नेतृत्वमा युवा

नेतृत्वमा युवा

नेपाली कांग्रेसको १४औं महाधिवेशनन्तर्गत वडा अधिवेशनका क्रममा भएको प्रतिनिधि चयनको चुनावमा युवा पुस्ताको उल्लेखनीय आकर्षण देखियो। दैलेखकी १९ वर्षीया स्वस्तिका कुमारी महत, अछामकी २२ वर्षीया जानकी रावल, दुल्लु नगरपालिका–९ का ३१ वर्षीय सरोज रिजाल, दुल्लु नगरपालिका–१० का ३१ वर्षीय दीपेन्द्र पुरी स्थानीय वडाको सभापतिमा निर्वाचित भएको खबर आएको छ। देशभरिका अरू धेरै स्थानीय वडाको सभापति तथा क्षेत्रीय प्रतिनिधिमा पनि उल्लेख्य संख्यामा युवाहरू चयन भएका छन्। कांग्रेसमा युवाको आकर्षण बढेको देखिएको छ।

युवापुस्ता समयानुकूल परिवर्तन चाहन्छन्। परिवर्तित समयानुसारको मुद्दालाई सशक्तरूपमा उठाउन नसक्ने र युवाको सवाललाई सम्बोधन गर्न नसक्ने वा नचाहने बूढा नेतालाई पाखा लगाउँदै युवा पुस्ता कांग्रेसको प्रतिनिधिमा चयन हुनु सुखद संकेत हो। राजनीतिमा युवापुस्ताको प्रवेशले राजनीतिक वृत्तमा नयाँ आशा र अपेक्षा पनि जगाएको छ। नेपालको संविधान २०७२ को ‘सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीति’ मा राज्यको सर्वांगीण विकासमा योगदानका लागि युवालाई उपयुक्त अवसर प्रदान गर्ने उल्लेख गरिएको छ। यस्तै ‘राष्ट्रिय युवा नीति २०७२’ मा पनि युवा शक्तिलाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति मान्दै युवालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरुरी रहेको उल्लेख गरिएको छ।

पछिल्लो समय राजनीतिमा युवा नेतृत्वको विषयमा बहसहरू हुन थालेका छन्। यसो त विश्वमा युवाले राजनीतिक नेतृत्व सम्हालेका प्रशस्त उदाहरण छन्। फिनल्यान्डकी सन्ना मिरेला मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भएकी थिइन्। बेल्जियमका चाल्र्स मिचेल ३९ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए। नेपालमै पनि कम्युनिस्ट नेता तथा जबजका जन्मदाता मदन भण्डारी ३८ वर्षको उमेरमा र माधव नेपाल ४० वर्षको उमेरमा पार्टीको महासचिव बनेका थिए। निरंकुश भनिएका राजा ज्ञानेन्द्रले गद्दी छोड्न त्यति गाह्रो मानेनन्। तर प्रजातन्त्रवादी भनिएका हाम्रा राजनीतिक नेताहरूले पद छोड्न त्योभन्दा पनि गाह्रो मानिरहेछन्। सल्लाहकारको भूमिकामा सीमित हुनुपर्ने बूढा नेताहरू नै अझै पनि कार्यकारी पदमा बसेर राजनीति हाँक्ने हठ गरिरहेछन्। 

मुलुकको हरेक राजनीतिक क्रान्तिमा अग्रपंक्तिमा उभिने युवा अवसरबाट भने सधैं बञ्चित हुँदै आएका छन्। हरेक राजनीतिक क्रान्तिमा युवाले निर्वाह गरेको भूमिकालाई निकै महत्त्व दिइन्छ, तर अवसर दिने वा पाउने बेलामा भने युवालाई बिर्सिने प्रयास निरन्तर हुँदै आएको छ। राजनीतिको नेतृत्व तहमा युवालाई अवसरबाट वञ्चित गरिँदै आएको छ। यो प्रवृत्ति सबै राजनीतिक दलहरूमा देख्न पाइन्छ। अवसरको खोजीमा लागेका युवालाई नेतृत्व तहले सधैं उपेक्षा र तिरस्कार गर्दै आएको छ। त्यसैले राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका संवाहक भनिएका युवा राजनीतिक नेतृत्व तहसँग असन्तुष्ट छन् र निराश छन्। यही निराशाले विरक्तिएका युवा विदेश पलायन हुने क्रम विगत तीन–चार दशकदेखि बढेको बढ्यै छ। राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणले पनि यो राम्रो संकेत पक्कै होइन।

