पितृहरूको पर्व महालय
हाम्रा पितृहरू मरेपछि सबै मुक्त हुँदैनन्। सबै नरकमा पनि रहँदैनन्।
वर्षभरिमा विशेषगरी एकपटक महालय श्राद्ध आउँछ। यसलाई सोह्रश्राद्ध पनि भनिन्छ। १६ दिनसम्म नै गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। महालय भनेको कर्तासँग आश्रित भएर आउने सबै पितृहरू हुन्। यस महालय पक्षमा पितृहरू पितृलोकबाट छोडेर कर्ताको घरमा आएर ढोका बाहिर बसिरहन्छ। श्राद्ध गराउने ब्राह्मण निमन्त्रणा गरेपछि पितृहरू ब्राह्मणको शरीरमा र कर्ताको शरीरमा प्रवेश गर्छन्। जब ब्राह्मण घरभित्र पस्छन्, तब उनीसँगै पितृहरू पनि श्राद्धघरमा प्रवेश गर्छन्। १६ दिन गर्न नसक्दा पिताको तिथिमा एक दिन श्राद्ध गरिन्छ। यसलाई सक्रिन् महालय भनिन्छ। यसमा दिवंगत समस्त पितृहरूको तर्पण, पिण्डदान, सिधादान पनि गरिन्छ। कर्ताले अघिल्लै दिन केश मुन्डन गरी एकछाकी आदि नियममा रहेर बेलुका भोजन गरिसकेपछि ब्राह्मणलाई निमन्त्रणा गर्नुपर्छ। निमन्त्रिण ब्राह्मणले ब्रह्मचर्य आदि नियममा रहनुपर्छ।
श्राद्धका दिन श्राद्ध सामग्री तयार पारी धोती फेरेर उत्तरीय वस्त्र (गम्छा आदि) पनि काँधमा राखेर श्राद्ध गर्नुपर्छ। आचमन गरेर दियोको पूजा गरी कुशमा ब्राह्मणलाई निमन्त्रणा गर्नुपर्छ। महालय श्राद्ध गर्ने समय भनेको दिनलाई पाँच भाग लगाएर चौथो भाग अर्थात् अपराह्न गर्नुपर्छ। शुक्ल यजुर्वेदीहरूका लागि पिण्ड दान महत्वपूर्ण भएकाले अपराह्नको समयमा नै पिण्डदान हुनुपर्छ। त्यसैले श्राद्ध गर्न बस्दा लगभग १० बजेपछि मात्र सुरु गर्नु उपयुक्त हुन्छ। प्रतिपदादेखि औंसीसम्म पिताको तिथिमा महालय श्राद्ध गरिन्छ भने नवमी तिथिलाई मातृनवमी भनिएकाले सधवा अवस्था (श्रीमान् छँदै निधन भएका) मा निधन भएका स्त्रीको यस दिन श्राद्ध गर्नुपर्छ। यसैगरी पूर्णिमा र चतुर्दशीमा निधन भएकाहरूको अष्टमी, द्वादशी र औंसीमा श्राद्ध गर्नुपर्छ।
जुठो सुतकले रोकिएका श्राद्धहरू पनि यिनै अष्टमी, द्वादशी र औंसीमै गर्न मिल्छ। पितृपक्ष सकिएसम्म पनि आशौच रहिरहेमा दुर्गा पक्षको पञ्चमीसम्म श्राद्ध गर्न मिल्छ। त्यसपछिका आउने अष्टमी, द्वादशी, औंसी र भरणी नक्षत्र र व्यतीपात योगमा पनि रोकिएका श्राद्ध गर्न मिल्छ। महालय श्राद्धको परम अवधि भनेको कात्तिक मसान्तसम्म मात्र हो। कदाचित यस दिनसम्म श्राद्ध हुन सकेन भने मंसिर १ गतेदेखि अर्को वर्षको महालय श्राद्ध नआउन्जेलसम्म ‘ओम् दुरोअश्वस्य...’ मन्त्रको दस महिनासम्म जप गर्नुपर्छ। यसबीचमा आएका अन्य तिथिश्राद्ध भने गरिरहनु पर्छ।
