अस्पतालमा अझै घटेनन् भर्ना हुने कोरोना संक्रमित
विराटनगर : चाडपर्व नजिंकिदै जाँदा विराटनगरको प्राय सबै क्षेत्र खुलेको छ। विराटनगर बजार मात्रै नभइ भारतको जोगवनी बजार सहजै रुपमा आवतजावत गर्न सिमा खुलेको छ। तर नेपालमा कोरोनाको जोखिम भने बढेको छ। प्रदेश सरकारले सञ्चालन गरेको कोभिड १९ अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामी भर्ना हुने दर कम भएको छैन।
दैनिक रुपमा ४ देखि ६ जनासम्म भर्ना हुने अस्पतालले जनाएको छ। अस्पतालका सुचना अधिकारी अनुपम राजवंशीका अनुसार अहिले विराटनगर १० स्थित प्रदेश सरकारको कोभिड १९ अस्पतालमा ४३ जना संक्रमित बिरामी भर्ना रहेका छन्। जसमध्ये २१ जना गम्भीर अवस्थाका रहेका छन्। गम्भीर रहेका २१ जना मध्ये ५ जनाको अवस्थामा गम्भीर छ। भदौ १५ देखि बिरामी आउनेको संख्या कम भए पनि गम्भीर प्रकृतिको बिरामीमा कमी नभएको उनले बताए। बाहिर हेर्दा संक्रमणको जोखिम नरहेको जस्तो लागे पनि संक्रमित बढिरहेको उनको भनाइ छ।
उनले भने,‘संक्रमितको संख्या विगत जस्तै नै छ।' सो अस्पतालमा प्रदेश २ को सप्तरी र सिरहा सहित प्रदेश १ को मोरङ, सुनसरी, धनकुटा, झापा, इलाम, भोजपुर र उदयपुरका बिरामी उपचारार्थ भर्ना रहेका छन्।
अस्पतालका अनुसार २०७७ चैत्र २४ गतेदेखि २०७८ असार २४ गतेसम्म ५ सय ९६ जना बिरामी भर्ना भएका छन्। जसमध्ये एक सय ४९ जनाको मृत्यु भएको छ भने ४ सय ५ जना निको भएर डिस्चार्ज भएको बताइएको छ।
सो अस्पतालमा कोभिडको महामारीको रुपमा रहेका बेला प्रदेश १ सहित २ का बिरामीहरु समेत उपचार गर्न आउने गरेका थिए। विराटनगर सहित आसपासको क्षेत्रमा कोरोनाको संक्रमण देखिन थालेपछि सो अस्पताललाई प्रदेश सरकारले पुन: सञ्चालनमा ल्याएको थियो। दोस्रो चरणको कोरोना संक्रमण आउनुभन्दा पहिले बिरामी विहीन बनेका सो अस्पतालमा बाहिर समान्य भएको जस्तो देखिए पनि बिरामीको चाप दैनिक रुपमा नघटेको हो। एक्टिभ केसमा दिनानुदिन वृद्धि हुँदै गएको बताइएको छ।
तस्बिर : जितेन्दनारायण ठाकुर।