गाउँमा दसैं

गाउँमा दसैं

काठमाडौं : तनहुँकी लक्ष्मी पौडेलको परिवार यसपटक गाउँ गएर दसैं मनाउने तयारीमा छ। गत वर्ष उनका पति कोरोना संक्रमित भए। परिवारमा तनाव भयो। गाउँ जान त परै जाओस्, काठमाडौंमा पनि दसैं मनाउन नपाइएको उनले सुनाइन्। 

‘घरका वृद्ध सासू–ससुरालाई कोरोना सर्ला कि भन्ने डरले गत वर्ष घर गएनौं,’ लक्ष्मीले भनिन्, ‘यसपालि त गाउँ गएर दसैं धुमधामसँग मनाउने सोचेका छौं।’ घरका लागि आवश्यक सरसामान पनि किनमेल गरिसकेको उनले बताइन्। ‘गाउँ जाने भनेपछि छोराछोरी पनि खुसी छन्,’ उनले भनिन्, ‘यसपटक सासू–ससुराकै हातको टीका लगाउने तयारी गरेका छौं।’ गत वर्ष दसैंका बेला पनि लकडाउन थियो। कसैमा उत्साह थिएन। मान्छेहरू घरभित्रै थुनिए। मान्यजनबाट टीका र जमरा थाप्न पनि डराउनुपर्ने अवस्था थियो।

जाजरकोटकी उत्पत्ति घर्तीमगर यसपटक दसंैमा चहलपहल बढेको बताउँछिन्। ‘बजारतिर निस्कँदा भीडभाड नै छ। कोरोना सकिए जस्तो लाग्यो,’ उनले भनिन्। गत वर्ष लकडाउनका कारण निकै मुस्किलले दसैंमा घर पुगे पनि खासै रमाइलो नभएको उनले सुनाइन्। यस वर्ष कोरोना सन्त्रास कायमै रहे पनि लकडाउन हटेको छ। 

गत वर्ष राजधानीमै थुनिएकाहरू पनि यसपटक गाउँ गएर दसैं मनाउने तयारीमा छन्।  कैलाली टीकापुरका विनोद जोशीको बुद्धनगर मटन गल्लीमा होटल व्यवसाय छ। गत वर्ष कोरोनाले दसैंमा पनि व्यवसाय सञ्चालन गर्न पाएनन्। ‘गत वर्ष एकातिर कोरोनोको त्रास। 

अर्कोतिर व्यवसाय ठप्प हुँदा पैसाको अभाव,’ उनले भने, ‘यसपटकको दसैं राम्रो होला जस्तो छ।’ यस वर्ष व्यवसाय पनि चलायमान भएको उनको भनाइ छ। ‘गत वर्ष बसको टिकटै पाउन गाह्रो भयो,’ उनले भने। 

यसपटक भ्याक्सिन लगाएका कारण पनि सहज स्थिति सिर्जना भएको उनको अनुमान छ।  यसपटक भने आफन्त, छरछिमेकी र साथीभाइ मिलेर गाउँमा दसैं मनाउने तयारी भइरहेको उनले बताए। मूलपानी घर भएकी सपना तामाङलाई दसैं लागेको छैन। कोरोनाको कहर केही हटे पनि विगतका वर्षहरूमा जस्तो हर्षोल्लास छैन,’ उनले भनिन्, ‘यतिबेलादेखि बच्चाहरू कति धेरै चङ्गा उडाउँथे, सोह्रश्राद्धबाटै छुट्टै खालको रौनक हुन्थयो नि।’ 

भारतको मटहार श्यामलाल ३० वर्षदेखि काठमाडौं बुद्धनगर बस्दै आएका छन्। उनी ठेलामा तरकारी बेच्छन्। परिवारसँग बस्दै आएका उनलाई नेपालमै दसैं मनाउन रमाइलो लाग्छ। 

तर गत वर्ष रमाइलो नभएको उनको भनाइ छ। उनले भने, ‘कोरोनाले सबै जनामा डर छ।’ गतवर्ष कोरोनाको डरले व्यापारमा कमी आउँदा परिवार पाल्न समस्या भएको उनले बताए। ‘यसपटक मानिसहरू सहज रूपमा बाहिर निस्केर किनमेल गर्ने गरेका छन्,’ उनले भने। 

घर परिवारलाई कोरोना लाग्ला भन्ने डरले गत वर्ष मुलघर स्याङ्जा नगएकी दुर्गा अर्याल यसपटक रमाइला सपना बोकेर घर जाने सपना बुन्दैछिन्। पोखराको लेकसाइड बस्ने अर्याल गत वर्ष स्याङ्जाको गल्याङ नगरपालिका गइनन्। 

आफूबाट वृद्ध सासूससुरा र माइतीमा बुवाआमालाई कोरोना सर्ला कि भन्ने डरले गत वर्ष पोखरामै जेनतेन दसैं मनाएको उनले सुनाइन्। 

अर्याल भन्छिन्, ‘हामी त अलि उमेर भएका छौं, बूढा भएका अर्यालले गत वर्ष पहिलो पटक दसैंमा ठूलाबडाको आर्शिवादबिनाको दसैं मनाउँदा नरमाइलो लागेको सुनाइन्। उनका अनुसार पोखरामा पनि यस पटक दसैंको रौनक बढेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.