चोरीका मोटरसाइकल सहित ३ जना पक्राउ
काठमाडौं : चोरीका मोटरसाइकलसहित काठमाडौंस्थित थलीबाट तीनजनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरी लगिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट चोरी गरेर लैजाँदै गरिएको बाग्मती प्रदेश ०२–०१५ प ६१७२ नम्बरको २२० सिसिको कालो निलो पल्सर समेत फेला पारेको छ। ट्राफिकको टोलीले मोटरसाइकल चोरीमा संलग्न सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई पक्राउ गरेको हो। उनलाई कागेश्वरी मनहरा नगरपालिका– ५ स्थित थलीबाट नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
खोटाङ्ग घर भइ काँडाघारी बस्ने संजीब राईले बुधबार आफ्नो पार्किङ गरेर राखिएको अवस्थामा मोटरसाइकल हराएको भनी ट्राफिक प्रहरीलाई जानकारी दिएका थिए। त्यसकै आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गर्ने क्रममा सिन्धुपाल्चोक मेलम्ची घर भइ साँखु बस्ने २६ वर्षीय जीतबहादुर र २४ वर्षीय विष्णु तामाङ्गसमेतको संलग्नतामा चोरी गरेको बताएका थिए। उनीहरुसँग अर्को चोरीको मोटरसाइकल समेत रहेको खुलेपछि खोजतलास गर्ने क्रममा माकलबारीबाट भाद्र १५ गते कोटेश्वरबाट हराएको निलो रङ्गको २२० सिसिको पल्सर सहित पक्राउ परेका हुन्।
तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१ प ७२८६ नम्बरको उक्त मोटरसाइकलमा नम्बर परिवर्तन गरि प्रदेश ३–०२–००७प ८४९४ नम्बर बनाएर सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेका जीतबहादुर र विष्णु दाजुभाइ रहेको समेत अनुसन्धानबाट खुल्न आएको ट्राफिक महाशाखाले जनाएको छ।
मोटरसाइकल चोरीमा संलग्न तीनै जनालाई मोटरसाइकल सहित महानगरीय प्रहरी वृत्त बानेश्वरमा थप अनुसन्धान एवम् कारवाहीको लागि पठाएको ट्राफिक महाशाखाले जनाएको छ। महाशाखाले आजै विभिन्न स्थानबाट हराएका तथा चोरी भएका २४ वटा मोटरसाइकल फेला पारेर सम्बन्धित सवारीधनीको जिम्मा समेत लगाएको छ।