अब खेतहरू बन्लान् त?

अब खेतहरू बन्लान् त?

बितेका केही वर्षयता हामी प्रत्यक्ष रूपमा नियमित जस्तो नसोचिएका विपदहरूको सामना गरिरहेका छौं। जेठदेखि असोजसम्म बाढी पहिरो, पुष-माघ हिमपात र शितलहर, फागुन-वैशाख आँधी, हावाहुरी, आगलागी र खडेरीको चपेटामा पर्नु विद्यालय पाठ्यक्रमको रुटिनजस्तै भइसकेको छ। यीबाहेक बेमौसमी वर्षा र हिमताल विस्फोटनहरूले कतीखेर धनजनको विनास गर्ने हो, ती अनुमानभन्दा बाहिर छन्। जलवायु परिवर्तनले यी सब गराइरहेको छ भनेर अब हामी उम्कने अवस्था छैन। यसमा हामी कारक र दोषी छैनौं त? कतै बढिरहेको विपदलाई थप फ्युलिङ गर्न हामी नै क्याटालिस्ट बनिरहेका त छैनौं?

यो वर्षको असोज १०-१२ सम्म वर्षिएको अविरल वर्षाले बिपीलगायत देशभरका ५० बढी राजमार्गहरू नराम्ररी क्षतीग्रस्त भए। करोडौंका कृषिबालीहरू बिनाश भए। उब्जनी दिने जमिनहरू लगभग पुन:खेत बन्नै नसक्ने अवस्थामा पुगे। अर्बौ टन माटो बग्यो, पुरियो। खानेपानी, बिध्युतगृह, सडक, निजी/व्यापारिक घरहरू, विद्यालयजस्ता भौतीक संरचनाहरू, जन र पशुचौपायाहरू बगे, पुरिए, क्षतीग्रस्त भए र मरे। एकैपटक हजारौं नागरिकहरू शून्यमा झरेर विपद्जन्य सुकुम्बासी बने। कयौं तस्बिरहरू देखिए, थातथलो छोडेर राजधानी वा नजिकका शहरहरूमा आफ्ना बचेका केही पोका, १-२ बाख्रा र लालाबालाहरूसँगै शरणार्थी जीवनतीर लम्किएकाहरूको मनै अमिल्याउने क्याराभानहरूको। तीनीहरू जाने कहाँ, बस्ने कहाँ, खाने के र अबको भविष्य के हो? उत्तर शायद कसैसँग छैन। यतीखेर देशमा सबै छन् अर्थात् सबै को अर्थ सरकार छ, सरकारका प्रतीनिधिहरू छन्, संस्थाहरू छन्, तर नागरिकहरू एक्ला भएका छन्। उसोभए के नागरिकहरू आफैंले दिएका मत र तीरेका करले एक्लिएका हुन त? हैन भने हामी छौं भन्ने आवाजहरू खोइ त? 
 

विपद कुनै नहोस्, तर भूकम्पभन्दा बाढी/पहिरो खतरनाक देखियो, यस अर्थमा कि- भूकम्पले खेतबारी र खुला ठाउँ छोड्थ्यो, फेरि माटोमा जीवन खोज्न मिल्नेगरी। जमिन र जग बलियो भएमा, बलियो घरका मान्छेहरू मर्ने सम्भावना पनि कम/शून्य नै हुन्थ्यो तर बाढीले त केही राखेन पहाडमा। 

बनेपा-पनौती-फलामेसाँघु हुँदै चौकीडाँडा सम्म र भकुन्डेबेसी हुँदै आउने दाप्चाखोला मिलेपछि तलतीरको सुनकोशी मुखसम्म करिब ८० किमी लम्बाईको रोशिखोलाले यसपाली विध्वंश मच्चायो। ताण्डवलिला देखायो। शायद त्यो क्षेत्रमा क्ल्वाउड बर्ष्ट भयो कि? तर के बाढी यसपटक मात्र आएको हो वा बाढीलाइ हामीले थप बढायौं? 

