मन्त्रालय भागबण्डा टुंगियो, कसलाई कुन ?
काठमाडौं : सत्तागठबन्धनबीच मन्त्रालयको संख्या र नाममा भागबण्डा टुंगिएको छ। गठबन्धनका शीर्ष नेताहरूको मंगलबार बसेको बैठकले छिट्टै मन्त्रीपरिषदलाई पूर्णता दिने समेत निर्णय गरेको छ।
कांग्रेसले ८, माओवादीले ५, नेकपा एकीकृत समाजवादी र जसपाले ४/४ मन्त्रालय लिने सहमति भएको हो। कांग्रेसले गृह, परराष्ट्र र कानुन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिइसकेको छ। अब, सञ्चार तथा सुचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय कांग्रेसले लिनेछ। प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एस) का अध्यक्ष नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादवसहित सत्तारुढ दलका नेताहरूको बैठक बसेको थियो।
माओवादी केन्द्रले अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लिइसकेको छ। माओवादीको भागमा शिक्षा तथा विज्ञान प्रविधि, खानेपानी, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लिनेछ।
त्यस्तै एसले उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, श्रम रोजगार तथा सामजिक सुरक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने भएको छ। एसका सांसद विरोध खतिवडाले शीर्ष नेताको बैठकले मन्त्रालयको टुंगो लगाएको जानकारी दिए। ‘शीर्ष नेताले मन्त्रालय टुंग्याउनु भो भन्ने जानकारी पाएको छु,’ उनले भने, ‘कुन कुन मन्त्रालय भन्ने विषयमा चाँही अध्यक्षले बुधबार ब्रिफिङ गर्नुहुन्छ।’
जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपन्छी मन्त्रालय पाएको छ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)ले एक एक राज्यमन्त्री पाउने सहमति भएको छ। गठबन्धनबीच जसपालाई उपसभामुख दिने सहमतिसमेत भएको छ। मन्त्रालयको टुंगो लागेसँगै गठबन्धनका दलहरू मन्त्री छनोटमा लागेका छन्। आकांक्षी धेरै भएकोले दलहरूलाई मन्त्री छान्न सहज भने छैन। मन्त्री बन्ने आकांक्षी धेरै छन्।
माओवादी अध्यक्ष दाहालले त पटक–पटक मन्त्री बनाउन पर्यो भनेर पार्टीका सांसदहरूले सताएको कुरा सार्वजनिक नै गरिसकेका छन्। आकांक्षी धेरै भएकाले जसपा अध्यक्ष यादवले राजनीतिक दल सम्बन्धी अध्यादेश निश्क्रिय नभएसम्म मन्त्रिपरिषद् विस्तार गनै मानेनन्।
असोज २१ गते मन्त्रिपरिषदको विस्तार गर्ने सम्भावना रहेको छ। कांग्रेसबाट मिनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिलेन्द्रप्रसाद बडु, उमाकान्त चौधरी, पुष्पा भुसाल, राजन केसी, किशोरसिंह राठौर, डिना उपाध्याय, मीन विश्वकर्मालगायत मन्त्रीका आकांक्षी छन्।
त्यस्तै माओवादीबाट देबेन्द्र पौडेल, महेश्वर गहतराज र शशि श्रेष्ठको सम्भावना छ। त्यस्तै नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आलेमगर ,रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, किसान श्रेष्ठ र भवानी खापुङ मध्येबाटै मन्त्री बन्ने बताइएको छ। जसपाबाट ईस्तियाक राई, राजकिशोर यादव, रेणुकुमारी यादव, महेन्द्र यादव, प्रमोद साहलगायत चर्चामा छन्।
नेकपा एस अध्यक्ष माधवकुमार नेपाल बिरामी परेका कारण केही दिनदेखि गठबन्धनको बैठक बस्न सकेको थिएन। प्रधानमन्त्री शेरबहादुर देउवा पनि पार्टीको महाधिवेशनमा व्यस्त थिए। प्रधानमन्त्री देउवाले सुरुमा कांग्रेस र माओवादी केन्द्रबाट २÷२ जनालाई मन्त्री बनाएका थिए। कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसाल सुरुवातमा नै मन्त्री भएका थिए।
कांग्रेसका तर्फबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ साउन १० मा, परराष्ट्रमन्त्री डा. नारायण खड्का असोज ६ मा नियुक्त भए।