मिर्गौला पीडित छटपटाउँदै, वास्ता गर्दैनन् अस्पताल
काठमाडौं : काठमाडौंकी ३१ वर्षीया शारदा कुँवरको मिर्गौला फेल भयो । त्यसपछि उनी गत वैशाखमा भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डायलासिसका लागि पुगिन् ।
केहि हप्ता डायलासिस पनि गराइन्। केहि दिनपछि उनलाई अस्पतालले डायलासिसका लागि पालो कुर्नुपर्ने भन्दै अब नआउन भन्यो । पीडित कुँवरले भनिन्, ‘के गर्नु यहाँ डायलासिस हुँदैन भनेर मलाई नआउन भनियो । अन्यत्र डायलासिस गर्न एक पटकको ६ हजार तिर्नुपर्ने रैछ । तनावमा छु हेर्नुस् ।’
यस्तै सोहि अस्पतालमा गत भदौमा डायलासिस गराइरहेका ३८ वर्षीय पुरुषका आफन्तको मृत्यु भयो । कोरोना महामारीको बेला मिर्गौला प्रत्यारोपण केन्द्रले डायलासिस सेवा बन्द गराएको थियो ।
यो समस्या वीर अस्पताल र टिचिङ अस्पतालमा पनि उस्तै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले केहि निजी तथा सरकारी अस्पतालमा डायलासिस सेवा सहज नभएको स्वीकारे । उनले भने,‘हामी अनुगमनको पाटोमा त्यति धेरै बलियो छैनौं । अहिले मुलुकभर ४९६ वटा मिर्गौला डायलासिसका उपकरण छन् । ती उपकरणमा पाँच हजार ७९७ बिरामीले हप्तामा दुई वा तीनपटक डायलासिस गराउँछन् ।’
डायलासिस मेसिन कम हुँदा मिर्गौला पीडितरुले महिनौं कुर्नुपर्ने बाध्यता छ । मिर्गौला पीडितहरुले डायलासिसमा सहजता प्रदान गर्न पटकपटक आवाज उठाए पनि सुनुवाइ हुन सकेको छैन । सहज र सरल तरिकाले डायलासिस नहुँदा पीडितहरु निकै मारमा परेका छन् ।
अहिलेपनि पहुँचको भरमा डायलासिस हुँदै आएको छ । मीर्गौला पीडित सविन श्रेष्ठले भने, ‘पहुँच हुनेले डायलासिस गराउँछन् । नहुनेले पाउँदैन ।’ अहिले पनि डायलासिस कहाँ-कहाँबाट गराउँछन् भन्ने आम नागरिक बेखवर छन् । सरकारी अस्पतालमा डायलासिस मेसिनले एकजनालाई मात्र सेवा दिने गरेको छ भने सोही मेसिनले निजी अस्पतालमा ३ जनासम्मलाई सेवा दिने गरेको पाइएको छ ।
कतिले गर्छन् डायलासिस ?
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालबाट गत वर्ष ५ हजार ७ सय ९७ जनाको डायलासिस सेवा लिएका थिए । जसअन्तर्गत् प्रदेश १ मा ९०६, प्रदेश २ मा ४५३, बागमती प्रदेशमा २६ सय ५, गण्डकी प्रदेशमा ४७०, लुम्बिनी प्रदेशमा ११ सय ४६, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १७० जनाले डायलासिस सेवा लिएका हुन्।
कहाँ कहाँ हुन्छ डायलासिस ?
हाल देशभरका ४९६ वटा हेमोडायलासिस उपकरण छन् । जसअन्तर्गत प्रदेश १ मा ५७, प्रदेश २ मा ३५, बागमती प्रदेशमा २७०, गण्डकी प्रदेशमा ५८, लुम्बिनी प्रदेशमा ६८, कर्णाली प्रदेशमा ३, सुदूरपश्चिममा ५ वटा उपकरण रहेका छन् ।
बजेट कति छ ?
आर्थिक वर्ष २०७८/०७९ मा हेमोडायलासिस सेवाको लागि ४२ करोड बजेट बिनीयोजन गरिएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ९८ करोड ९५ लाख ४३ हजार ३५८ रुपैयाँ उपलब्ध गराइएको थियो । सरकारले ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार मिर्गौला रोगको रोकथामका लागि सरकारले ४० वर्षभन्दा माथिका व्यक्तिको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच गर्ने व्यवस्था गरिएको छ।
जनशक्ति के छ ?
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर झण्डै ४० जना नेफ्रोलोजिष्ट छन् । जबकी बर्षेनि ३ हजार नागरिकको मिर्गौला फेल हुने तथ्याकंले देखाउँछ । जनशक्ति कम हुँदा पनि मिर्गौलाको डायलासिस र प्रत्यारोपण गर्नेहरु निकै मारमा परेका छन् ।
नेपालमा हाल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र गरी तीनवटा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएपनि प्रभावकारी बन्न सकेको छैन ।
यस्तै, निजीस्तरमा सुमेरु अस्पताल, ग्राण्डी अस्पताल, चितवनको कलेज अफ मेडिकल साइन्स अस्पताल र विराटनगरको नोबेल शिक्षण अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण हुन्छ । संसदीय समितिले डायलासिस गर्ने मेसिनको संख्या बढाउन निर्देशन दिएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले नेपालमा नेफोलोजिष्टको दरबन्दी संख्या कम भएकोले समय सापेक्ष वृद्धि गर्न निर्देशन दिएकी छन्।