हामी इन्जिनियरिङ हाइड्रोलोजी वा इन्जिनियरिङको अध्ययनको सिलसिलामा प्रायः ३०-४५ वर्षमा बाढीहरू दोहोरिने गर्छन् भनेर पढ्ने गर्छौं। त्यो क्षेत्रमा अन्तीम गएको बाढी वि.स. २०५० साललाई सम्झिने हो भने ३१ वर्ष भएछ अर्को बाढी नआएको। त्योभन्दा पहिले वि.स. २०११,२०२७,२०३८ र २०४१ सालका बाढीहरू पनि भीषण थिए भन्छन् देख्नेहरू। त्यसबेला पानीको परिमाण धेरै थियो तर बाटो अवरुद्ध नहुँदा केही किनाराका खेतहरू कटान गर्दै र पुर्दै लगभग सङ्लो नै पानी सुनकोशीमा टुंगियो। बितेको ३१ वर्षमा त्यो क्षेत्रमा अविवेकी विकास भयो। भन्नेहरू विकास भन्छन् तर हामी वातावरणवादीहरू त्यसप्रती नाजवाफ, निराश र त्रसित थियौं। करिब २-५ प्रतीशत व्यक्तीहरूको सम्पन्नता र दादागिरीमा भएका कथित विकासहरूले त्यो क्षेत्रका ९५ प्रतीशत नागरिकहरू अहिले मृतप्रायःशोकमा छन्। कयौंका घरखेत,जन, पशुचौपाया, लगानी र भविष्यका योजनाहरू ३ दिनभित्रै कहिल्यै नफर्किने गरी विलाएका छन्, सिर्फ बाँचेकाहरूमा आँसु छोडेर।

म बि.स.२०५०-२०५७ सालसम्म (७ वर्ष) कामको सिलसिलामा संखुवासभा बसे। करिब ५-६ वटा वर्षा कटाउने अवसर जुर्‍यो। वर्षातमा फिल्ड भिजिट पनि गर्नुपर्थ्यो। त्याँहाका ती ठुला साना खोला/नदीहरू बरुण, इन्दुवा, आप्सुवा, सभा, संखुवा र पिलुवाहरू कहिल्यै धमिला देखिन। यिनीहरू नधमिलिएपछी अरुण नदी धमिलिने कुरै भएन। अहिले पढ्दा/सुन्दा दु:ख लाग्छ, सप्तकोशीको यो ठुलो सहायक नदी सबैभन्दा धेरै सिल्ट (वालुवा/गिट्टी) ढुवानीकर्तामा गनिएको छ। यसले आफ्नै र सप्तकोशीको पिंध उचाल्दै छ। अनि के ती तटीय बजार/बस्तीहरू वा परम्परागत उच्च बाढीको तहमा निर्माण गरिएका तटबन्धहरू वा पुराना ब्यारेजहरू सधैं त्यो भार (बाढी/लेदो/गेग्र्यान) थेग्न सक्षम भैरहन्छन् त? अहिले पर्याप्त फ्री-बोर्ड दिएर निर्माण गरिएका वा निर्माणाधीन मोटरेवल/झोलुंगे पुलहरू यसरी नदीको बेड लेभल बढ्दै जाँदा उचाल्लिएको पानीले सजिलै भत्काउने/बगाउने सम्भावनाहरू तीब्रतररूपमा बढिरहेका छन्। तसर्थ माथिल्लो तटीय क्षेत्रहरू/उच्च पहाडहरूको स्थायित्व, कटान,दोहन अनि उत्पादित पदार्थहरूको विस्थापनमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ। 

त्यतिबेला जमिन भर्जिन थियो। आफैं लडेको पहिरोबाहेक १ कुटो डोब जमिनमा परेको थिएन। सीमित हिंड्ने बाटाहरू र पर्खने चौताराहरू थिए। वर्षौ पुरानो जंगल (पाताल) हरू जीवित र माटोका रक्षक थिए। यसको अर्थ जमिन चलाउनै हुँदैन, पैदलै हिंडिरहनुपर्छ, थप विकास गर्नै हुँदैन भन्न खोजेको भने हैन है। समयानुकूल विकास गर्नुपर्छ। प्रकृतिलाई संरक्षण र पुनःस्थापित गरेर विकास गर्नुपर्छ। दिगो, वातावरण सन्तुलित र सबैलाई हुने विकास गर्नुपर्छ। समग्र रोशिखोला र सुनकोशी किनारतीरको विकास असन्तुलित, तदर्थवादी र सबैलाई सधैं नहुनेखालको थियो। अब प्रकृतिसँग क्षमापूजा गर्नुपर्छ अर्थात् प्रकृतिलाई पुनःस्थापित गर्दै आगामी विकासको नयाँ मार्गचित्र कोर्न सबै लाग्नुपर्छ। 

