बेलकामा वडा थप गर्ने प्रस्ताव
उदयपुर : उदयपुरको कान्छो नगरपालिका बेलकाले वडा थप गर्ने प्रस्ताव अघि सारेको छ। भौगोलिक कठिनाई र जनसंख्याको मुख्य आधार देखाउँदै नगरपालिकाले मौजुदा वडालाई थप ६ वटा बनाउने प्रस्ताव अघि सारेको हो।
९ वटा वडा रहेको बेलकालाई भौगोलिक क्षेत्र, जनसंख्या, सेवा प्रवाह, विद्यमान विभाजनले सेवाग्राहीलाई पर्न गएको असहजता, वर्गिकृत, भाषिक, सांस्कृतिक तथा समाजिक अवस्थालाई मध्यनजर गरी १५ वटा बनाउने प्रस्ताव अघि सारिएको मेयर दुर्गाकुमार थापाले बताए। उनले भने, ‘वडा कार्यालय र नगरपालिकाको केन्द्रसम्मको पहुँच, सेवासुविधाको हिसावले मौजुदा वडाबाट सेवा प्रवाह, सुशासन, समावेशी विकासका लागि भएको विद्यमान विभाजनले परेको असरलाई कम गर्ने अभिप्रायले थप गर्ने प्रस्ताव नगरसभाको ८ औं अधिवेशनले पारित गरेको हो। उक्त प्रस्ताव १ नम्बर प्रदेश मुख्यमन्त्रीको कार्यालयमा दर्ता भएको र त्यहाँबाट सहमति पत्र आउनसाथ संघीय सरकारमा पठाईने उनले बताए।
वडा विभाजन वा थपघट गर्ने अधिकार स्थानीय र प्रदेश सरकारमा नरहेकाले स्थानीय सरकारको निर्णय र प्रदेशको सहमतिपत्रसहित निर्णयका लागि संघीय सरकारलाई पठाईएको उनले बताए।
मेयर थापाले भने, ‘सबै आधारहरु तयार गरी, विज्ञको सुझावसहित पठाएका छौं, आशा छ स्थानीय सरकारको निर्णयलाई केन्द्रीय सरकारले सुनवाई गर्नेछ। स्थानीय सरकार जनताको घरदैलो मात्र नभई सुख दुःखको सारथी पनि भएकाले जनताको भावनालाई समेटेर नगर अधिवेशनले निर्णय गरेको उनको भनाई छ।
‘सकेसम्म सेवाग्राहीलाई दुःख नहोस, घरपायक पर्ने गरी सुविधा दिनुपर्छ भन्ने अभिप्रायले स्थानीय सरकार गठन भएको हो, मेयर थापाले भने, ‘हिजोकै जस्तै उही भुगोल, उही समस्या भए के का लागि स्थानीय सरकार, त्यसैले जनतालाई सेवाप्रवाहमा सहजरुपले पहुँच पुर्याउन यस्तो निर्णय गरेका हौं।
गत असार १० गतेको अधिवेशनले वडा थप गर्नुको आधार र हालसम्म भएका प्रयास सम्बन्धी विज्ञका सुझावका आधारमा ६७ पृष्ठ लामो प्रतिवेदन पारित गरेको उनले बताए।
नगरपालिकाले मुख्यमन्त्री कार्यालयमा वडा थप गर्नुअघि र पछि कायम गरिने प्रत्येक वडाको सिमा छुट्निे गरी तयार गरिएको नापी कार्यालयमा प्रमाणित गर्न पठाएको पत्र, वडा थप गर्नु पर्ने स्पष्ट कारण र औचित्यको प्रतिवेदन पठाइएको छ।
त्यसैगरी नक्सा, स्थानीय सरकार सञ्चालन ऐनको दफा ५ को उपदफा (३) खण्ड (क) देखि (ङ) सम्मका आधारहरुको पुष्टयाई तथा टुक्रिएर कायम हुने वडाको प्रस्तावित केन्द्र तोकिएको प्रतिवेदन, नगरपालिकाको प्रतिवद्धता पत्रसमे पठाइएको उनले बताए ।
नगरपालिकाले वडा थप गर्ने प्रस्तावका आधारहरुलाई थप पुष्ट्याई गर्न हालको वडागत जनसंख्या र क्षेत्रफल तथा वडा थप पछिको वडागत जनसंख्या र क्षेत्रफल कस्तो रहने र अधिवेशनले पारित गरेको ६७ पृष्ठ लामो प्रतिवेदनले समेटेका बिषयबस्तुका कागजातसमेत पठाईएको उनले बताए ।
५४ हजार १२२ जनसंख्या रहेको नगरपालिकामा १० हजार २२९ घरमा १० हजार ३७३ परिवार बसोबास गर्दै आएका छन्। नेपालको संघीय शासन प्रणालीअन्र्तगत राज्यपुर्नसंरचना हँुदा बेलका नगरपालिका साविकका ४ वटा रामपुरठोक्सिला, तपेश्वरी, मैनामैनी, कटुन्जेववला गाविसलाई मिलाएर २०७३ सालमा उदयपुरको कान्छो नगरपालिका बनाइएको हो।
समुन्द्री सतहदेखि १३६ दशमलव २ मिटरसम्मको उचाइमा रहेको नगरपालिकाको क्षेत्रफल ३४४ वर्ग किलोमिटर छ। त्यसमध्ये १३७ दशमलव ८६ वर्ग किलोमिटर भू–भाग बनजंगल तथा खुल्ला चरण क्षेत्रले ढाकेको छ।
महाभार पर्वत शृंखलासम्म फैलिएको यो नगरपालिका पुर्वमा सुनसरीको वरहाक्षेत्र नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिका, उत्तरमा भोजपुरको हतुवागढी र आम्चोक गाउँपालिका, पश्चिममा उदयपुरकै चौदण्डिगढी नगरपालिका र सप्तरीको सप्तकोसी नगरपालिका र दक्षिणमा सप्तरीकै कञ्चनरुप नगरपालिकाले छोएको छ।