यातायातमा बिचौलियाको राज, नमस्कार गर्दा कर्मचारी भागाभाग

यातायातमा बिचौलियाको राज, नमस्कार गर्दा कर्मचारी भागाभाग

काठमाडौं : यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा सोमबार बिहानदेखि नै सेवाग्राहीको लाम लाग्यो। कोरोना महामारीका कारण बन्द कार्यालय खुलेको धेरै समय नभएकाले बढी भीड लाग्दो रहेछ। जहाँ बिचौलियाको यति बिगबिगी रहेछ कि एक सेवाग्राही गाडीबाट झर्नासाथ तानातानमा परे। त्यसपछि रिसाएका उनी भन्दै थिए– ‘यहाँ त बचेर जानै मुस्किल रहेछ। पानी बेच्नेले पनि लाइसेन्स बनाइदिन्छ रे ! फलफूल बेच्नेले पनि भित्र कनेक्सन मिलाइदिन्छ रे !’ 

कसैले ‘नमस्कार’ भने पनि कर्मचारीले बिचौलियाकै कारण हतपत नफर्काउने रहेछन्। कारण हो– बिचौलियाले त्यही ‘नमस्कार’लाई सेवाग्राही ‘लुट्ने’ हतियार बनाउँछन्। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सहज रूपमा बनाइदिने भनेर रकम असुली फरार हुन्छन्।

अन्नपूर्ण पोस्ट्को टोली सोमबार उक्त कार्यालयमा पुग्दा कर्मचारीले यस्तै प्रसंग कोट्याए। ‘नमस्कार फर्कायो भने बिचौलियाहरूले सेवाग्राहीलाई कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्छन्। तब काम हुने विश्वास दिलाएर ठग्ने गरेको पाएका छौं’, प्रशासन शाखा प्रमुख बृहस्पति तामाङले अन्नपूर्ण पोस्ट्सित भने, ‘ट्रक, बस, टिपरको लाइसेन्स बनाउन उनीहरूले १ लाख २० हजारसम्म लिएको एक सेवाग्राहीले भनेका थिए।’

बागमती प्रदेशअन्तर्गतको यो कार्यालय वरिपरि ३ सयजति बिचौलिया हुन सक्ने अनुमान गरिएको छ। दिनहुँ नयाँ–नयाँ बिचौलिया आउँछन्। कतिपय कर्मचारीले झुक्किएर नमस्कार फर्काउँछन्।

सेवाग्राहीले नै उनीहरूलाई लिएर आउने गरेको दाबी प्रशासन शाखा प्रमुख तामाङले गरे। ‘सेवाग्राहीहरू लाम लागेर टोकन लिन्छन्। छिटो काम गराउन त्यो टोकन बिचौलियालाई दिन्छन्। अनि काम गराउँछन्’, शाखा प्रमुख तामाङले भने, ‘उनीहरूलाई पक्रेर प्रहरीलाई बुझाउँछौं। प्रहरीले कारबाही गर्न उजुरी माग्छन्। सेवाग्राहीले उजुरी दिन मान्दैनन्।’ उनीहरू २४ घण्टामा फेरि कार्यालयको गेटमा आइपुग्ने गरेको देखिएको उनले सुनाए।

प्रहरीका अगाडि नै उनीहरू कार्यालयको गेटदेखि भित्रसम्मै सेवाग्राहीलाई फकाइरहेका देखिन्थे। उनीहरू अधिकांश सुनका ब्रासलेट, सिक्री र औंठी लगाएर कार्यालय वरिपरि घुमिरहेका थिए। पानी, चुरोट, सुर्ती, फाराम, बिलबुक कभरलगायत सामान बेच्ने भेषमा पनि बार्गेनिङ गरिरहेका थिए। 

बिहानको ११:३८ बजेको थियो। कार्यालयको गेटमा प्रहरीहरू तैनाथ थिए। छेउछाउमै केश पालेका, च्यातिएको पाइन्ट लगाएका युवकहरू गेटमा धूमपान गरिरहेका थिए। उनीहरू बिचौलिया रहेछन्। जो सेवाग्राहीको बाटो छेकेर भन्छन्– ‘भित्र नजानुस्, कामै हुँदैन।’ अरूको आत्मबल कमजोर बनाउन खोज्छन्। त्यसपछि उनीहरूले फन्दामा पार्ने रहेछन्। 