कुनै बेला बाहेक बाढीमा पानीको मात्रा बढेको छैन। बढेको त डेब्रिस र गेग्र्यानको मास (mass) हो, जसले थोरै पानीलाई नि भिरालो वहाव (ग्रेड) मा बल थपेर बेस्सरी कुदायो र आरामदायी/सम्म ठाउँ (डेल्टा) मा पुगेपछि आफू कंक्रिट भएर थुप्रियो, अनि नदी/खोलाको बहाबलाई नसोचेको दिशातिर पथान्तरण गरिदियो। कति पाप लाग्ला-विदेश, नवलपरासी वा काठमाडौंमा बनेको बियर/रक्सीका बोतल/सिसाजन्य र प्लास्टिकजन्य पद्दार्थहरू ती जलपथ (च्यानेल) हुँदै हाम्रा पवित्र खेत खलियाँनमा अब सदाका लागि नमासिने पाहुना भएर बसेका छन् वा बग्दै बंगालको खाडीसम्म पुगेका छन्। 

स्थानीयदेखि समग्र धरातलप्रतीको यो अमानवीय मजाक यसअघि थिएन र त खेत बारीहरू पवित्र थिए। त्यसैले त ऋतु अनुसार अन्न दिन्थे। केही सोच्नुपर्दैन? हो, यसैको क्षमायाचनाको लागि क्षमापूजा गर्नुपर्छ भनेको हुँ। ऊ बेलामा बाढी आउँदा र खेतमा खोला पस्दा पनि बाआमाहरू खुसी हुँदै आउनुहुन्थ्यो। धान बगेको वा पुरिएकोमा किन्चित चिन्ता त हुँदो हो, तर अनुहारमा अर्कै आभा हुन्थ्यो-खेतमा पाँगो पसेकोमा। त्यतिबेला खेतहरूमा प्रांगारिक मल थपिन्थ्यो, उर्वरा माटो थपिन्थ्यो र सुख्खा रातो माटोमा मसिनो बालुवा थपिन्थ्यो। भविष्यमा जीवनलाई उर्वर बनाउने गरी। धान पछिका अन्य बालीहरू मकै/गहुँ/तोरी वा फेरी अर्को धान बाली धेरै फल्ने हुनसक्थ्यो। ती बाढी पसेका खेतहरूमा बाआमाहरू निर्धक्क खालि खुट्टा पस्नुहुन्थ्यो, रोपाईमा मकैको छड्केले खुट्टा काट्ने बाहेक सिसा, प्लास्टिक, फलामे धातुहरू, अस्पतालजन्य फोहोरहरू  सुइ/सिरिन्ज वा ब्याट्रीजन्य एसिडहरूको डर थिएन। वेदरिंग (weathering) ले खसेका केही गिट्टी र गिर्खाहरू हुन्थे तर अहानिकारक। सबका सब अर्गानिक थिए। अब के गर्ने? हाम्रा खेतहरू त सदाका लागि गए नै, हामी पनि कडा फलामे गमबुट नपैरीई खेतमा टेक्न नसक्ने भएका छौ। यसरी बाढीको वहावमा ओसारिएका ब्याट्रीका एसिड र अस्पतालजन्य फोहोरहरूका असर र प्रभाव ती 'डेल्टा जोन'हरूमा वर्षौ देखिइ नै रहनेछ। पानीका मूलहरू र 'कनेक्टिभिटी'मा हानिकारक रसायनहरूको सम्मिश्रण वा प्राकृतिक 'इन्जेक्सन' अहिले र आउँदो कयौं पुस्ताहरूको लागि नदेखिएको 'सुस्त विष' बनिरहने छ। यसलाई हाम्रो वर्तमान माटोले पचाउन सक्छ वा सक्दैन तर अब माटो फेरी उ बेलाको जस्तो पवित्र र अर्गानिक नबन्नेमा भने ठोकुवा नै गर्न सकिन्छ। 

