शोधनान्तर फेरि घाटामा

शोधनान्तर फेरि घाटामा

काठमाडौं : मुलुक भित्रिनेभन्दा बाहिरिने विदेशी मुद्रा बढी हुँदा शोधनान्तर फेरि घाटामा गएको छ।

विदेशी मुद्राको मुख्य स्रोत विप्रेषण घट्दा र आयात अत्यधिक बढेकाले शोधनान्तर घाटामा पुगेको हो।  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना (साउन) मा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा छ। अमेरिकी डलरमा ३२ करोड ५५ लाख रुपैयाँले घाटामा गएको हो। गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा थियो। यसअघि गत आवको जेठमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा थियो। तर असारमा भने १ अर्ब २३ करोडले बचतमा गएको थियो। 

चालू खाता पनि ४७ अर्ब ९० करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २४ अर्ब ८९ करोडले बचतमा थियो।  नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ पर्यटनबाट आम्दानी नभएको अवस्थामा विप्रेषण पनि घटेकाले शोधनान्तर घाटामा गएको बताए। आयात उच्च भएकाले पनि शोधनान्तर घाटामा गएको छ। ‘मुलुकमा परनिर्भर बढ्दै गएकाले अब स्वदेशी उत्पादनमा जोड दिनुपर्छ’ उनले भने,‘ आयात नियन्त्रण गर्नु उत्पादनमा महŒव दिनै पर्छ।’ 

उच्च आयातको तुलनामा निर्यात कम हुँदा व्यापारघाटा बढेको छ। चालू आवको पहिलो महिनामा कुल वस्तु व्यापारघाटा ७०.६ प्रतिशतले वृद्धि भई १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो। 

चालू आवको साउनसम्म आयात ७५.७ प्रतिशतले वृद्धि भई १ खर्ब ५० अर्ब ७३ करोड पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो।  पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयबिन तेल, एमएस बिलेट, सुनलगायतका वस्तुको आयात बढेको छ। तर  रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोसाकलगायतका वस्तुको आयात घटेको छ।  

पहिलो महिनामा ११५.९ प्रतिशतले निर्यात वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो।  सोयाविन तेल, पाम तेल, धागो (पोलिस्टर तथा अन्य), जुस, पिनालगायतका वस्तुको निर्यात बढेको छ । तर अलंैची, आयुर्वेदिक औषधि, जडीबुटी, तार, तयारी छालाका समानलगायतका वस्तुको निर्यात घटेको छ।

सामान्यतया दसैं नजिकिएपछि विप्रेषण (रेमिट्यान्स) बढ्ने गर्दथ्यो। तर चालू आवको साउनमा विप्रेषण ७५ अर्ब ९६ करोड मात्रै भित्रिएको छ। यो गत वर्षभन्दा १८.१ प्रतिशतले कम हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो।  विप्रेषणसँगै नेपालमा हुने वैदेशिक लगानी पनि घटेको छ। यस्तो लगानी साउनमा ६५.५ प्रतिशतले घटेर ४८ करोड ६ लाख कायम भएको छ।  मुलुक भित्रिने रकममा कमी आउँदा विदेशी विनिमय सञ्चितिमा समेत प्रभाव परेको छ। गत असारको तुलनामा साउनमै यस्तो सञ्चिति ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड कायम भएको छ। 

अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ४२ करोड छ। गत असारसम्म १३ खर्ब ९९ अर्ब ३ करोड थियो। विदेशी विनिमय सञ्चिति ९.३ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ। बजारमा तरकारी, तेल, गेडागुडीको मूल्य बढेको छ। राष्ट्र बैंकको गत साउनको तथ्यांकले पनि उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) बढेर ४.३५ प्रतिशत पुगेको देखाएको छ। गत वर्षको सोही महिनामा ३.४९ प्रतिशत थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.