'नैतिकता र अविभेदपूर्ण व्यवहार नै मानवअधिकार' : थापा
स्याङ्जा : राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाले नैतिकता र अविभेदपूर्ण प्रणालीबाट नै मानवअधिकार रहेको बताइन्। गर्भदेखि मृत्युपर्यन्त अधिकारको संरक्षण नै मानवअधिकार रहेकोमा उनले जोड दिईन्।
राष्ट्रिय मानव अधिकार आयोगद्धारा पुतलीबजार नगरपालिकामा आइतबार आयोजित मानवअधिकार कार्ययोजना तथा मानवअधिकारको अवस्था बिषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दे उनले मानवअधिकारका ठूल्ठूला सिद्धान्तिक कुरा गरेर मात्र नभई नैतिक आचरणले मानवअधिकारको रक्षा हुने बताएकी हुन्।
‘वर्षौं पहिले बुद्धले बुद्ध दर्शनमार्फत सिकाएका नैतिकताका पाठलाई आज फेरि अन्य देशका मानिसले यो-यो गर, उसो गर भनेर सिकाउनु दुखद हो।’ उनले भनिन्, ‘बुद्ध दर्शनका केही कुरा अपनाउन सक्यौं भने विदेशीले हामीबाट सिक्नेछन्। यहाँ सिक्न आउनेछन्।’
हाम्रो राज्यले अर्काले भनिसकेपछि यो यो गर भनेर भनेपछि गर्ने परिपाटीले व्यक्तिगत रुपमा आफुलाई आत्मग्लानी हुने उनले बताईन्। थापाले भनिन्, ‘मानवअधिकार त्यतीबेला प्रत्याभूति हुन्छ जतिबेला सबैले आ आफना पहिचान खुलेर पाउछन्। महिला, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमताका व्यक्तिका पहिचान र अवसर समान हुनेछन्।’
जिल्लामा एउटा पनि सेभ हाउस नहुनु दुखद रहेको उनको भनाई छ। उनले भनिन्, ‘महिला मेयर भएको नगरपालिकामा धेरै महिला अधिकारका कुरा भए होलान भनेर सोचेकी थिएँ। तर, ती कमी पाएँ।’ मानवअधिकारवादी हामी सबै भएको बताउदै सबैको सहयोग, सहकार्य, एकता र नैतिकताले मात्र मानवअधिकारको रक्षा हुने उनको भनाई छ।
कार्यक्रममा कार्यवाहक नगरप्रमुख ओमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेल, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम नेपाल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले मानवअधिकार र जिल्लाका अवस्थाका बारेमा जानकारी गराएका थिए।
यसैगरी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, अधिवक्ता द्धय तुलसी गिरी र युगनारायण श्रेष्ठ, प्राध्यापक सोमनाथ लम्साल, योजना तथा प्रशासकिय अधिकृत ताराचन्द्र ढकाल, नगर कार्यपालिका सदस्य तीला रेग्मी, अपांग समाज स्याङ्जाका अध्यक्ष युवराज पराजुली, पत्रकार रोशन लामिछाने लगायतले मानव अधिकार आयोगका काम कारवाही प्रति राज्य पक्षको कार्यान्वयनको पक्षको फितलोपनका बारेमा जिज्ञासा सोधे।
मानव अधिकार आयोग गण्डकी प्रादेशिक प्रमुख चन्द्रकान्त चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवद्र्धन वकालत महाशाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले चालु पाँचौ राष्ट्रिय कार्ययोजनाका बारेमा कार्यपत्र प्रस्तुत गरे भने कार्यक्रमको सहजीकरण आयोगका अधिकृत टंक खनालले गरेका थिए।
महिला तथा बालबालिकामा शारिरीक एवं मानसिक हिंसा बढ्नुका साथै आत्महत्याका दर अत्याधिक रहेको जनाउदै प्रहरी प्रमुख बोगटीले जिल्लामा एउटा ‘सेफ हाउस’ अत्यावश्यक रहेको तथ्यगत सूचना सहित सुझाव दिए।