फार्मेसीले जग्गाको लालपूर्जा लिएर मात्रै शव दियो : तमसुक कागज बनाउन दवाव
विराटनगर : जग्गाको लालपूर्जा लिएर शव छोडेका फार्मेसीका सञ्चालकले शोकमा रहेका परिवारलाई छिटो पैसा तिर्नका लागि तमसुक कागज गर्न दवाव दिएका छन्।
केही दिनअघि विराटनगर स्थित नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका १२ मलहनमाका ३० वर्षीय बिनोद रिसिदेवको मृत्यु भएको थियो। रिसिदेवको मृत्यु भएपछि दुई दिनसम्म अस्पतालले शव बन्धक बनाएको थियो। अस्पताले शव जिम्मा लगाए पनि उपचारको क्रममा औषधी दिएका साईराम फार्मेसीले मृतकका परिवारसँग जग्गाको लालपूर्जा लिएर मात्रै शव दिएको थियो। फार्मेसी सञ्चालकले पटक-पटक फोन गरेर पैसा तिर्न आफूलाई तमसुक कागज बनाउन दवाव दिन थालेको मृत्कका श्रीमती जायमन्ती रिसिदेवले जानकारी दिइन्।
उनले फार्मेसीमा काम गर्ने तीन जनाले पालै पालो फोन गरेर पैसा माग्नुको साथै कागजात गर्न दवाव दिने गरेको बताइन्। अहिले किरिया खर्च जुटाउन समस्या रहेको बेलामा पैसा खोजेर दिने भने पनि फार्मेसीका कर्मचारीले फोन गरेर मानसिक तनाव दिने गरेको उनले बताइन्। 'किरियामा बसेका १२ वर्षीय छोरा आनन्द रिसिदेवलाई खुवाउन नै समस्या छ', उनले भनिन्, ‘अब त कसैले रिन दिन पनि मान्दैनन्।'
५ वर्षीय छोरी सोनम र ८ महिनाकी संध्यालाई कसरी पाल्ने चिन्ताले पिरलिएको अवस्थामा आफूले औषधी पैसा तिर्न नसक्ने उनले बताइन्। एक दुधे बच्चासहित तीन सन्तान रहेकाले मजदुरी गर्न जान सक्ने अवस्था छैन। उनले भनिन्, ‘व्यवसाय गरेर पैसा तिर्ने भने पनि विश्वास गर्देनन्।'
समान्य अवस्थामा रहेको रिसिदेवलाई ज्वरो र सुख्खा खोकी लागेको थियो। विराटनगर स्थित कोशी अस्पतालमा भर्ना भएका उनलाई कोशी अस्पतालका चिकित्सकले नोबेलमा भर्ना गराउन सुझाव दिएपछि त्यहाँ लगिएको थियो। नोबेलमा भर्ना गरेलगत्तै त्यहाँका चिकित्सकले समान्य अवस्थामा रहेको भन्दै आकस्मिक वार्डमा भर्ना गराएको केही घण्टामा आइसियुमा भर्ना गरेको मृतककी श्रीमती जायमन्ती सिरिदेवले बताइन्।
उनका अनुसार नोवेलमा भर्ना गर्दा चिकित्सले तत्काल उपचार सुरु गरे निको हुने भनेका थिए। उपचार गराउन सुरु गरे पनि चिकित्सकले मृत्यु भएपश्चात उपचारको नाममा औषधी किन्न लगाएको उनको आरोप छ। गत आइतबार बिहान ८ बजे नै श्रीमान राम्रो छ भन्दै चिकित्सकले सुप र औषधी किनेर ल्याउन लगाएको उनले बताइन्। उनले सुप र औषधी किनेर ल्याएपछि खुवाउन जाँदा चिकित्सकले बाहिर जानुहोस् हामी खुवाइदिन्छौं भन्दै बाहिर निकालेको उनको भनाइ छ। त्यसको केही घण्टामा नै अविभावकलाई बोलाउनु भन्दै घर पठाएको उनले बताइन्।
मृत्यु भएपछि पनि श्रीमानलाई खुवाउन औषधी र सुप किन्न लगाएको उनको आरोप छ। ऐलानीमा बस्ने रिसिदेवको उपचारमा स्थानीयले चन्दा दिनुको साथै उनको घरमा भएका सबै गाईवस्तु र सरसमान समेत बिक्री गरिसकेका छन्। एक लाख बराबरको औषधी सो फार्मेसीले दिएको थियो। मृत्यु भएपछि फार्मेसीले दुधेबालक सहित तीन जनालाई अस्पताल प्रशासनको सहयोगमा बन्धक बनाएर जग्गाको लालपुर्जा लिएर छोडेको थियो।
नोबेल अस्पताल पछाडिको १२ धुर जग्गाको लालपुर्जा र नागरिकता दिएपछि राती घर जान दिएको थियो। सो जग्गा आफन्तको रहेको बताइएको छ।