प्रविधिसँग घुलमिल ज्येष्ठ पुस्ता
काठमाडौं : विराटनगर मुनालपथकी ८१ वर्षीया मनमाया कोइरालासँग मोबाइल छ। छोराछोरी र नातिनातिनाहरूले फोन उठाउन सिकाएका छन्। घण्टी आएपछि मोबाइल फोन उठाउंँछिन्। तर, कसैलाई फोन गर्नुपर्यो भने ‘डायल’ गर्न जान्दिनन्।
उनले सामान्य शिक्षासमेत लिएकी छैनन्। त्यसैले अक्षर चिन्दिनन् तर पैसाको कारोबारमा भने खप्पिस छिन्। परिवारले राष्ट्रिय वाणिज्य बैंकमा खाता पनि खोलिदिएका छन्। वृद्धाभत्ता लिन बैंकमा खाता खोलिएको उनले बताइन्।
‘आफूले केही जान्दिन। टाठोबाठो मान्छे नभए कागजात बनाउन सकिँदैन,’ उनले भनिन्, ‘यसैले खाता खोल्न परिवारको सहायता लिएँ। उबेलामा घरकी एउटी छोरी, सबैकी प्यारी थिएँ। पढाउने चलन थिएन।’
७ वर्षकै उमेरमा उनको विवाह भएको थियो। त्यसकारण घरव्यवहारमै सीमित भइन्। ५७ वर्षमा पति बिते, एकल जीवन बिताउनुपर्यो। त्यति बेला पतिले नागरिकता नबनाई दिएका कारण एकल भत्ता बुझ्न नपाएको उनले सुनाइन्। नागरिकता बनाउन गाउँका टाठाबाठाको सहायता लिएको बताउँछिन्। आफू निरक्षर भएपछि परनिर्भर हुनुपरेको उनको गुनासो छ।
प्रौढ शिक्षा लिएपछि सामान्य अक्षर चिनेकी ७२ वर्षीया मोहनकुमारी बस्नेत भने केही हदसम्म मोबाइल चलाउन जान्छिन्। उनको घर अर्घाखाँची हो। हाल काठमाडौंमा बस्ने गरेकी छिन्। नातिहरूले उनको मोबाइलमा नेपाली अक्षरमा सम्पर्क नम्बर सेफ गरिदिएका छन्। नेपालीमा भएका सम्पर्क नम्बर हेरेर फोन गर्नसमेत सक्छिन्।
तर, यसबाहेकका मोबाइल भित्रका अन्य काम भने गर्न नआउने बताउँछिन्। साधारण अक्षर चिन्ने भए पनि वृद्धाभत्ताका लागि बैंकमा खाता खोल्दा औंठाछापकै प्रयोग गरिन्। उनको खाताखोल्न बुहारीले सहयोग गरेकी थिइन। औंठाछापलाई एटीएम कार्ड नदिने भनेपछि हरेक त्रैमासमा बैंक नै धाउनुपर्ने उनले सुनाइन्।
स्वास्थ्य बिमाको कार्ड उनले ३ वर्षअघि लिएकी थिइन्। उपचार गर्न अस्पताल जाँदा आवश्यक खर्च सोही कार्डबाट प्रयोग गर्ने गरेकी छन्। यसबाट राहत मिलेको उनले सुनाइन्।
‘बिमा कार्ड थियो, तर मलाई सुविधा पाउने थाहा थिएन, उनले भनिन्, ‘पछि बुहारीले भनेर उसैले सबै काम गरिदिई। आफूले नजानेपछि जानेकासँग सहयोग लिनैपर्यो।’ अधिकांश ज्येष्ठ नागरिक आधुनिक प्रविधिसँग परिचित छैनन्। तर, घुलमिल हुने प्रयत्न गरिरहेका छन्।
केन्द्रीय तथ्यांक विभागले २०७८ मा ११ लाख १० हजार ज्येष्ठ नागरिक रहेको प्रक्षेपण गरेको छ। साक्षरभन्दा निरक्षरको दर बढी छ। विभागले २०६८ मा गरेको जनगणनाका आधारमा ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहको साक्षरदर २६.२ प्रतिशत मात्रै छ। यस्तै, ६५ वर्षमाथिको साक्षरता दर २०.८ प्रतिशत छ। यसबाहेक १० वर्ष अघिका उक्त उमेर समूहका व्यक्तिहरू अहिले ज्येष्ठ नागरिक बनिसकेका छन्।
जनगणनालाई आधार मान्दा ज्येष्ठ नागरिकको औसत साक्षरतादर २३.५ प्रतिशत देखिन्छ। बाँकी निरक्षर रहेको यसबाट पुष्टि हुन्छ। यसर्थ, निरक्षरको संख्या बढी भएकाले जतिसुकै नयाँ प्रविधि भित्रिए पनि उनीहरूले यसको सुविधा पाउन सकेका छैनन्। अहिले मोबाइल नहुने व्यक्ति कमै छन्। प्रायःज्येष्ठ नागरिकहरूले स्मार्ट फोनभन्दा साधारण मोबाइल प्रयोग गरेको पाइन्छ। विश्वले प्रविधिमा फड्को मारेको छ। नेपालमा पनि नयाँ–नयाँ प्रविधिका मोबाइल, कम्प्युटर लगायतका विद्युतीय सामग्रीहरू भित्रिएका छन्। ज्येष्ठ नागरिक भने आफ्ना पालामा त्यस्ता प्रविधि नभएकाले सामान्य रूपमै घुलमिल हुने कोसिसमा रहेको बताउँछन्।