही क्रममा व्यक्तिले आफ्नो राजनीतिक धारणा निश्चित गर्दछ। बीचमै व्यवधान गरेर स्वतन्त्र विचारको निर्माण गर्ने अवसर खोसिएन भने व्यक्तिमा राजनीतिक परिपक्वताको विकास हुन्छ। यही क्रममा विश्वास र आस्थाको हस्तान्तरण र पुस्तान्तरण हुँदै जाने गर्दछ।
समाजमा अशान्ति, अविश्वास र हिंसात्मक क्रान्ति भएको समयमा राजनीतिक सामाजिकीकरणको स्वाभाविक धारा अवरुद्ध हुन्छ। फ्रान्सको क्रान्तिले प्रचलित राजनीतिक संस्कृतिलाई विस्थापन गरेर नयाँ शिराबाट सामाजिकीकरण सुरु गरायो। अमेरिकी स्वतन्त्रता आन्दोलनले राजाबिना पनि सही गतिमा राज्य चल्छ भन्ने सन्देश दियो। दुवै देशमा कम्युनिस्ट सरकार छन् तापनि उत्तर कोरिया र चीनका किशोरकिशोरीको सामाजिकीकरणमा ठूलो भिन्नता छ। भारतको जम्मु कश्मिर र उत्तर प्रदेशको नागरिकको राज्य, राजनीति र समाजप्रतिको सोच र आस्थामा फरक छ। अफगानिस्तानको किशोरले आफ्नो देशमा स्थिरता र शान्ति कायम होला भन्ने विश्वासै गर्दैन।
नेपालमा तुलनात्मक रूपमा सामाजिक स्थिरता, धार्मिक स्वतन्त्रता र सहिष्णुता छ। लोकतन्त्र, उदारवाद एवं संवैधानिक संस्थाहरूको सुनिश्चित प्रतिष्ठा, विश्वसनीयता र स्थायित्व छ। निरन्तर निर्वाचनको अनुभव छ। सापेक्ष रूपमा हेर्दा भयभीत हुनुपर्ने अवस्था छैन। सरकारी संस्थाहरू परिचालन गर्न स्वदेशी जनशक्ति नै काफी छ। कुनै विदेशी आएर सिकाउनु पर्दैन। परिवार, समाज राजनीतिक दलमा अटाउनका लागि आफ्ना अनेकौं व्यक्तिगत आकांक्षाको परित्याग र सम्झौता गर्नुपर्छ भन्ने कुरा प्रायः सबै राजनीतिकर्मीहरूलाई थाहा छ। नेपालका सबै परिवार, समुदाय र विद्यालयमा समेत राजनीतिक सामाजिकीकरणको कार्य सौम्य र स्वचालित तरिकाले चलायमान छ। यो स्वस्फूर्त उपक्रमलाई दृष्टिगत गर्दा सत्तामुखी उठापटकले लोकतन्त्र र उदारवादलाई किञ्चित पनि नोक्सान पुर्याउन सक्दैन भन्ने प्रष्ट हुन्छ।
नेपालमा लोकतान्त्रिक वातावरणको सिर्जना गर्नमा निर्वाचनको ठूलो योगदान छ। हाम्रो मुलुकमा सामयिक निर्वाचन एक पर्वको रूपमा आउँछ। छिटफुट होहल्ला भए तापनि मतदानमा जान डराउनु पर्दैन। भारी संख्यामा मतदान हुन्छ। समाजमा समायोजित भएर बस्नु, आफ्नो र अरूको स्थानका साथै मानको पहिचान गर्नु र बदलिँदो परिस्थिति अनुकूल हुँदै जानु नेपाली समाजको ठूलो गुण हो। लोकतन्त्रको सबैभन्दा ठूलो विशेषता प्रश्न गर्न, आलोचना गर्न र सुझाव दिन पाउनु हो भन्ने कुरा सबैलाई थाहा छ। नेपाली लोकतन्त्रले कुनै पनि प्रकारको जञ्जीर स्वीकार नगर्ने परिपक्व अवस्था हासिल गरिसकेको छ।