हर्क प्रवृत्ति: आक्रोश र जिम्मेवार नेतृत्वतर्फको अधुरो यात्रा

हर्क प्रवृत्ति: आक्रोश र जिम्मेवार नेतृत्वतर्फको अधुरो यात्रा

नेपालको राजनीतिमा केही पात्र यस्ता हुन्छन्, जो पदका कारण होइन, समयको आवाज बनेर उदाउँछन्। धरानका मेयर हर्क साम्पाङ त्यस्तै एक पात्र हुन्। उनी स्थानीय चुनावमा जितेरमात्र धेरै चर्चामा आए पनि उनी एउटा लामो राजनीतिक असन्तुष्टि, निराशा र वैकल्पिक खोजको प्रतिनिधि बनेर उदाएका पात्र हुन्। धरानको मेयरमा उनको विजय कुनै सामान्य स्थानीय घटना थिएन, त्यो दशकौँदेखि जरा गाडेर गिजोलेर बसेको देश राजनीतिक शैलीप्रतिको ठाडो अस्वीकार थियो।

जनताले पुराना दललाई हराएका मात्र थिएनन्, एउटा प्रश्न पनि सोधेका थिए अब के फरक हुन्छ? साम्पाङले सुरुवातमा त्यस प्रश्नको उत्तर कामबाट दिए। तर, समयसँगै प्रश्न फेरि गहिरिँदै गएको छ, के यो शैली देशका लागि दीर्घकालीन समाधान हो कि क्षणिक आवेग र उत्तेजना?

हर्कलाई बुझ्न उनी जन्मिएको परिस्थितिलाई बुझ्नुपर्छ। धरानजस्तो ऐतिहासिक र सचेत सहर लामो समयदेखि राज्यको खासै प्राथमिकतामा पर्न सकेको थिएन। खानेपानी, फोहोर व्यवस्थापन, बेरोजगारी, अव्यवस्थित शहरीकरण सबै समस्या थुप्रिँदै गएका थिए। स्थानीय सरकार जनताको दैनिक जीवनबाट टाढिँदै गएको थियो। यही खालीपनमा साम्पाङ उदाए। उनीसँग ठूलो संगठन थिएन, धन थिएन, पुराना दल र नेताको जस्तो शक्तिशाली संरचना थिएन। तर, उनीसँग जनताको सिधा भाषा थियो, जनताको आक्रोश थियो र काम गरेर देखाउने हुटहुटी थियो। यही कारण उनी मेयरमा जिते। यस अर्थमा उनि व्यक्तिभन्दा बढी एउटा सामाजिक चेतनाको परिणाम हुन भन्दा फरक पर्दैन।

मेयर बनेपछि उनले जुन शैली अपनाए, त्यो नेपाली राजनीतिमा सम्भवतः दुर्लभ दृश्य थियो। उनी कुर्सीमा मात्रै सीमित भएनन्। खानेपानीको पाइप बोके, खाल्डो खने, हरेक काममा आफैं उत्रिए। यो दृश्यले धेरै नेपालीहरूको मन छोयो। जनताले पहिलो पटक नेताले आफूसँगै पसिना बगाएको प्रत्यक्ष देखे भोगे। यो उपस्थित केवल काम मात्र थिएन, यो एउटा राजनीति थियो। यसले सन्देश दिएको थियो नेतृत्व भनेको सुविधा होइन, जिम्मेवारी पनि हो भन्ने। राज्यले गर्न नसकेको काम नागरिक पहल र इमानदार नेतृत्वले गर्न सक्छ भन्ने विश्वासको जन्म भयो। धरानमा नागरिक सहभागिता बढ्नुको मुख्य कारण पनि यही थियो।

श्रमको मनोवैज्ञानिक प्रभाव
हर्क साम्पाङको श्रमले जनतामा आत्म सम्मान जगायो। 'हामी आफैं पनि सक्छौं' भन्ने भावना बलियो बन्दै गयो यो मनोवैज्ञानिक परिवर्तन सानो कुरा थिएन। राजनीति केवल नीति र कानुन होइन, जनताको मनोविज्ञान पनि हो। यस अर्थमा उनको योगदान महत्त्वपूर्ण छ। तर यही ठाउँमा नेतृत्वको अर्को चरण सुरु हुनुपर्थ्यो जुन भएको देखिएन।

