दोहोरो नागरिकताको मुद्दा नचलाउन सप्तरी प्रहरीलाई राजनीतिक दवाब
विराटनगर : राजनीति दवाबका कारण प्रतिबन्धित लागुऔषध खैरो हेरोइनको कारोवार गर्ने भारतीय नागरिक राजकुमार सिंहलाई दोहोरो नागरिकताको मुद्दा नचलाउन दवाब परेको छ। सप्तरी प्रहरीले दोहरो नागरिकता लिएको प्रमाण संकलन गरेर मुद्दा चलाउन लाग्दा राजनीतिक दवाबको कारण मुद्दा अघि बढ्न नसकेको हो।
सुनसरीको धरानमा खैरो हेरोइनसहित पक्राउ परेका सिंहमाथि दोहोरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले फेला पारेर अनुसन्धान गरी मुद्दा चलाउन असार १३ गते नै सुनसरी जिल्ला अदालतबाट बयानको लागि सप्तरी ल्याउन अनुमति लिएको थियो।
अनुमति लिएको तीन महिना बितिसक्दा समेत प्रहरीले सिङलाई नागरिकता सम्बन्धी मुद्दा चलाउन बयानको लागि सप्तरी ल्याउन नसकेको हो।
प्रहरी स्रोतका अनुसार दोहोरो नागरिकता मुद्दा चले सिङलाई विदेशी नागरिक सरह लागुऔषधमा बढी कारवाही हुने र तत्काल धरौटीमा रिहा नहुने भएकाले राजनीतिक दवाब दिएर नागरिकताको मुद्दा चलाउन नदिएको हो। सप्तरीका डीएसपी माधवप्रसाद अचार्यले अनुसन्धान गर्दै भएकाले समन्वय गरेर बयानका लागि ल्याउन लागिएको बताए।
गत मंसिर १९ गते सुनसरीको धरानमा ७७ ग्राम खैरो हेरोइनसहित सिङ पक्राउ परेका थिए। सिंह भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको प्रमाण सप्तरी प्रहरीले भारतबाट ल्याएको छ। दोहोरो नागरिकता लिएका सिंह सुनसरीको भण्टावारीकी कांग्रेस नेतृ तारा पौडेलका ज्वाइँ भएकाले कोशी गाउँपालिका प्रमुख अयुव अन्सारीमार्फत कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबाट दवाब दिन लगाएर जोगाउन लागेको प्रहरी स्रोतको भनाइ छ।
मन्त्री कार्की सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन्। कोशी गाउँपालिकाका प्रमुख अयुव अन्सारी मन्त्रीका निकट मानिन्छन्। सिंह सप्तरीको तत्कालीन पकरी गाविस–२ निवासी भनिए पनि उनको नेपाली नागरिकता नै किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको अनुसन्धानमा भारतीय नागरिक रहेको प्रमाण फेला परेको थियो।
सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रसाद सिंह पनि भारत विहारको राज जिरोगा ग्राम पञ्चायत अन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला सप्तरी प्रहरीले पारेको छ।
ग्राम पञ्चायत राज जिरोगाका मुखिया नुतन कुमारीले राजकुमारका नेपाली बुवा पनि भारतीय रहेको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेर दिएकी छन्। ठाकुरप्रसाद भारतीय नागरिक भएको उनका भारतमा दुई छोरा रहेको प्रमाणित गरेर दिएकी छन्।
झुम्का कारागारमा रहेका सिंहको लागुऔषधको मुद्दा उच्च अदालत विराटनगरले पनि जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको छ। सप्तरी प्रहरी स्रोतका अनुसार राजकुमार सिंहको भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुवा बनाएकाले ठाकुरप्रसाद सिंहको नागरिकताको छानबिन सुरु गरेको थियो।
नागरिकताको छानबिन गर्न सप्तरी प्रहरीको एक टोली वीरपुर थाना पुगेर थानका एसएचओ (सिनियर हाउस अफिसर) राजेशकुमार मण्डललाई उनका बारेमा छानबिन गर्न अनुरोध गरेको थियो। भीमनगरस्थित थानाका सब इन्सपेक्टर शत्रुघनप्रसाद साहको नेतृवमा गएको टोलीले उनको गाउँमा पुगेर सोधपुछ गरेको थियो।
सप्तरीका प्रहरी नायब निरीक्षक जयप्रकाश साहको नेतृत्वमा सिंह भारतीय नागरिक भएको प्रमाण जुटाउन वीरपुर पुगेको थियो। राजकुमार सिंह स्वर्गीय रामबालक सिंहको चार छोरामध्ये कान्छो छोरा भएको र भारतमा समेत नागरिक भएको सबै प्रमाण भेटिएको थियो।
सिंह भारतीय नागरिक हुनु र भारतमा पनि उनको आपराधिक पृष्ठभूमि नै रहेको अनुसन्धानबाट खुलेपछि सप्तरी प्रहरीले भारतीय प्रहरीसँग सहयोग मागेको थियो। पक्राउ परेका सिंहको साथबाट बरामद भएको उनको सवारीचालक अनुमति पत्रमा रहेको नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको हो।
नेपाली नागरिकता नम्बर २/०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस वडा नम्बर २ रहेको छ। तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा २/०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीबाट जारी नभएको पाइएपछि प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको हो। सवारी चालक अनुमति पत्रमा ठेगाना तत्कालीन पकरी गाविस–२ सप्तरी रहेपनि उक्त ठाउँमा सिंह थरका एकजना पनि नरहेको स्थानीयको भनाइ छ।
सिङ भारतीय नागरिक भएको पीडिएफ फाइल।