कलेजोसँगै मिलेको दिदीभाइको माया

कलेजोसँगै मिलेको दिदीभाइको माया

चितवन : दिदीले कलेजो दिएर नयाँ जीवन पाएका सर्लाहीका भोजबहादुर आले दिदीको माया सम्झिएर भक्कानिए। छेवैमा रहेकी दिदी कालीमाया आलेले पनि आँसु थाम्न सकिनन्। चितवन मेडिकल कलेजको प्रत्यारोपण वार्डमा  दिदीभाइ एकअर्कालाई देखेर आँखा छोप्दै रुन थाले। सम्हाल्ने कोही भएन। सानो छँदा सारै माया गरेर हुर्काएकी दिदीको माया सम्झिएर भोजबहादुर भावुक थिए। भाइ देखेपछि उनको आँखा रसायो। उनी भाइसँग गएर ख्याल गर्छिन्। सुम्सुम्याउँछिन्। आफ्नो कलेजो पाएर बाँचेको भाइ देखेर खुसी हुन्छिन्। 

बाल्यकाल सम्झेर आमाबुवा मेलापात गएको बेला  घरमा भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी कालीमायाको थियो।  खाना खुवाउनेदेखि स्याहारसुसार सबै। त्यसरी हुर्काएको कान्छो भाइको कलेजो बिग्रिएर काम नलाग्ने अवस्था भएपछि कालीमायाको मुटु खायो। ४३ वर्षीय भोजबहादुरको परिवारमा रुवाबासी चल्यो। कालीमाया सानोको भाइ सम्झदै चिन्तित हुन थालिन्। भाइलाई आफ्नो कलेजोबाट आधाभन्दा बढी भाग दिएर बचाइन्। यसैमा उनी खुसी छन्। 

‘सानोमा खेलाएको, खुवाएको, हुर्काएको क्षण आँखाअघि झल्झली याद आयो। कलेजोको सानो टुक्राले भाइ बाँच्छ भने दिन्छु भनेर लागें,’ उनले भनिन्, ‘मेरो भाइलाई केही भएको भए म बाँचेको के अर्थ ? कि दुइटै घरमा लास गयो कि सास गयो भनेर अघि सरेँ।’  ५ दिनअघि कलिमायाको डिस्चार्ज भइसकेको छ। भाइको भाया लागेर भेट्न आइरहन्छिन्। 

शल्यक्रियापछि होस आउँदा कालीमायाले ‘भाइको होस आयो ?’ भनेर सोधेकी थिइन्। पछि भाइलाई भेटेपछि उनी खुसीले रोएकी रहिछन्। जीवनको आशा मारेका हरिवन नगरपालिका– ८ डाँडाटोलका आलेले दिदीले दिएको कलेजोले उनले नयाँ जीवन पाए। उनी घरबाट हिँड्ने बेला घर फर्किंदैनन् भन्ने सबैले सोचेका रहेछन्। आशा मारेका परिवारमा अहिले खुसीयाली छ। सबै भोजबहादुरको प्रतीक्षामा छन्। ‘सानोमा पनि आफूले दुःख गरेर हुर्कायो। बिहे गरेर अरूको घरमा गएको दिदीले शरीर काटेर दिएर बचाएको गुन भनेर सकिँदैन,’ भोजबहादुरले आँसु पुछ्दै भने, ‘मेरी दिदी नभएको भए आज म रहन्न थिए।’ बाँकी जीवनमा राम्रो काम गर्ने उनले बताए। 

भोजबहादुर र कालीमायाको उमेर पाँच वर्षको फरक छ। भोजबहादुर अटोरिक्सा चलाउँथे। अत्याधिक मादक पदार्थ सेवन गरेका कारण कलेजो बिग्रिएको उनले बताए। कलेजोको ८० प्रतिशत भाग काम नलाग्ने अवस्थामा थियो। डेढ वर्षदेखि पानी निकाल्दै फर्किंदै गरेका थिए। गत वर्षको पुस महिनाबाट अवस्था जटिल थियो। सुरुमा प्रत्यारोपण गर्न डराएर मरे पनि मर्छु भनेका भोजबहादुर परिवारको दबाबमा कलेजो प्रत्यारोपण गर्न सहमत भएका हुन्। उनको अवस्थामा क्रमिक सुधार भएको चितवन मेडिकल कलेजका प्रमुख कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. सजयकुमार यादवले बताए। 

२० दिनअघि शल्यक्रिया भएको हो। यसपटकको दसंै परिवारसँग खुसीले मनाउने योजना छ। उनी केही महिना भरतपुर नै बस्छन्। परिवारलाई यतै बोलाएर चाडबाड बनाउने बताए। दिदीभाइको अनुहारमा अहिले हाँसो मात्रै छ। ४३ वर्ष पुगेका भाइ कालीमायाका लागि उही बाल्यावस्थाकै झै लाग्छ।  भोजबहादुरका बाआमा, श्रीमती र दुई छोरा छन्। 

चितवन मेडिकल कलेजले चैतको दोस्रो साताबाट कलेजो प्रत्यारोपण सुरु गरेको हो। अहिलेसम्म चार जनाको कलेजो प्रत्यारोपण भइसकेकोे छ। हरेक हप्ता कलेजो प्रत्यारोपण गर्ने योजना कलेजको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.