 ‘बिचौलियाहरूलाई पक्रेर प्रहरीलाई बुझाउँछौं । प्रहरीले कारबाही गर्न उजुरी माग्छन् । सेवाग्राहीले उजुरी दिन मान्दैनन् ।’
बृहस्पति तामाङ, प्रशासन शाखा प्रमुख

 ‘हामीले गरिरहेको प्रयास सफल हुन सकेको छैन । उनीहरू लागूऔषध सेवन गर्ने प्रवृत्तिका छन् । ताल परे हामीलाई नै कुट्नबेर लगाउँदैनन् ।’
राजभाइ कुश्मा, कार्यालय प्रमुख 

‘मैले कतिलाई ५ सय बैना दिएँ। जोड्दा १० हजारजति भयो होला। तर, लाइसेन्स बनेको छैन। सबै ठगेर भाग्छन्’, एक युवा फतफताउँदै थिए। गाडीको ब्लुबुक नवीकरण गर्न इलामबाट आएका इन्द्रकुमार राईले भने, ‘बिचौलियाले बाटैमा सेवाग्राहीलाई झुक्याउँछ।’ यहाँ उनीहरूकै राज्य चल्ने गरेको सुनाए। 

धादिङका राजेन्द्र मगर लाइसेन्स नवीकरण शाखामा गजधम्म बसेका थिए। यातायात व्यवसायी मगरले सोमबार ह्याभी गाडीको लाइसेन्सको ट्रायल पास गरे। उनलाई कसैको सोर्स लगाउन परेन। 

‘आफैं कट्ने रै’छ, बेकारमा तेत्रो पैसा बुझाइयो’, उनले आक्रोश पोखे। चिनेको दाइमार्फत फाराम भरेका उनले लाइसेन्स लिन ४० हजार बुझाइसकेका रहेछन्। भने, ‘नियममा आउनेको काम नै बन्दैन भन्छन्, यहाँ आउँदा–आउँदै बाटोमा छोप्छन्। 

कार्यालय प्रमुख राजभाइ कुश्माले बिचौलियाले दु:ख दिइरहेको स्वीकार गरे।  ‘हामीले गरिरहेको प्रयास सफल हुन सकेको छैन। उनीहरू लागूऔषध सेवन गर्ने प्रवृत्तिका छन्’, कुश्माले भने, ‘ताल परे हामीलाई नै कुट्नबेर लगाउँदैनन्।’ दिनको एक हजारभन्दा बढी सेवाग्राहीलाई सेवा दिइरहेको कार्यालयले दैनिक २ सय ५० जना नयाँ सेवाग्राहीलाई  टोकन बाँडेर सेवा दिन्छन्।

‘खर्च छाडेर जानुस्, काम बनिहाल्छ’
हामी मध्याह्न १२ बजे लाइसेन्स नवीकरण गर्ने बहानामा कार्यालय पुग्यौं। केश पालेका एक युवकले गेटमै मुस्कानले स्वागत गरे। 

उनले भने, ‘किन आउनुभएको ?’

जवाफ– ‘दाइको लाइसेन्स नवीकरण गर्नु थियो। उहाँ विदेशमा हुनुहुन्छ। जरुरी छ।’

उनले भने– ‘स्मार्ट हो कि कागजवाला ? स्मार्ट हो भने अलिअलि खर्च गर्नुपर्छ बनिहाल्छ नि ! तपाईंले पुरानो लाइसेन्स र खर्च छाडेर जानुस्। १५ दिनमा नयाँ लाइसेन्स बनीहाल्छ। म फोन गर्छु। भित्र गएर केही काम हुन्न। एक वर्षसम्म पनि नवीकरण हुन्न।’

जवाफ– ‘कति खर्च लाग्छ ?’ 