रोशी (नेपालथोक) फाँटकै कुरा गर्ने हो भने बनेपा-पनौती-खोपासी र भकुण्डेबेसी हुँदै आउने वहाबहरूले ओसारेका असंख्य प्लास्टिक/अस्पताल/क्रसरजन्य फोहोर, धातुहरू (फलाम), गिट्टी, बालुवा, खानी/क्रसरका उप-उत्पदान डेब्रिस (सिल्ट/वेस्टेजहरू) यहि डेल्टाजोनमा थुप्रिएकाछन् भनिन्छ त्यो क्षेत्रका करिब ३० वटा क्रसरहरू र तीनका परिपुरक सामग्री ( फलामे घर/गाडी, संरचना/माटो/लेदो/डेब्रिस/नदी किनारामा थुपारिएका वेस्टेज सिल्ट, बिजुलीका बल्ब/तार/ब्याट्री) हरू र  सडक किनारामा बनेका असंख्य होटेल/ढावा/रेस्ट हाउसहरूका सहउत्पादन रक्सी/बियर/अन्य पेयपदार्थका लाखौं बोतलहरू बगेका छन्, ती सबै त त्यही गए। अब यथास्थितिको 'टप स्वायल' (top soil) भेट्न मात्र पनि कती गहिराईमा जानुपर्ने हो? 

यति पानी (बाढी) थेग्न त हाम्रा रोशीखोलाहरूका 'ट्रेन्च' (Trench) काफी थिए। हाम्रा बाआमा वा हामीहरूले पनि तीनका सयौ जंगार र बाटोहरू वर्षौदेखि नापेकै हौं/पछ्याएकै हौं। तर अहिले निर्विवेकी विकास वस्तीमा पसेर 'मास फलो' भयो खोलो तर्सियो, उचालियो र बाटो भुल्यो। हो यही मास फलो  भएर भएर त बगेकाला, रोसिखोला वारिपारी हुन नि गोटीखेल बजार, ढुंखर्क/, सिस्नेरी,बेथान्चोक देबिचौर,घुसेल, भट्टेडाँडा. टिकाभैरब, नख्खुखो सडक र नार्के बजारहरू र पुरिएकाहुन नेपालथोक, सित्खा,मुल्कोट र खुर्कोटहरू। सुनकोशीका कयौ झोलुंगे र पक्किपुलहरू यसैगरी मास फलो भएर पिध उचाल्लिएको जलराशिको प्रकोपमा परे। बाटो अवरुद्ध भएको पानीको आँखा हुदैन रे। तसर्थ नसोचिएको ठाउँमा बाढी पस्यो। नेवारी भाषामा खोला/नदीलाई खुशी भन्छ रे- मनमौजी नागबेली घुम्दै, फिजारिँदै र बगर बनाउँदै हिंड्ने। यसरी हिंड्नपाउनुपर्ने खोला/नदीहरूलाईलाई कतै हामीले हत्केलामा राख्न खोजेको त हैन? 
 
केही अध्ययन प्रतीवेदनहरूका अनुसार नेपालमा वार्षिक सरदर २५ टन प्रति हेक्टर क्षयीकरण भइरहेको छ भनिन्छ। अर्थात् हामी वार्षिक  ३६ करोड ९० लाख टन माटो गुमाइरहेका छौं। सयौ वर्ष लागेर बन्ने टप स्वेल, जो हाम्रो प्राणरक्षक हो, खाद्य उत्पादक हो, जैविक आवास हो। कतै यसलाई हामी नजरअन्दाज गरिरहेका त छैनौं? 

२०७२ सालको भूकम्पले छियाछिया पारेको र खुकुल्लिएको जमिनमाथि हामीले फेरि विकासे डोजरहरू कुदायौं। भिरालो पहाडमा क्रसरका खानीहरू बनाइए, अलिसम्म र उब्जाउ क्षेत्रमा इटाभट्टाहरू खुले, सडक छेउछाउ घडेरी विकासका नाममा कंक्रिट खन्याएर प्लटिंग गरियो। फलस्वरूप उर्वरा माटो विनाश भयो। वैज्ञानिकहरूका अनुसार पृथ्वीको एक तिहाई माटो पुर्णरूपमा बिग्रिसकेको छ भने, बचेको माटो पनि केवल ५०-६० वर्षलाइ मात्र खेती गर्न सकिने रहेको छ। कस्तो आपदमा छौं हामी। के पृथ्वीको हाम्रो खान्की अब यती वर्षलाई मात्रै हो त? पानी सञ्चित गर्न नसक्ने माटो वा अर्गानिक तत्वविहिन माटो त क्रमश: मरुभूमीकरणको सूचक हो। वर्षा, बाढी, पहिरो, तातो, चिसो  त नियमित प्रक्रियाहरू हुन्। तीनीहरूसँग सम्झौता गर्दै तिनकै आशयअनुसार दिगो र सबैलाई हुने विकास हाम्रो प्राथमिकता हुनुपर्छ।

लेखक सिभिल इन्जिनियर हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.