नेपालको मूलधारको राजनीतिमा नेतृत्व गर्न सक्षम दोस्रो र तेस्रो पुस्ता पनि तयार भइसकेको छ। तर तिनले नेतृत्वको अवसर भने पाउन सकेका छैनन्। नेतृत्व हस्तान्तरण गर्न पहिलो पुस्ता अझै तयार भएको छैन। शक्तिको शान र मानको लोभले नेतृत्व हस्तान्तरण गर्न पहिलो पुस्ताका नेताहरूले अझै चाहिरहेका छैनन्। आफ्नै ज्यान सम्हाल्ने शक्ति नभएका बूढा नेताहरूको नेतृत्व सम्हाल्ने हठ उदेकलाग्दो छ। परिवर्तनको नयाँ सोच, विचार र दूरदृष्टि बोकेर कर्म क्षेत्रमा उत्रन आतुर युवालाई सधैं अवसरबाट वञ्चित गर्नाले मुलुक समृद्धि यात्रामा पछाडि परेकोमा दुई मत छैन। युवालाई अवसर, युवा परिचालन र युवा सहभागिताबिना मुलुक समृद्धि यात्रामा अगाडि लम्कनै सक्दैन।

अझै पनि एकथरी युवा बूढा नेताकै खेताला बन्न लालायित छन् भने अर्काथरी युवा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा पनि समान अवसरको आकांक्षी बनेका छन्। समान अवसरको आकांक्षी युवाको विद्रोही आवाजलाई भने नेतृत्व तहबाट दबाउने वा पन्छाउने प्रयास हुँदै आएको छ। योग्य, सक्षम र इमानदार युवालाई अवसरबाट वञ्चित गरेर राजनीतिमा वर्चस्व कायम राख्दै आएका बूढा नेताहरूको ‘हामी र हाम्रा’ भन्ने प्रवृत्तिका कारण अवसरका आकांक्षी युवामा राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुने गरेको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा भएको प्रतिनिधि चयनको चुनावमा युवा पुस्ताको विजय शृंखलाले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ भन्ने युवाको आवाजलाई उजागर गरेको छ। मुलुकको राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा युवा परिचालन, सहभागिता र नेतृत्वको आवश्यकतालाई हाम्रो संविधानले पनि महसुस गरेको छ र संवैधानिक व्यवस्थाअनुसार नै ‘राष्ट्रिय युवा नीति २०७२’ र ‘युथ भिजन २०२५’ जारी भएको छ।

पछिल्लो समय संवैधानिक व्यवस्था, युवा नीति र युथ भिजनको परिकल्पनाले देशको नीतिनिर्माण तहमा युवाको उपस्थिति र सहभागिता क्रमशः बढेको सकारात्मक संकेत देखिएको छ। प्रतिनिधिसभामा १३.०९ प्रतिशत, प्रदेश सभामा २३.६३ प्रतिशत, राष्ट्रिय सभामा ६.७७ प्रतिशत र स्थानीय तहमा ३९.६४ प्रतिशत युवाको प्रतिनिधित्व हुनुले यो तथ्यलाई पुष्टि गरेको देखिन्छ। नेतृत्व हस्तान्तरणमा देखिएको अनिच्छा र अर्घेल्याइँले अझै पनि सक्षम युवावर्ग उच्च नेतृत्वमा पुग्न वञ्चित भइरहेका छन्। सोच, विचार दूरदृष्टिअनुसारको नीति, रणनीति र कार्ययोजना तर्जुमा गरेर प्रभावकारी कार्यान्वयन गर्ने, गराउने क्षमता र दक्षता पनि युवा पुस्तामा छ। मुलुकमा युगान्तकारी परिवर्तन र विकासको अभिभारा बोक्न आतुर युवालाई अवसर दिने हो भने समृद्ध नेपाल र सुखी नेपालीको सपना छिट्टै पूरा हुनेमा निश्चिन्त हुन सकिन्छ। तर, नेतृत्वमा पुग्न आतुर युवा राजनीतिक बेइमानी, घातप्रतिघात र भ्रष्टाचारी मनोवृत्तिबाट मुक्त र इमान्दार र सदाचारयुक्त हुन भने नितान्त आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.