सबै पितृहरू आउने हुनाले सबैको श्राद्ध हुने हुनाले यस पक्षलाई महालय भनिएको हो। पूर्णिमादेखि औंसीसम्म, यो प्रतिपदादेखि घटस्थापनाको दिनसम्म र तिथि बढेका कारण सोह्र श्राद्ध भनिएको हो। यसैले हामी सक्ने जोकसैले पनि १६ दिन नै श्राद्ध गर्नुपर्छ। पूर्णिमाका दिन चाहिँ कर्ताभन्दा तीन पुस्ता माथिका पितृहरूको श्राद्ध गरिन्छ। तर महालयमा यो तिथि गणनामा हुँदैन। अहिले ६ वटा पिण्ड दिने र तर्पण गर्ने सबै प्रकारका पितृलाई पिण्ड दिने विषय चर्चामा छ। तर तीर्थ श्राद्ध र महालयमा सबै पितृलाई पिण्ड दिनु भनेकाले सबै पितृलाई पिण्ड दिनु उचित हुन्छ। औंसी औंसीमा गरिने श्राद्ध चाहिँ ६ वटा पिण्ड दिएर नै गरिने श्राद्ध हो भने महालय श्राद्ध चाहिँ धेरै पिण्ड दिएर नै गरिने श्राद्ध हो। पितृलोकबाट आएका पितृलाई हामीले सबैलाई नै पिण्ड दिनु उचित हुन्छ।
पिण्ड दान महत्तवपूर्ण भएकाले अपराह्नको समयमा नै पिण्डदान हुनुपर्छ।
पितृलोकबाट आएका पितृलाई हामीले सबैलाई नै पिण्ड दिनु उचित हुन्छ।
एक घरमा एक तिथिमा एक ठाउँ मात्र श्राद्ध गराउनुपर्छ।
सबै पितृलाईं पिण्ड दिने भनेको कर्ताले आफ्ना पिता, हजुरबुबा, बुढो हजुरबुबा, आमा, हजुरआमा, बुढी हजुरआमा र मावली पक्षमा मावलका हजुरबुबा, बुढा हजुरबुबा र कुप्रा हजुरबुबा, हजुरआमा, बुढी हजुरआमा र कुप्री हजुरआमा यी १२ वटा मुख्य पितृ हुन्। एकोद्दिष्ट गणका काकाहरू, काकीहरू, ठुलोबुबाहरू, ठुलीआमाहरू, दाजुभाउजुहरू, भाइबुहारीहरू, फुपूफुपाजुहरू, दिदीभिनाजुहरू, सासुससुराहरू, मामामाइजुहरू, ठुलीआमाहरू, सानिमाहरूलगायत जतिलाई तर्पण दिइन्छ, त्यत्तिलाई नै महालयमा पिण्डदान पनि गरिन्छ। उहाँहरू सबैलाई तर्पण र पिण्ड दिइन्छ। यसबेला ती सबै पितृको नाम स्मरण गरेर पिण्डदान गर्नुपर्छ।
महालय पक्षमा पिताको तिथि आएका दिन छोराहरूले देशविदेश जहाँ भए पनि अवस्थाअनुसार श्राद्ध गर्नुपर्छ। नछुट्टिएका र एउटै भान्छा भएकाहरूले भने एकै ठाउँ श्राद्ध गर्न मिल्छ। छुट्टिएपछि वर्ष दिनबाहेक आफूआफूले नै श्राद्ध गर्नुपर्छ। कथंकदाचित विदेशमा भइयो भने पितृका नाममा स्मरण गरेर छिट्टै आउने स्थिति भए घर आएपछि श्राद्ध गर्ने मंसिर उता भयो भने माथिको मन्त्रको १० महिनाभरि जप गर्नुपर्छ। उक्त मन्त्र प्रतिदिन १०८ पटक जप्नुपर्छ। धेरै वर्ष विदेश बस्नेहरूले पितृका नाममा केही दानपुण्य गरेर यो मन्त्रको जप गर्दा पनि श्राद्ध सिद्ध नै मानिन्छ। तर आलस्य नगरी मातापिताको श्राद्ध गर्दा नै पितृहरूको आशीर्वाद पाइन्छ। पिताको आशीर्वादले सन्ततिहरू पाउनुका साथै ती सन्तान चरित्रवान् पनि हुन्छन्।
यस्तै हजुरबुवाका आशीर्वादले धनसम्पत्तियुक्त भइन्छ भने बुढाहजुरबुबाका आशीर्वादले अर्कालाई धन दिने, परोपकार गर्ने, सामाजिक काम गर्ने, मठमन्दिर, वृद्धाश्रम र गुरुकुलहरूमा समेत धनसम्पत्ति दिने आशीर्वाद मिल्दछ। त्योभन्दा माथिका पितृहरूले आफूलाई धेरै प्रकारको सम्पत्ति दिएर सबैलाई दिन पुग्ने आशीर्वाद पनि प्राप्त हुन्छ। र यसरी दान गर्दा पितृहरू पनि स्वर्गलोक गएर धर्मराजको सभामा मान्य सदस्य भएर बस्दछन्। यी कुरा गरुण पुराणको