यस्तो हुनुपर्छ स्ववियु

यस्तो हुनुपर्छ स्ववियु

नेपालको सबैभन्दा पुरानो तथा ठूलो विश्वविद्यालयको रूपमा चिनिएको त्रिभुवन विश्वविद्यालय तत्कालीन राजा त्रिभुवनको निधन भएको एक वर्षपछि राजपरिवारले त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने घोषणा गरेका थिए। वि.सं २०१३ सालमा कीर्तिपुरमा स्थापना गर्ने निर्णय भयो। २०१६ सालमा यसले कानुन प्राप्त गर्यो। तसर्थ यसको स्थापना २०१६ साललाई मानिँदै आएको छ। यसको इतिहास रोचक छ र लामो छ। अहिले यो विश्वविद्यालयको ९ वटा संकाय र संस्थान चार अनुसान्धान केन्द्र छन् ४० वटा केन्द्रीय विभाग ६२ वटा आंगिक क्याम्पस र १०६२ सम्बन्धन प्राप्त क्याम्पस छन्। यो विश्वविद्यालयमा करिब करीब ४ लाख विद्यार्थी अध्ययनरत छन्। त्रिवि विद्यार्थी संख्याको आधारमा विश्वको एक ठूलो विश्वविद्यालय भित्र पर्छ। उच्च शिक्षाको करिब ८० प्रतिशत विद्यार्थीको भार त्रिविले थेगेको छ। यस विश्वविद्यालयमा २०१८ सालबाट क्याम्पस प्रशासन र विद्यार्थीको सम्बन्ध बलियो बनाई शैक्षिक संस्थालाई गुणस्तरीय बनाउन स्ववियु निर्वाचन सुरु भएको थियो। 

स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) एवं मिनी संसद भनेको विद्यार्थीहरूको समूहद्वारा विद्यार्थीको हक र हितको लागि विश्वविद्यालय र क्याम्पस प्रशासनभित्र शैक्षिक मुद्दामा काम गर्ने एउटा स्वतन्त्र निष्पक्ष संस्था हो। सुरुका दिनमा स्ववियु भनेको विद्यार्थीहरूको समूहद्वारा जहाँनीय राजतन्त्रको विरूद्धमा काम गर्ने संस्था थियो। २०१५ सालमा प्रथम निर्वाचित प्रधानमन्त्री स्वर्गीय वी.पि. प्रधानमन्त्री भएपछि पञ्चायती व्यवस्थाको विरोधमा देशभर ठूलो आवाज उठ्यो। उक्त आवाजलाई रोक्न किसान, मजदुर, भूपू सैनिक, महिला, बाल, युवा र विद्यार्थी संगठनहरूमा प्रतिबन्ध लगाइयो। अन्ततः २०१७ सालमा राजा महेन्द्रले राज्य संस्थामाथि सैनिक कू गरेर २००७ सालको संघर्षबाट प्राप्त प्रजातन्त्र समाप्त पारे। त्यसपछि विद्यार्थीहरू संगठित भएर राज्यको दमनका विरुद्ध लड्न थाले। विभिन्न मागहरू राखेर सडक आन्दोलन, आमरण अनशन, ढुंगामुढा, जस्ता आन्दोलनका कार्यहरू गर्न लागेपछि पठनपाठन प्रभावित भयो। पछि राजा महेन्द्रले क्याम्पसमा विद्यार्थी संगठन खोल्न बाटो खुला गरे। पछि विद्यार्थीहरूले २०१८ सालमा निर्विरोध तिर्थनाथ गोंगोल को अध्यक्षतामा विद्यार्थी युनियनको पहिलो समिति गठन गरे। उक्त समितिले २०१८ सालमा प्रथम स्ववियु सभापति नवराज सुवेदी बनाए र उपसभापति प्रजातान्त्रिक संघ( नेपाली काङ्ग्रेस) तर्फबाट दमननाथ ढुंगाना भए। 

