गुल्मीको रेसुङ्गा र मदानेमा विश्वमै दुर्लभ प्रजातिका चरा फेला
गुल्मी : जिल्लाको रेसुङ्गा र मदानेको संरक्षित वन क्षेत्रमा विश्वमै दुर्लभ प्रजातिका चरा फेला परेका छन् । नेपाल पंक्षी संरक्षण संघ गुल्मीले गरेको चराको अध्ययनमा उक्त प्रजातिका चरा भेटिएका हुन् ।
संरक्षित वन क्षेत्रमा गरिएको अध्ययनमा रेसुङ्गा क्षेत्रमा २ सय ५३ वटा र मदाने क्षेत्रमा २ सय ६४ प्रजातिका चरा फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका अधिकृत भरत पन्थीले जानकारी दिए । नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये ३५ प्रतिशत चरा उक्त स्थानमा फेला परेको जनाइएको छ । मंगलबार सदरमुकाम तमघासमा आयोजित रेसुङ्गा र मदानेमा पाइने चराको पुस्तक विमोचन कार्यक्रममा विभिन्न प्रजातिका चरा फेला पारेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।
पन्थीका अनुसार विश्वमै लोप हुँदै गएका चरा उक्त क्षेत्रमा भेटिएका हुन् । विश्वमै दुर्लभ प्रजातिका चरामध्ये चीर कालिज, सुन गिद्ध, सेतो गिद्ध, दंगर गिद्ध, गोमायु महाचिल, रणमत्त महाचिल रेसुङ्गा र मदाने वन क्षेत्रमा फेला परेका छन् । रेसुङ्गा र मदाने क्षेत्रमा फेला परेका चरामध्ये ३ सय ५ प्रजातिका चरा फरक छन् भने अन्य प्रजातिका चरा दुवै क्षेत्रमा भेटिएका हुन् । नेपालमा मात्रै पाइने काँडे भ्याकुर उक्त स्थानमा पनि फेला परेको पन्थीले जानकारी दिए ।
नेपालमा संरक्षित पंक्षी ९ वटा रहेकोमा रेसुङ्गा र मदानेमा ३ वटा संरक्षित पंक्षी फेला परेका छन् । जसमध्ये चीर कालिज, कालो गरुण र सेतो गरुण फेला परेका हुन् । नेपाल पंक्षी संरक्षण संघ गुल्मीले विगत ५ वर्षदेखि गरेको चराको अध्ययन अनुसार जिल्लाका विभिन्न वन क्षेत्रमा अनुसन्धान बढाउन सके अझ धेरै प्रजातिका चरा भेटिने उल्लेख गरिएको छ ।
वन क्षेत्रमा हुने आगलागी, पहिरो र अन्य कारणले चराको वासस्थानमा परिवर्तन देखिएको अध्ययनमा सहभागीको भनाइ छ ।