समान व्यवहार
एक पटक एउटा स्याललाई बाघले लखेट्न थाल्यो। स्याल भाग्दैभाग्दै एउटा गुफामा सुटुक्क पस्यो। बाघले खोज्दै जाँदा पनि भेटेन। बाघ यताउता खोज्न थालेछ तर, कतै पनि देखेन। तर, पनि उसले स्याललाई खोज्न छाडेन।
उता गुफामा पसेको स्याल भने गुफाभित्र बसेर आफ्नो शरीरलाई नियाल्दै सोच्न थालेछ। ‘मेरो आँखाले गर्दा मैले संसारलाई देख्ने गर्छु। मेरो नाकले गर्दा म जनावरहरू कहाँ लुकेका छन् भनेर सुँघेर पत्ता लगाउन पनि सक्छु। मुखले गर्दा खान सकेको छु। कानले सुन्न सकेको छु। खुट्टाले म हिँड्डुल गरेर आफ्नो लागि खानाको जोहो गर्न सक्छु र खोजेर खान्छु।’
त्यसपछि उसको नजर आफ्नो पुच्छरमा पर्यो। अनि उसले सोच्न थाल्यो, ‘यो पुच्छरले केही काम गर्दैन। न यसले मेरो लागि कुनै सिकार गर्न सहयोग गर्छ। न त कुनै काम गर्न नै सहयोग गर्छ। खाली हल्ली मात्र रहन्छ, ताई न तुई बेकारमा मेरो शरीरमा राखिएको मात्रै छ यो।’ यति सोचिसकेपछि उसले निर्णय लियो कि म आफ्नो आँखा, नाक, कान, मुख, खुट्टाहरू सबैलाई आफ्नो ज्यान दाउमा राखेरै भए पनि बचाएर राख्नेछु तर, यो कामै नदिने र काम नलाग्ने पुच्छरलाई किन बचाउने ?’ यति
स्याललाई खोज्दै गरेको बाघले त्यो स्यालको पुच्छरलाई देख्यो। त्यही पुच्छरलाई जोडजोडका साथ तान्दै बाघले त्यो स्याललाई गुफा बाहिर निकाल्यो र अनि मीठो मान्दै खान थाल्यो। आखिर स्यालले सम्झेको त्यो काम नदिने पुच्छरकै कारण पूरै शरीर गुम्यो।
नैतिक शिक्षा : हामी जन्मँदा शरीरमा जे जे लिएर आएका छौं, ती सबै काम लाग्ने वस्तु हुन्। सबैको आ–आफ्नो ठाउँमा महत्वपूर्ण स्थान छ। कुनै पनि शरीरका अंगको महत्व कम र धेरै छैन। यस्तै हामीलाई कहिलेकाहीँ लाग्न सक्छ र सोच्छौँ यो मान्छे हामीलाई के काम होला र ? तर, त्यस्तो नसोच्नुहोस्। किनकि कुनै पनि दिन उसको पनि हाम्रा लागि महत्वपूर्ण काम आउँछ। त्यसैले सबैलाई समान व्यवहार गरौं।
प्रतिक्रिया दिनुहोस !