‘सुरुमा ५ हजार दिनुस्। काम बनेपछि अरू १० हजार। तपाईं यहाँ आउनै पर्दैन।’ 

लाइसेन्स बनाउन महाभारत 
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन ठूलै संघर्ष गर्नुपर्ने रहेछ। जहाँ पहिला त बिचौलियाले हैरान पार्छन्। कर्मचारीले ढिलासुस्ती गरिदिन्छन्।

रसुवाका पासाङ दिनडुय तामाङले ट्रायल पास गरेको वर्षदिन भयो। तर, उनको काम अझै बनेको छैन। ‘म पाँचपटक आइसकें। कर्मचारीले भन्छ– तपाईंको लाइसेन्स प्रिन्ट भएको छैन। के भा’को ? अहिलेसम्म लाइसेन्स नआ’को ?’, उनले भने, ‘कति खर्च लाग्छ नसोंध्नुस्। एकपटक काठमाडौं आएपछि १० हजार खर्च हुन्छ।’ निराश भएर ११:३० मा घर फर्किंदै गरेका उनले गेटमा यसरी दुखेसो पोखे।

ललितपुर गिमदीका ४२ वर्षीय उमेश राना १०:०४ मा भेटिएका थिए। ८ बजे नै आइपुगेका उनले भने, ‘के गर्नु ? लाइसेन्स नवीकरण गरिएन भने बाटोमा ट्राफिकले फाइन हानिहाल्छ। हामी चाँडै आएर के भो ? सरकारी जागिरेहरूको पारा नै बेग्लै छ।’

१०:२३ मा भेटिए सर्लाहीका ३४ वर्षीय नेत्रप्रसाद बराल। उनी रिसाएका देखिन्थे। भने, ‘लाइसेन्स नवीकरण गर्न बिहानै ६ बजे नै आयौं। अहिलेसम्म कर्मचारीले काम सुरु गरेको छैन।’

किन काम सुरु भएन ? हामी त्यसको कारण खोज्न दर्ता फाँटमा पस्यौं। कोही कम्प्युटरको धुलो टकटक्याउन टालो खोज्दै थिए, त कोही मल्टिप्लक। वर्षदिनदेखि नयाँ लाइसेन्स नपाएका सेवाग्राही भने ढिला भएर आजित थिए। 

नुवाकोटका ५४ वर्षीय सुरेश कुमार कारंजित नयाँ लाइसेन्सका लागि फारम दर्ता गर्न भीडमा उभिरहेका थिए। ‘ढिला आउने कर्मचारीलाई त्यस दिनको तलब नदिने सिस्टम लागू गर्नुपर्छ’, उनले भने, ‘तर, नेताहरूले यस्ता कानुन बनाउँदैनन्। किनभने संसदमा कुटाकुट गर्दा पनि आफैंले तलब खानुपर्छ।’ 

त्यही बेला सुरक्षा गार्डले सेवाग्राहीलाई भने, ‘कोरोना लागेर मान्छे मरिरहेको छ, किन भीड गरेको ? दिमाग छैन ?’ 

कार्यालयले गरेको लापरबाही र मनमौजीले तातो घाममा सेवाग्राहीको पारो तातिएको थियो। त्यसमाथि ढिलासुस्तीले कतिपय आक्रोशित देखिन्थे। लाइसेन्सको बायोमेट्रिक (आँखा)को काम लिएर आएका थिए ललितपुरका ५२ वर्षीय श्याम डंगोल। उनले छोरो शशांकको लाइसेन्सका लागि धाइरहेका छन्।  ‘सरकारी कार्यालयको बेथिति कहिलेसम्म हामी भोग्ने ?’, उनले भने।

‘चोरबाटो’ बाट काम
कर्मचारीले टोकन लिएर लाम लाग्नेभन्दा बिचौलियाकै काम छिटो गर्दा रहेछन्। नुवाकोटका नवराज चालिसे बिहानदेखि लाम लागेका थिए। ‘टोकन लिनेहरू पालो कुरेर बस्छन्। बिचौलियाले चोरबाटोबाट फाइल कर्मचारीको टेबलमा पुर्‍याएर काम गराउँदा रहेछन्’, चालिसेले भने, ‘कर्मचारीहरू दलालबाट घुस खान पल्केका छन्। त्यस्तालाई कसले छेक्ने ?’