श्रम प्रेरणादायी हुन्छ, तर शासनको विकल्प हुँदैन। मेयरको भूमिकालाई व्यक्तिगत श्रममा सीमित गर्दा शासनको संरचनात्मक पक्ष कमजोर हुने खतरा हुन्छ। स्थानीय सरकारको प्रमुखको मुख्य काम आफैं काम गर्नु होइन, त्यो काम गर्ने प्रणाली बनाउनु थियो। नेतृत्व व्यक्तिगत सक्रियतामा मात्र टिक्यो भने त्यो नेतृत्व व्यक्ति रहेसम्म मात्र प्रभावकारी हुन्छ। व्यक्ति हटेपछि प्रणाली झन् कमजोर हुँदै जान्छ। दीर्घकालीन परिवर्तन भनेको व्यक्तिगत साहसलाई नीति, नियम र संस्थामा रूपान्तरण गर्नु हो। यही रूपान्तरण साम्पाङको नेतृत्वमा स्पष्ट देखिएन।

उनको शैली सिधा छ। उनी घुमाउरो कुरा गर्दैनन्। यही कारण धेरैले उनलाई इमानदार नेता मान्ने गरेका छन्। उनी भावनालाई लुकाउँदैनन्, आक्रोशलाई खुला रूपमा व्यक्त गर्छन्। तर, नेतृत्वमा सिधापन मात्र पर्याप्त हुँदैन, अत्याधिक सन्तुलन पनि चाहिन्छ। लोकतन्त्रमा नेता त्यो होइन, जो सबैभन्दा कडा बोल्छ। नेता त्यो हो, जसले फरक मत सुन्न सक्छ, आलोचनालाई आत्मसात गर्न सक्छ। उनको अभिव्यक्तिमा यो पक्ष एकदमै कमजोर देखिन्छ।

आलोचना सहन नसक्ने प्रवृत्ति
उनका सार्वजनिक अभिव्यक्ति हेर्दा आलोचनालाई सहज रूपमा स्वीकार गर्ने भन्दा प्रतिरोध गर्ने प्रवृत्ति बलियो देखिन्छ। प्रश्न उठाउनेलाई शत्रु ठान्ने, असहमतिको स्वरलाई षड्यन्त्रको रूपमा चित्रण गर्ने शैली लोकतान्त्रिक संस्कारसँग मेल फिटिक्कै खाँदैन। नेतृत्वको परिपक्वता आलोचनाबाट भागेर होइन, आलोचनाबाट सिकेर देखिन्छ। आलोचक सबै दुश्मन हुँदैनन्। धेरै आलोचकहरू सुधारका सम्भावना पनि बोकेका हुन्छन्। उनी सामाजिक सञ्जालमा अत्यन्त सक्रिय छन्। फेसबुक उनका लागि मुख्य राजनीतिक मञ्च बनेको छ। दिनमा धेरै पोस्ट, तीव्र भाषा र भावनात्मक प्रतिक्रिया उनका पहिचान जस्तै भएका छन्।

सामाजिक सञ्जाल आजको युगमा शक्तिशाली माध्यम हो। तर नेतृत्वका लागि यो अत्यन्त संवेदनशील क्षेत्र पनि हो। एक शब्दले हजारौँ मानिसलाई उत्तेजित पनि गर्न सक्छ र निराश पनि बनाउन सक्छ। उनका धेरै पोस्टहरूले नीति बहसभन्दा बढी ध्रुवीकरण सिर्जना गरेका छन्। समर्थक र विरोधीबीच संवादको ठाउँ साँघुरिँदै गएको छ। विचारको प्रतिस्पर्धा होइन, व्यक्तिको रक्षा र आक्रमण हाबी भएको छ। नेता भनेको ट्रेन्ड चलाउने व्यक्ति मात्र होइन, समाजलाई स्थिरता दिने पात्र पनि हो। सामाजिक सञ्जालमा बोलेको हरेक शब्द नेतृत्वको चरित्रको हिस्सा बन्छ। यहाँ संयम अत्यन्त आवश्यक हुन्छ।

