तीज पर्व : संस्कृति, राजनीति र छाडापनको छायाँ

तीज पर्व : संस्कृति, राजनीति र छाडापनको छायाँ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

तीज पर्व नेपालका महिलाहरूको मात्र नभई सम्पूर्ण समाजको सामूहिक भावनासँग जोडिएको सांस्कृतिक पर्व हो। यसले नेपाली महिलाहरुको जीवनका पीडा, रहर, संस्कार र सामाजिक यथार्थलाई गीत र नृत्यमार्फत अभिव्यक्त गर्दै आएको छ। तर पछिल्लो समय तीजको स्वरूपमा उल्लेख्य परिवर्तन आएको छ। पहिले नारी चेतना, पारिवारिक आत्मीयता र सामाजिक पीडाको प्रतिविम्ब बोकेर गाइने गीतहरू अहिले बजारमुखी, भड्किला र “भाइरल” बन्ने अभिप्रायले सिर्जना भइरहेका छन्। टिकटक, यूट्युब र फेसबुकमा भ्यू बढाउने चिन्ता र तीज गीतको मौलिकता हराउँदै गएको छ।

पहिलाका “दर खान पाइएन”, “माइती जान पाइएन”, “बुढाले घाँटी थिच्यो” जस्ता गीतहरूले पितृसत्तात्मक दबाब, सम्बन्धको तिक्तता र महिलाको पीडा कलात्मक ढंगले प्रस्तुत गर्थे। तर अहिले “ब्वाइफ्रेन्ड”, “नाच नाच” वा “राँगाको जस्तो माया” भन्ने शब्दहरूले नारी चेतनाभन्दा बढी भाइरल सोचलाई उजागर गरिरहेका छन्। यसरी गीतको गहिराइभन्दा “भाइरल सामग्री” प्राथमिक बन्दै जानु, केवल गीतको पतन मात्र होइन, सांस्कृतिक चेतनाको हराउदै गएको संकेत हो।

यस प्रवृत्तिले पछिल्लो समय तीज पर्वलाई अश्लीलता र भड्किलोपनतर्फ धकेलिरहेको छ। गीत संगीतमा प्रयोग गरिने भाषा अश्लील, दृश्य उत्तेजक र अभिनय भड्किलो हुँदै गएकाले परिवारसँगै बसेर हेर्न सुन्न लाज लाग्ने अवस्था सिर्जना भएको छ। यसले तीजलाई केवल मनोरञ्जनको नाममा बजारको वस्तुमा परिणत गरेको छ। समाजका लाखौँ युवाले टिकटक र अन्य सामाजिक सञ्जालमार्फत यस्ता सामग्रीलाई फलो गर्दा सांस्कृतिक मूल्य र चेतनामा गहिरो असर पर्न गएको छ। यो केवल व्यक्तिगत स्वादको कुरा नभई सामूहिक सामाजिक भविष्यसँग जोडिएको गम्भीर चिन्ता हो।

यस्तै, पछिल्लो दशकमा तीजलाई राजनीतिक दलहरूले आफ्नो शक्ति प्रदर्शनको माध्यम बनाइरहेका छन्। कांग्रेस, एमाले, रास्वपा, माओवादी, राप्रपादेखि संघीय दल र महिला संगठनसम्म सबैले छुट्टै तीज महोत्सव आयोजना गर्ने चलन बढेको छ। यसले साझा सांस्कृतिक उत्सवलाई दलगत विभाजनमा बदलिदिएको छ। यदि यसरी निरन्तर राजनीतिकरण भइरहेको हो भने, भोलि त “नेपालीको तीज” नभई “फलानो दलको तीज” भन्ने अवस्था आउन सक्छ, जुन हाम्रो सांस्कृतिक अस्तित्वका लागि खतरनाक संकेत हुन सक्छ ।

यस्ता घटनाक्रमले प्रश्न उठाएको छ के यो सांस्कृतिक विकास हो वा हत्या ? नयाँपन ल्याउने नाममा अश्लीलता भित्र्याइँदै छ, स्वतन्त्रताको नाममा छाडापन बढाइँदै छ र साझा संस्कृतिलाई दलगत विभाजनले टुक्र्याइँदै छ। यसरी तीजलाई नारी पर्वभन्दा बढी व्यापारिक र राजनीतिक कार्यक्रममा रूपान्तरण गरिँदा भविश्यमा यसको मौलिकता हराउने निश्चित छ।

यस अवस्थाबाट बाहिर निस्कन केही व्यावहारिक उपाय आवश्यक छन्। सरकारी निकायहरूले स्पष्ट नीति बनाई गीत र भिडियोको गुणस्तरमा नियमन गर्नुपर्छ र चाहिँ पूर्वस्वीकृति प्रणाली लागू गर्न सकिन्छ। संस्थागत रूपमा कलाकार संघ, संगीत संघ र तीज गीत सर्जक मञ्चले सचेतना जगाउदै सिर्जनाकर्तामा सामाजिक जिम्मेवारी बोध गराउनुपर्छ। सामाजिक तहमा आम दर्शकले अश्लील र संस्कृतिविरोधी गीतलाई बहिष्कार गर्ने अभ्यास गर्नुपर्छ र टिकटक वा यूट्युब प्रयोगकर्ताले सकारात्मक सामग्रीलाई प्राथमिकता दिनुपर्छ। राजनीतिकस्तरमा भने तीजलाई दलगत शक्ति प्रदर्शनको कार्यक्रम बनाउने प्रवृत्ति बन्द गरी “नेपालीको तीज, सबैको तीज” भन्ने साझा दृष्टिकोणबाट अघि बढाउनुपर्छ ।

यदि हामी यहि बेला सचेत भएनौँ भने तीज केवल नाचगानमा सीमित हुनेछ, गीतहरू केवल भाइरल सामग्री बन्नेछन् र सांस्कृतिक एकता दलगत स्वार्थमा हराउनेछ। तर यदि हामी सचेत भयौँ भने तीज फेरि पनि नारी चेतना, पारिवारिक आत्मीयता र सामाजिक सहअस्तित्वको प्रतीक बन्न सक्छ। तीज गीत फेरि पनि अन्यायविरुद्धको आवाज, भावनाको कविता र संस्कृतिको धरोहर बन्न सक्छ।

तीज केवल दर खाने वा नाच्ने पर्व होइन, यो हाम्रो सामूहिक सांस्कृतिक पहिचान हो। यसलाई अश्लीलता र राजनीतिक विभाजनको दलदलबाट जोगाउन समाज, कलाकार, नीति निर्माता र दर्शक सबैको साझा प्रयास अपरिहार्य छ। अब हरेक नेपालीले आफैँलाई सोध्नुपर्ने प्रश्न यही हो हामी तीजलाई चेतनाको उचाइतर्फ लैजान चाहन्छौं कि मूल्य र दलगत स्वार्थको जालमा फसाउन चाहन्छौं ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.