एक जना कर्मचारीले ११:५० मा दुई जनालाई चोरबाटोबाट फाँटभित्र छिराए। उनीहरूको बायोमेट्रिक (आँखा परीक्षण) गराउने काम थियो। बाहिर उभिरहेकाहरूले हल्ला गरे। प्रहरी आयो। सबैलाई हकार्‍यो। ‘यहाँ सबै पावरको खेल छ’, लाममा पालो पर्खिरहेका इमाडोलका विशाल कार्कीले भने, ‘हाम्रो दु:ख कसले सुन्छ ?’

अख्तियारले ढड्डा लगेपछि हैरानी
लाइसेन्स नवीकरण नभएर हैरान छन्, धादिङका लेखनाथ इटनी। उनले कतारमा ह्याभी सवारी चालकको लाइसेन्स बनाएका रहेछन्। उनले नेपाल फर्किएर नेपालीकरण गरी लाइसेन्स बनाए। उनी फेरि विदेश जान लागेका छन्। तर, नेपालीकरण गरेका लाइसेन्सका ढड्डा एक वर्षअघि अख्तियारले लग्यो। ‘कसरी विदेश जाने ?’, १:३० बजे भेटिएका उनले भने, ‘लाइसेन्स नवीकरण हुँदैन। अख्यिारले छिटो अनुसन्धान गरेर फाइल दिनुपर्छ। विदेश जाने बाटो खोलिदिनुपर्छ।’

नेताको फोनले काम हुन्छ !
दिउँसो २ बज्यो।  बानेश्वरबाट आएका चेतन भट्टराई १५ दिनमा लाइसेन्स हात पर्नेमा ढुक्क थिए। कोभिड महामारीअघि हराएर नयाँ बनाउन निवेदन दिएका रहेछन्। उनले सोमबार म्याद सकिएर रोकिएको थाहा पाए। 

‘नवीकरणको निवेदन हालेको छु। एक जना नेता हुनुहुन्छ। उहाँले फोन गरेपछि १५ दिनमा नै लाइसेन्स आउँछ’, उनले भने। उनको उत्साहले यस्तो लाग्थ्यो, नेताको फोनले काम नगर्ने कुनै सरकारी कार्यालय छैन। नेतासँग पहुँच नहुनेहरू वर्ष दिनदेखि अलमलिरहेका छन्। 

जबकी पहुँच पुगेन भने निवेदन दिएको ४–५ महिनासम्म स्मार्ट लाइसेन्स आउँदैन। कोभिडको समयमा यो समय दुई वर्षसम्म लम्बियो। २०७६ साल मंसिरमा ट्रायल पास गरेकी सुकेधारीकी अन्सु श्रेष्ठ सोमबार पनि रित्तै फर्किनुपर्‍यो। 

सेवाग्राहीमैत्री छैन कार्यालय
कार्यालय परिसरमा कुन काम गर्न कति राजस्व लाग्छ र कति खर्च हुन्छ भन्ने जानकारीसहितको सूचनापाटी कतै देखिएन। सबैले देख्ने ठाउँमा हुनुपर्ने नागरिक बडापत्र पनि भित्रपट्टि थियो।

दिउँसो ३ बज्यो। सरकारी कार्यालयको शौचालयमा सेवाग्राहीले पैसा तिर्नुपर्ने रहेछ। महिला शौचालयभित्र पानीको व्यवस्थासमेत रहेनछ। फोहोर र दुर्गन्धले गन्हायर भित्र छिर्न सकिन्नथ्यो। खोटाङकी मनिता राई दुईवर्षे बच्चासहित शौचालय गइन्। बच्चा दिसापिसाब गन्हायो भनेर झगडा गर्दै थिए। उनी भित्रै बोल्दै थिइन्, ‘पैसा तिरेपछि त पानी पनि हुनुपर्‍यो नि ! कस्तो फोहोर ?’ 

पैसा उठाउन नजिकै बसेकी महिलाले चुरोट र सुर्तीसमेत बेच्दै थिइन्। जबकी सरकारी कार्यालयभित्र धुमपान, मद्यपान र सुर्तीजन्य सामग्री बेच्न पाइँदैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.