प्रेतकल्पको १३औं अध्यायमा उल्लेख छ। यस्तै, प्रायः गरेर यस पक्षमा एकादशी, द्वादशी र त्रयोदशीमध्ये एक दिन मघा नक्षत्र पर्छ। यस नक्षत्रमा गरेको श्राद्ध अति महत्वपूर्ण मानिन्छ। सन्तान हुनेले मघा श्राद्ध पिण्ड नदिइकन गर्नुपर्छ। यो काम्य श्राद्ध हो। काम्य श्राद्ध भनेको केही चाहना राखेर गरिने श्राद्ध हो। र यो अनिवार्य पनि छ। मघा श्राद्ध नक्षत्र श्राद्ध हो भने हामीले गर्ने महालय श्राद्ध तिथि श्राद्ध हो। यो पिताको तिथि परेका दिन मघा, आइतबार आदि केही पनि बार्नु पर्दैन। त्यसैले मघा र द्वादशी आदि तिथि पर्दा कसैले बारले गर्छन्। त्यो धर्मशास्त्र विपरीत कुरा हो।
एक दिन मात्र श्राद्ध गर्नेले महालयको चतुर्दशीबाहेक आशौच नपरी अरू कुनै पनि बानु पर्दैन। पिताको तिथि पर्न पर्यो भने अरू कुनै निषेध हेर्न पर्दैन। चतुर्दशी चाहिँ शस्त्र, अस्त्रबाट निधन भएका, अकाल मृत्यु भएकाका लागि विश्वेदेवसहितको एकोद्दिस्ट श्राद्ध गर्ने शास्त्रमा निर्णय भएकाले यिनै अकाल मृत्यु परेकाहरूको मात्र श्राद्ध गरिन्छ। तिनीहरूको महालय भने अष्टमी, द्वादशी र औंसीमा गर्नुपर्छ। श्राद्धादि धार्मिक कृत्यहरू भनेका कर्तामा र गराउने गुरुपुरोहितहरूको आस्था, श्रद्धा र निष्ठाको विषय हो। यसमा एक पक्ष पनि दुर्बल भए कर्म पूर्ण हुँदैन। त्यसैले कर्ताले निष्ठाका साथ कर्म गर्नुपर्छ भने पुरोहितले पनि श्रद्धा र निष्ठा गुमाउनु हुँदैन। एक घरमा एक तिथिमा एक ठाउँ मात्र श्राद्ध गराउनु पर्छ। अन्यत्र गराउनु नै पर्ने भए टीको लगाउने अर्को ब्राह्मण खोजेर पर बसेर पढिदिन भने मिल्छ। तर दुवै ठाउँमा टीका लगाउने र भोजन गर्ने काम गुरुपुरोहितले गर्न हुँदैन।
हाम्रा पितृहरू मरेपछि सबै मुक्त हुँदैनन्। सबै नरकमा पनि रहँदैनन्। आफ्नो कर्मअनुसार कोही मनुष्य होलान्। कोही बाघ, भालु आदि पशुयोनीमा जालान्। जहाँ पुगे पनि उनीहरूले जे भोजन गर्ने हो त्यही रूपमा हामीले दिएको पिण्ड, जल, अन्न आदि प्राप्त गर्छन्। हामीले दिएको पिण्ड आदिलाई परिवर्तन गरेर पितृसम्म पुर्याउने काम वसु, रुद्र र आदित्य देवताले गर्छन्। त्यसैले श्राद्धमा यिनीहरूको स्वरूपको उच्चारण गर्नुपर्छ। पितृहरू देवता भएका रहेछन् भने अमृत रूपमा हामीले दिएका सामग्री प्राप्त गर्छन्। पशुयोनीका रूपमा रहेछन् भने घाँसका रूपमा ग्रहण गर्छन्। बाघ, भालुका रूपमा भए मांसकै रूपमा ग्रहण गर्छन्। सर्प भएका रहेछन् भने वायुकै रूपमा प्राप्त गर्छन्। यसरी अन्न, जल र पिण्डहरू विश्वेदेव आदिका मार्फत पुर्याउने काम गरिन्छ। प्रसन्न भएका पितृहरूले श्राद्धकर्तालाई आयु, सन्तति, धन, विद्या, स्वर्ग, मोक्ष र समस्त सुख आदि आशीर्वादस्वरूप प्रदान गर्छन् भन्ने धर्मशास्त्रमा उल्लेख छ।
- लेखक वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभाग प्रमुख हुन्।