पितृलाई पुज्ने ‘यमोसा पर्व’

पितृलाई पुज्ने ‘यमोसा पर्व’

चितवन : सोह्रश्राद्ध सकिने औंसीमा थारु समुदायले ‘यमोसा’ मनाउँछन्। पितृलाई तपर्ण दिने पर्व उनीहरुको लागी महत्वपूर्ण पर्व हो। ‘यमोसा पर्व’लाई पितृऔंसीको रुपमा दुई दिनसम्म धुमधामपूर्वक मनाउछन्। एकवर्ष भित्र दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा यमोसा मनाइन्छ। बुधबार चितवन र नवपुरका थारुहरुले मात्रै यो पर्व मनाउँछन्। 

अघिल्लो दिन खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने अर्थात मछुवारी (माछा मार्ने) गर्छन्। गाउँघरमा खसीबोका काट्ने चलन छ। दोस्रो दिन अर्थात् यमोसाको दिन बिहानै पुरुषहरुले दाभी (सिरु) काटेर करिब एक हात लामो कुचो बनाउँछन्। घरको आगनमा गाईको गोबरले लिपेर पिर्का वा कुर्सीमा सिरुको मुठा राखी पितृ (पहुनी ) स्थापना गर्छन्। पहुनीलाई विभिन्न थरीका फूलहरुले सिंगार्छन्। घाम नलागोस् भनेर छाता पनि ओढाउँछन्।

पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखेर बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गर्छन्। त्यसपछि गच्छेअनुसार नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा (छाकी ) चढाउँछन्। यदि त्यसवर्षमा परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिन बोका काटेर रगत चढाउछन्। ‘सोह्रश्राद्ध भनेजस्तै हाम्रो समुदायमा पितृ पुज्ने पर्व हो’ खैरनही बहेरीका किशोर चौधरीले भने ‘वितेर गएका आफन्तलाई सम्झेर पितृ अर्पण गर्ने हो।’

यसदिन पाहुनालाई पितृको रुपमा मानेर भोजन गराउँछन्। भोजन गराएपछि पाहुनाको कपालमा तेल लगाएर काइँयोले कोर्ने र फूल सिउरिदिन्छन्। त्यसपछि नाङ्लो वा बेनामा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गर्छन्। यो दिन घरमा जो आए पनि पाहुनाका रुपमा मानेर सत्कार गरिने खैरहनी नगरपालिका-१० कठारको बड्गाउँकी चुलिया चौधरीले बताइन्। ‘पाहुनालाई पितृको रुपमा मानेर पुज्ने चलन छ’ उनले भनिन् ‘पाहुना खुसी भए पितृ खुसी हुन्छन् भनेर भोजन गराउने , मानसम्मान गर्छौ।’
बेलुकीपख बालबालिका तथा केटाकेटीहरु समूह समूहमा मिलेर घर–घरमा ‘यमोसा’ खान जान्छन्। हरेक घरमा विभिन्न किसिमका अनेकौं परम्परागत गीत गाउँदै यमोसा खान्छन्। 

चितवन र नवलपुरका मूल आदिवासी थारु समुदायले साँस्कृतिक र धार्मिक पर्वको रुपमा यमोसा मनाउँछन्। यमोसा पर्व लोप हुने खतरा रहेको भन्दै संरक्षणमा चासो देखाएका छन्। मंगलवार नारायणगढमा सामुहिक रुपमा मनाए। थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले संरक्षण र प्रवद्र्धन गर्नका लागि अभियान चलाएको बताए। ‘यो हाम्रो मौलिक पर्व हो। पुस्ताहस्तान्तरण हुन नसकी लोप हुने अवस्थामा पुगेको छ’ उनले भने ‘नयाँ पुस्तालाई यो पर्वमा अभिप्रेरित गराउन थालेका छौ।’चितवन र नवलपरासीमा थारुको जनसंख्या करीब २ लाख हाराहारीमा छ। थारुको साँस्कृतिक पर्व ‘यमोसा’ दिनमा विदा दिनुपर्ने माग थारु अगुवाको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.