त्यसपछि त्रिवि विद्यार्थी युनियनको विद्यार्थी आन्दोलनमा साथ नदिएको र निर्दलीय व्यवस्थामा प्रवेश गरेको भन्दै सुवेदीमाथि अविश्वासको प्रस्ताव विशेष साधारणसभामा पेश गरियो । र, उनलाई सभापतिबाट हटाई निर्वाचित उप-सभापति ढुंगानालाई सभापतिमा सर्वसम्मतबाट निर्वाचित गरियो। पहिला सचिव र कोषाध्यक्ष राजाले नै तोक्ने नियम थियो। पहिला प्रत्येक वर्षमा स्ववियु हुने गर्थ्यो। २०१८, २०२०, २०२१, २०२३, २०२४, २०२५, २०२६, २०२७, २०२८, २०२९ मा स्ववियु निर्वाचन भयो। त्यसपछि फेरि २०३० सालमा स्ववियुलाई प्रतिबन्ध लगाइयो। र, तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रह–२०३६ को घोषणासँगै स्ववियु निर्वाचनको माग पनि फुकुवा गर्दै पूरा गरे। फेरि २०३६ बाट प्रत्येक २-२ वर्षमा स्ववियु निर्वाचन गर्ने निर्णय गरियो। पछि २०३६ देखि २०६५ सम्म १४ पटक स्ववियु निर्वाचन भयो। पञ्चायत, जनआन्दोलन र राजतन्त्रमा नरोकिएको स्ववियु निर्वाचन २०६५ पछि ८ वर्षमा २०७३ सालमा त्रिविले स्ववियु उम्मेदवार बन्नलाई २८ वर्षे उमेर सीमा राखेको छ। हिमाल शर्मा स्ववियु सभापति भएको बेला कार्यविधि संशोधन गर्न लगाएर उमेर हद लगाएका थिए। स्ववियुमा सभापति, सचिव र कोषाध्यक्ष, सदस्य न्यूनतम ९ देखि १९ जनासम्म प्रत्यक्ष निर्वाचित एवं उपसभापति र सहसचिव र ५० प्रतिशत सदस्य समानपातिकबाट चयन हुने कार्यविधि बनेको थियो। जसअनुसार काठमाडौं उपत्यकामा ९ क्याम्पस र बाहिर १९ वटा आंगिक क्याम्पसमा मात्र भएता पनि १४ वर्ष पूर्णरूपले स्ववियु निर्वाचन हुन सकेन। अन्ततः सबै विद्यार्थी संघठनको साझा मुद्दा स्ववियु निर्वाचन भएर हातेमालो गरी अगाडि बढेपछि २०७९ साल चैत ५ गते देशभर ४५ वटा आंगिक र १०६२ सम्बन्धन प्राप्त मध्ये धेरै क्याम्पसमा स्ववियु निर्वाचन उत्साह पूर्ण भयो । जुन निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेपाली काङ्ग्रेस निकट संगठन) ले १२१, अनेरास्ववियु (नेकपा एमाले निकट संघगन) ले ११५ र अखिल क्रान्तिकारी (नेकपा माओवादी निकट संगठन) ले ७१ क्याम्पसमा स्ववियु सभापति जित्न सफल भएका थिए। केन्द्रीय विश्वविद्यालयमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम राज ओझाले स्ववियु सभापति जित्न सफल भएका थिए। २०७९ त्यसपछि समय मै २ वर्षमा २०८१ चैत्र ५ गते त्रिभुवन विश्वविद्यालयका सबै आंगिक र सम्बधन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदै छ। सम्पूर्ण विद्यार्थीहरूमा खुशी र उमंग देखिएको छ। 

 अन्ततः सुरुवात २०८१ फागुन १९ गते बाट संघ/संस्था दर्ता प्रक्रियाबाट सुरु भई चैत्र ५ मतदान दिन सम्म आइपुगेको छ। देशभर काठमाडौं उपत्यकामा २२ वटा र उपत्यका बाहिर ४० वटा गरी ६२ वटा आंगिक र १०६२ सम्बन्धित प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनको लागि तयारी चलिरहेको छ। केही क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन पनि भैसकेको छ। तर आन्तरिक समस्याको कारण विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन चैत्र ८ गते हुँदै छ। आन्तरिक समस्याकै कारण उपत्यकामा ६ वटा र उपत्यका बाहिर ९ वटा गरी १५ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन रोकिएको छ। जसअन्तर्गत उपत्यकामा विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोविचौर, शङ्करदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढेको छैन। त्यस्तै उपत्यका बाहिरका सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पक्लिहवा कृषि क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुव रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र रामपुर कृषि क्याम्पस खैरहनीमा पनि प्रक्रिया अगाडि बढेको छैन। आइतबार त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय स्ववियु निर्वाचनमा २२ दलको संघ/संघठन दर्ता भएका छन् र यस अघि २०७९ सालको स्ववियु निर्वाचनमा १९ संघठन दर्ता भएका थिए। अब क्रमशः बाँकी चुनावी प्रक्रिया अघि बढ्नेछ। 

आजको युगमा किन स्ववियु निर्वाचन आवश्यक भन्ने प्रश्नको जवाफ बुझ्न जरुरी छ। विश्व विद्यालयका र क्याम्पसहरुमा धेरै तथा जटिल समस्या आइराखेको छ। ती बेथिति र विसङ्गतिहरुको अन्त्यको निमित्त संघर्ष गर्ने र विद्यार्थी आफ्नैका लागि पनि हक अधिकारको पक्षमा आवाज उठाउने साझा थलो स्ववियु हो। अर्को अर्थमा स्ववियु भएको विद्यार्थीको हक र अधिकारको रक्षाको लागि विद्यार्थीको पक्षमा उभिने स्वतन्त्र एवं निष्पक्ष संथा हो। स्ववियु नभएपछि ठगेर खान पाइन्छ भन्ने प्रशासक र त्यहाँ कार्यरत कर्मचारीहरुको भावनाका कारण स्ववियुको बदनाम गरिएको छ। राजनीति गर्ने अखडा भएको भनी उनीहरुले हल्ला फैलाएका छन् तर यो विद्यार्थीका गुनासो सुन्ने र सम्बन्धित ठाउँ पुर्याउनुका साथै दबाब दिने संस्था हो पनि हो। क्याम्पसमा आजको युगमा स्ववियु निर्वाचन निकै नै आवश्यक छ। यसलाई राजनीतिक दलदलमा कुनै पनि हालतमा जोड्न हुँदैन। हिजोको समयमा राजतन्त्र, पंचायत, जनआन्दोलनको विरुद्धमा विद्यार्थीहरूको साझा मोर्चा स्ववियु थियो। तर आजको समयमा शिक्षालाई सिप, सिपलाई रोजगारी र रोजगारीलाई आय आर्जनसँग जोड्न जरुरी छ। शिक्षालाई नयाँ प्रविधि र टेक्नोलोजी सँग जोड्न आजको अपरिहार्य हो। 

