जघन्य अपराधका दोषीलाई समेत आममाफी

जघन्य अपराधका दोषीलाई समेत आममाफी

दैलेख : संविधान दिवसका अवसरमा सरकारले चालचलन र अनुशासन राम्रो रहेको भन्दै दैलेख कारागारबाट २४ जना कैदीलाई रिहा गर्‍यो । यसरी रिहा भएकामध्ये हत्याको दोषी ठहर भएर जेलमा सजाय भोगिरहेकाले आममाफी पाएका छन् । यति मात्र होइन, सवारी दुर्घटनामा अरुको ज्यान लिएर जेल सजाय भोगिरहेका समेतले बाँकी कैद सजाय मिनाहा भएर संविधान दिवसमा छुटेका छन् । 

कारागार कार्यालय दैलेख स्रोतका अनुसार अन्तराष्ट्रिय स्तरमा समेत चर्चा पाएको सेते दमाई हत्या काण्डका दोषी समेतको बाँकी कैद सजाय मिनाहा भएर संविधान दिवसमा छुटेका छन् । दिवसका अवसरमा सेते दमाई हत्या काण्डका दोषीसहित कर्तव्य ज्यान मुद्धाका ३ जना महिला र ३ जना पुरुष गरी ६ जना छुटेको जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए ।

यस्तै सवारी ज्यान मुद्धाका दोषी १ जना र ज्यान मार्ने उद्योग मुद्धामा १ जनाको बाँकी कैद मिनाहा भएको छ । जेलर खत्रीका अनुसार बहुविवाह मुद्धामा जेल सजाय काटिरहेका ६ जना महिला र १० जना पुरुषको समेत बाँकी कैद सजाय मिनाहा भएको छ । संविधान दिवसको अवसरमा यस वर्ष दैलेख कारागारबाट २४ जना कैदीबन्दी छुटेको जेलर खत्रीले जानकारी दिए ।

न्यायीक निकायले तोकेको सजायमा ५० प्रतिशत कैद भुक्तान गरिसकेको, मुद्धा सकारात्मक सूचीमा भएको र चाल चलन र अनुशासन राम्रो भएको आधारमा कैद कट्टाका लागि सिफारिस गरिएको जेलर खत्रीले बताए । 

संविधान दिवसमा २४ कैदी छुटेसँगै अहिले दैलेख कारागारमा विभिन्न मुद्धामा १ सय ४६ जना पुरुष र ३३ महिला गरी १ सय ७९ जनाले सजाय काटिरहेका छन् । जेलर खत्रीका अनुसार बहुविवाह मुद्धामा कारागारमा सजाय काटिरहेकी महिलाको साथमा १ आश्रीत बालिका कारागारमा छिन् ।

के हो सेते दमाई हत्याकाण्ड ?

नौमूले गाउँपालिका–१ तोलीका (साविक तोली गाविस–२) सन्तबहादुर दमाईले सोहि गाउँकी राजकुमारी शाहीलाई अन्तरजातीय विवाह गरेको विषयलाई लिएर सन्तबहादुरका बुवा सेते दमाईको हत्या भयो । सेते दमाईको कान्छो छोरा सन्तले राजकुमारीसँग २०६८ साउन २८ गते अन्तरजातीय विवाह गरेका थिए । 

सोहि विषयलाई लिएर माइती पक्षले भदौ १३ गते खुकुरी प्रहार गरी सेतेको हत्या गरेको थियो । सेते दमाई हत्या प्रकरणमा कर्तव्यज्यान र जातीय विभेदमा ९ जनाविरुद्ध मुद्दामा दर्ता गरिएको थियो । अदालतले २०६९ जेठ ३० गते गरेको फैसलामा घटनाका बिन्दकला शाहीसहित जीवन शाही र कृष्ण खत्रीलाई २०/२० वर्ष जेल सजाय सुनाएको थियो । उनीहरु तीनैजना संविधान दिवस–२०७८ को अवसरमा छुटेको कारागार स्रोतले बतायो । 

सोहि घटनामा संलग्न दुईजना बालकलाई भने १०/१० वर्षका लागि बाल सुधार गृहमा पठाइएको थियो । उनीहरु ५० प्रतिशत कैद मिनाह पाएर यसअघि नै घर फर्किइसकेका छन् । सेते दमाई हत्या प्रकरणको घटनामा ज्यान गुमाएका सेते दमाईको परिवारले भने २०६९ मा मन्त्रिपरिषदको निर्णय अनुसार १० लाख रूपैयाँ राज्यका तर्फबाट राहतस्वरूप पाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.