क्वारेन्टाइनका नाममा मनपरी शुल्क असुल्दै होटल
काठमाडौं : के तपाई कुनै देशबाट कोरोना भाइरस विरुद्धको खोप नलगाई अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल प्रवेश गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नैपर्ने प्रावधान छ।
सुरुमै होटल बुक गर्नुभएन भने नेपाल छिर्न पाउनुहुन्न। तर, सुचीकृत होटलहरु व्यवस्थित र मापदण्डअनुसार नहुँदा विदेशबाट नेपाल फर्किएकाहरुले दुःख व्यहोर्नुपरेको छ।
‘ठमेलस्थित एक होटलमा बसेको तीन दिन भइसक्यो’, रुसबाट गत असोज १४ गते नेपाल फर्किएका संगम रावतले गुनासो गरे, ‘१० दिन क्वारेन्टाइन बस्दा पनि होटलले परीक्षण नगर्ने भनेपछि आफैं कोरोना परीक्षण गर्न बाध्य भएँ।’
उनले क्वारेन्टाइनको नाममा ग्राहकलाई महंगो शुल्क तिर्न बाध्य बनाउने गरेको सुनाए। उनले भने,‘ एकदिनको खानाबाहेक रु. १५६० लिन्छन्। रकमअनुसार होटलले दिनुपर्ने सुविधा दिएको छैन।’
जापानबाट नेपाल फर्किएका अशोक रेग्मीले खोप नलगाइ नेपाल फर्किएकालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै खोपको व्यवस्था भइदिएको भए सजिलो हुने बताए। उनले भने,‘आउँदा होटल बुक गर्नुपर्ने, महगों भएपनि बस्नैपर्ने रैछ। होटलले आफ्नो स्वास्थ्य अवस्थाबारे केहि मतलब पनि गर्ने रहेछन्।’ अधिकांश होटल क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा विदेशबाट नेपाल फर्किएका यात्रुहरु मारमा परेका छन्।
अन्तर्राष्ट्रिय हवाईयात्रुको होटल क्वारेन्टाइन सम्बन्धी मापदण्ड २०७८ अनुसार होटल क्वारेन्टाइनमा रहने अतिथिहरूको स्वाब परीक्षणको नमूना संकलनका लागि आवश्यक खुला ठाउँ भएको हुनुपर्छ। होटलको कोठामा स्यनिटाइजर, टिभी, वाइफाइ, अट्याच ट्वाइलेट बाथरूम र नुहाउन तथा पिउन तातोपानीको व्यवस्था अनिवार्य रुपमा भएको हुनुपर्ने उल्लेख छ। मापदण्डमा प्रत्येक कोठामा कम्तिमा एउटा झ्याल र भेन्टिलेसनको व्यवस्था भएको हुनुपर्ने भनिएको छ।
प्रति व्यक्ति प्रति दिन करसहित अधिकतम १५०० रुपैंयाँमा ब्रेक फास्ट, लन्च र डिनरसहित खाने-बस्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ। स्ट्याण्डर्ड क्वारेन्टाइन होटलको रूपमा सूचीकृत भएका होटलको हकमा निर्धारित मापदण्डको पालना गरी होटल पोलिसीअनुसार मुल्य कायम हुनेछ। यस्ता होटलले आफ्नो दर रेटसहित पर्यटन विभागमार्फत सि.सि.एम.सी.मा सूचिकरण गराउनुपर्नेछ। क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्थाबारे सम्बन्धित होटलबाट नियमित सोधपुछ गरी कुनै समस्या देखिएमा सो को जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निशुल्क कल सेन्टर ११३३/१११५ मा गराउनुपर्ने भनिएको छ।
क्वारेन्टाइनमा बसेको अवस्थामा कुनै व्यक्ति बिना सूचना भागेमा सम्बन्धित होटलले सि.सि.एम.सि.को निशुल्क कल सेन्टर ११४० र नेपाल प्रहरीको १०० मा अनिवार्य रुपमा तत्काल जानकारी गराउनुपर्ने उल्लेख छ।
सरकारले ती होटलहरुको अनुगमन गर्न सकेका छैनन्। स्वास्थ्य मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीले स्वास्थ्य क्षेत्रमा अनुगमन पर्याप्त नभएको स्विकारे।
दशैं र तिहारबाट नेपाल आउनेहरुका लागि अध्यागमन विभागले कोरोनाविरुद्ध खोप नलगाए १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने जनाएको छ। ७२ घण्टाको पीसीआर र पूर्ण डोजको खोप अनिवार्य हुनुपर्ने भनिएको छ। नेपाल आउने यात्रुहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो व्यवस्था अनुसार स्वदेशी तथा विदेशी जो कोही आगन्तुकले नेपाल प्रवेश गर्न ७२ घण्टा भित्रको पीसीआर रिर्पोट र पूर्ण डोजको खोप लगाएको प्रमाण ल्याउनुपर्नेहुन्छ। स्वास्थ्य मन्त्रालयको तथ्याकं अनुसार देशभर २४२ जना क्वारेन्टाइनमा छन्।
प्रतिक्रिया दिनुहोस !