(स्मार्ट शिक्षा) : डिजिटल शिक्षाको प्रवर्द्धन गर्न विश्वविद्यालय तथा क्याम्पसमा डिजिटल लाइब्रेरी स्थापना गर्न ध्यान दिनुपर्छ। सबै विद्यार्थीहरूलाई निःशुल्क वाइफाइ तथा डिजिटल मिडियाको प्रयोगको अवसर प्रदान गर्न र अनुसन्धानको लागि निःशुल्क अनुसन्धान केन्द्र निर्माण गर्न पहल गर्नुपर्छ। हत्या चोरी न्यूनीकरणका उपायहरू अवलम्बन गर्दै ज्ञान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्छ। विद्यार्थी नेतृत्व विकास गर्न उनीहरूलाई नेतृत्व, सञ्चार तथा भावनात्मक बुद्धिमत्ताका सीप प्रदान गर्नुपर्छ। विद्यार्थीहरूलाई रोजगारी तथा उद्यमशीलताको अवसरमा जोड दिन अन्तर्राष्ट्रिय शिक्षा प्रणालीलाई प्रवर्द्धन गर्न तथा अन्य अन्तर्राष्ट्रिय शैक्षिक अवसरहरू स्थापना गर्न पहल गर्नुपर्छ। “पढौं, बढौं“ अभियान अन्तर्गत अध्ययन संस्कृति प्रवद्र्धन गर्दै पुस्तकालयको विस्तार र विचार-विमर्श कार्यक्रम सञ्चालनमा जोड गर्नुपर्छ। विद्यार्थीहरूलाई खेलकुदमा संलग्न गराउन आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्छ । यी कार्यक्रमहरू विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत विकासमा केन्द्रित हुनुपर्छ। 

आधुनिक प्रविधि, आत्मनिर्भर उद्यमशीलता, अधिकार र प्रतिनिधित्व अभियान,  जलवायु न्याय लगायतका विषयमा केन्द्रित हुनु आवश्यक छ। आजको स्ववियुले स्ववियु नाममा गुण्डागर्दी गर्ने, जघन्य आपराधिक क्रियाकलापमा सहभागी हुने, आर्थिक चलखेलमा लाग्ने, स्वार्थमा क्याम्पस प्रशासन सँग लेनदेन प्रक्रियामा सहभागी हुने,क्याम्पसमा तालाबन्दी गर्ने, वभिन्न पदमा राजनीतिक भागबन्डामा सहभागी हुने कार्यहरू पुर्णरूपले रोकि राम्रो गुणस्तरीय पढाई भएका एवं राजनीतिक चेतना भएका विद्यार्थीले स्ववियु चलाउने ब्यक्ति आवश्यक रहेको छ। गुणस्तरीय शिक्षा र रोजगारको कमिले दैनिक दुई हजार भन्दा बढि वैदेशिक रोजगार एवं उच्च शिक्षा अध्ययन गर्व देश छोड्ने लाखौं विद्यार्थीहरूलाई नेपालमै भविष्य देखाउने स्ववियु नेतृत्व आवश्यक रहेको छ। 

क्याम्पसमा नयाँ भिजन र शैक्षिक क्यालेण्डर बमोजिम क्याम्पस प्रशासनलाई खबरदारी गरी नयाँ शैक्षिक पद्धतिको थालनी गर्ने युवालाई चुन्न आवश्यक छ। चुनावी प्रक्रियामा जुन संघ र संघठन मिलेर चुनाव लडे पनि चुनावपछि हातेमालो गर्दै विद्यार्थीका साझा समस्याहरूको समाधान र नयाँ रोचक कार्य गर्नका लागि आजको स्ववियुको अपरिहार्य हो। तसर्थ २०८१ चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचन बुथ कब्जा, भय, डरत्रास र धाँधली रहित सुसम्पन्न गर्न सम्पूर्ण विद्यार्थी संगठन एवं त्रिभुवन विश्वविद्यालय लागेर यस पटकको स्ववियु निर्वाचनले विश्वविद्यालयलाई नयाँ आयम थप्न सफल होस् शुभकामना छ। 

लेखक नेविसंघ केन्द्रीय सदस्य हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.