एक रुपैयाँ घुस खाएको थाहा पाएँ म आफैं एक्सनमा उत्रिन्छु : गृहमन्त्री गुरुङ
गोरखा : गृहमन्त्री सुधन गुरुङले कुनै कर्मचारीले एक रुपैयाँ घुस खाएको थाहा पाए आफैं एक्सनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूसँगको भेटमा उनले यस्तो चेतावनी दिएका हुन्।
‘मेरो माताहतको देशभरिको कुनै कर्मचारीले एक रुपैयाँ मात्र, अझै एक सुकामात्र खाएको थाहा पाएँ भने म आफैं एक्सनमा उत्रिन्छु’, उनले भने, ‘धेरै पनि चाहिएन, एक रुपैयाँमात्र खाएको थाहा पाएँ भने अथवा बिचौलियाहरू यहाँ आएर मिलाउने, यताउता गरेको थाहा पाएँ भने। अहिले पब्लिक एकदम जागिसकेका छन्। कति कुरा कसले के बोलिहेको छ भन्ने रेकर्डिङ गरिरहेका हुन्छन्। यो नागरिकता यो मिल्दैन, पैसा दिनुभयो भने म तपाईँको काम मिलाइदिन्छु, यस्तो कुराहरू मेरो कानमा मात्र पर्यो भने म पर्सनल्ली एक्सन लिन्छु। पर्सनल्ली भनेपछि तपाईं आफैं बुझ्नुस्।’
आफूलाई सुशासनका लागि जिताएर पठाएको भन्दै उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताए। ‘मलाई माथि पावरमा पठाएको कारण नै यही हो। सुशासनका लागि। जब मेरो कानले त्यो सुन्यो भने जीरो टलरेन्स’, उनले भने, ‘मेरो माताहतको कुनै कर्मचारीले त्यो गर्यो भनेर सिधै मेरो इज्जतमा दाग लागिहाल्छ। मैले कर्मचारीको इज्जत जोगाइदिने हो भने कर्मचारीहरूले पनि त्यही अनुसार गर्नुपर्यो।’
आफूलाई जिताएर पठाएका मतदाताको सेवा गर्नु आफ्नो कर्तव्य रहेको भन्दै उनले उनले जनतालाई कर्मचारीले सघाउने, कर्मचारीलाई आफू सघाउने प्रतिबद्धता व्यक्त गरे। ‘मैले यहाँबाट जितेर गइसकेपछि, उहाँहरूले मलाई जिताएर पठाइसकेपछि मैले उहाँहरूको सेवा गर्नुपर्छ। कर्मचारीहरूको बोली मिठो, ब्यवहार राम्रो हुनुपर्छ’, उनले भने, ‘तपाईँहरूलाई केही गाह्रो अप्ठ्यारो परेको छ भने भलाई भन्नुस्। आई विल सर्भ यू, यू सर्भ माइ पिपुल। नागरिकलाई तपाईँ सेवा गर्नुस्, तपाईँहरूको सेवा गर्ने, गाह्रो अप्ठ्यारो सल्ट्याउने म छु। कुनै ठाउँमा ग्याप छ भने भन्नुस्।’
देशभर सकारात्मक सन्देश आफ्नै गृहजिल्लाबाट फैलाउनुपर्नेमा उनको जोड थियो।
प्रतिक्रिया दिनुहोस !