जग्गाको लालपुर्जा बुझाएपछि मृतकका आफन्त छुटे
विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा लालपुर्जा बुझाएर एक दलित युवाको शव आफन्तले बुझेका छन् । निको हुन्छ भन्दै भर्ना गराएका बिरामीको मृत्यु भएपछि दुई दिनदेखि विराटनगर महानगरपालिका १२ मलहनमाका ३० वर्षीय विनोद रिसिदेवको शव बन्धक बनाएको थियो।
सामान्य अवस्थामा रहेका रिसिदेवलाई ज्वरो र सुख्खा खोकी लागेको थियो। विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका उनलाई नोबेल अस्पतालमा भर्ना गराउन कोशी अस्पतालका चिकित्सकले सुझाव दिएपछि त्यहाँ लगिएको थियो।
नोबेलमा भर्ना गरेलगतै त्यहाँका चिकित्सकले सामान्य अवस्थामा रहेको भन्दै आकस्मिक वार्डमा भर्ना गराएको केहि घण्टामा आइसीयुमा भर्ना गरेको मृतककी श्रीमति जायमन्ती सिरिदेवले बताइन्।
उनका अनुसार नोबेलमा भर्ना गर्दा चिकित्सले तत्काल उपचार सुरु गरे निको हुने भनेका थिए। तर, पछि चिकित्सकले मृत्यु भएपनि उपचारको नाममा औषधि किन्न लगाएको उनले बताइन्।
आइतबार बिहान ८ बजे नै श्रीमान राम्रो छ भन्दै चिकित्सकले सुप र औषधि किनेर ल्याउन भनेको उनले बताइन्। उनले सुप र औषधि किनेर ल्याएपछि खुवाउन जाँदा चिकित्सकले बाहिर जानुस् हामी खुवाइदिन्छौं भन्दै बाहिर निकालेका थिए।
तर, केहि घण्टामा नै अविभावकलाई बोलाउनु भन्दै घर पठाए। मृत्यु भएपछि पनि आफूलाई श्रीमानलाई खुवाउन औषधि र सुप किन्न लगाएको उनले बताइन्। अविभावकलाई लिएर आउँदा अस्पतालको बिल तिर्नु नत्र शव बाहिर नै फाल्ने भन्दै अस्पतालले धम्की दिएको उनले बताइन्। बिहान सुप खुवाउने भनेर किन्न लगाउने तर केहि घन्टामै मृत्यु भएको उनले बताइन्। उनले सो घटनाको छानबिन गरिनुपर्ने माग गरेकी छन्।
अस्पतालले १ लाख २० हजार रुपैयाँ मागेको उनले बताइन्। सूरुमा आफूसँग भएको पैसा बुझाउँदा निको नहुने भए घर लैजान्छु भन्दा चिकित्सकले सबै राम्रो छ भन्दै पैसा लिन गर्थे।
ऐलानीमा बस्ने रिसिदेवको उपचारमा स्थानीयले चन्दा दिनुको साथै उनको घरमा भएको सबै गाईवस्तु र सरसमान समेत बिक्री भइसकेको नेपाल राष्ट्रिय मुसहर संघका मोरङ अध्यक्ष जितेन्द्र रिसिदेवले जानकारी दिए।
औषधि पसलेले दूधे बालकसहित तीनजनालाई बन्धक बनाएका हुन्। बिनोद रिसिदेवको मृत्यु भएपछि उनको उपचारमा औषधि दिएका साई राम फार्मेसीले मृतकका श्रीमतिसहित ८ महिनाका दूधे बालक र एक वुद्धलाई अस्पतालमा बन्धन बनाइएको थियो। पछि जग्गाको लालपुर्जा लिएर छोडेको हो।
सो फार्मेसीले रिसिदेवको उपचारका लागि दिएको एकलाख बराबरको औषधिको रकम नदिएको अवस्थामा रिसिदेवको मृत्युपछि उनकी श्रीमति जायन्ती रिसिदेव, ८ महिने दुधेबालिका सन्ध्यासहित ६० वर्षीय सुनसरीकी सासू महावती रिसिदेवलाई फार्मेसीका सञ्चालकाले केही युवा लगाएर बन्धक बनाएको थियो।