सबैभन्दा चिन्ताजनक पक्ष के हो भने, हर्क स्वयं वैकल्पिक राजनीतिका प्रतीक हुन्। तर, उनीबाटै अन्य नयाँ विकल्प र नयाँ विचारप्रति कटु प्रहार देखिन्छ। यो प्रवृत्ति उनैका लागी आत्मघाती छ। नयाँ राजनीति भनेको एउटै व्यक्ति होइन। नयाँ राजनीति भनेको नयाँ सोच, नयाँ संस्कार र सहकार्य पनि हो। सबै आलोचकलाई पुरानै व्यवस्थाको एजेन्ट ठान्ने मानसिकताले विकल्पलाई साँघुरो बनाउँछ। उनको नेतृत्वमा व्यक्तिकेन्द्रित सोचको झल्को देखिन्छ। धेरै निर्णय, बहस र अभियान उनी स्वयंमा केन्द्रित छन्। संस्थागत टिम निर्माण, उत्तराधिकारी सोच र प्रणाली विकासमा अपेक्षित ध्यान पुगेको देखिँदैन।

इतिहासले देखाएको छ। व्यक्तिकेन्द्रित आन्दोलनहरू व्यक्ति कमजोर हुँदा वा हट्दा कमजोर हुन्छन्। दीर्घकालीन परिवर्तन संस्थाबाट मात्र सम्भव हुन्छ।

साम्पाङका सकारात्मक पक्ष: अझै आशा बाँकी 
यति आलोचनाका बीच पनि एउटा कुरा स्पष्ट रूपमा स्वीकार गर्नैपर्छ। हर्कमाथि भ्रष्टाचारको कुनै दह्रो आरोप छैन। आजको नेपाली राजनीतिमा यो आफैंमा ठूलो योग्यता हो। उनी सुविधाभोगी राजनीतिबाट टाढा छन्, जनतासँग प्रत्यक्ष सम्पर्कमा छन् र काम गरेर देखाउने साहस राख्छन्। यी गुणहरूले उनलाई अझै पनि सम्भावनायुक्त नेता बनाउँछन्।

उनी साँच्चै दीर्घकालीन नेता बन्न चाहन्छन् भने अब भावनाबाट संरचनातर्फ जानैपर्छ। भाषामा संयमता आवश्यक छ। कडा कुरा गर्न सकिन्छ, तर अपमान र गाली नेतृत्वको भाषा हुँदै होइन। सामाजिक सञ्जालको प्रयोग रणनीतिक हुनुपर्छ, पोस्टभन्दा नीति बोल्नुपर्छ, भावनाभन्दा दृष्टि देखाउनुपर्छ। आलोचनालाई शत्रु होइन, सुधारको अवसर मान्नुपर्छ। फरक मत लोकतन्त्रको शक्ति हो जुन कुरा उनले सबै भन्दा धेरै बुझ्न जरुरी छ। संस्थागत टिम निर्माण अपरिहार्य छ। नेतृत्व एक्लै चल्दैन, सक्षम टोली निर्माण गर्नुपर्छ र अन्य वैकल्पिक शक्तिहरूसँग संवाद र सहकार्य बिना परिवर्तन सम्भव हुँदैन भन्ने बुझ्न एकदमै जरुरी छ। 

हर्क साम्पाङ एक आशा पनि हुन्, चेतावनी पनि हुन। उनी परिवर्तनको संकेत हुन्, तर पूर्ण समाधान होइनन्। देशलाई काम गर्ने, इमानदार र जवाफदेही नेता चाहिन्छ तर समाजलाई उत्तेजित बनाउने, विभाजन गर्ने र आक्रोशलाई मात्र इन्धन बनाउने राजनीति र राजनितिज्ञ चाहिएको छैन। उनले श्रमलाई नीति, आक्रोशलाई दृष्टि र व्यक्तित्वलाई संस्थामा रूपान्तरण गर्न सके भने उनी एउटा इतिहास बन्न सक्छन्। नत्र, हर्क प्रवृत्ति पनि समयको एउटा आवेगका रूपमा सीमित हुनेछ र यतिकै हराएर जानेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.