गाउँ सुक्खा हुँदा लेबनानतिर
झरी परे पनि खानेपानीका स्रोत सुकिसकेका छन्। खेतीका काम शून्य छ। आर्थिक अवस्था जर्जर बन्दै गएको छ।
वैदेशिक रोजगार विभागको तथ्यांकले सन् २०१२ र २०१३ मा काभ्रेबाट ३ सय १७ महिला श्रमका लागि खाडी गएको देखाउँछ। छिरिङ तामाङ त्यसैबेला लेबनान पुगेकी थिइन्। मामाका छोरीहरू उतै भएकाले छिरिङलाई पनि लेबनान जान सहयोग गरे। आर्थिक अवस्था कमजोर छँदैथियो। कृषिमा भर पर्ने तामाङलाई समयले चुनौती थप्दै गए जस्तो लाग्यो। पानीको समस्या जर्जर बन्दै गयो। खेती लगाउन मुस्किल हुन थाल्यो। अनि घरमा बूढीआमा र दुई छोरी छोडेर लेबनान जाने निर्णय गरिन्। आठ वर्ष लेबनान र कुवेतमा बिताइन्। कमाइ चित्तबुझदो नभएपछि गत चैत्रमा गाउँ फर्किएकी छिन्।
पाँचखाल नगरपालिका— ८ होक्सेमा छ, तामाङको घर। मूलसडकबाट आधा घण्टा ओरालैओरालो झरेपछि पुगिन्छ। नेपाल फर्किएपछि बर्खामा गोलभेंडा रोपेकी छन्। गोलभेंडाका बोट डोरीले बाँधिरहेकी उनले भनिन् ‘पानी पनि अचम्मको पर्न थाल्या छ। परेपछि एकोहोरो, कि त थोपै झर्दैन। यो झरीले गोलभेंडाका दाना सबै काला भए।’ तामाङले गत चैत्रमा कुवेतबाट फर्किएपछि गोलभेंडा रोपेकी हुन्। भिरालो ठाउँमा छ उनको घर। २०७२ को भूकम्पले घर भत्काइदिएपछि समथर ठाउँमा जग्गा नभएकाले त्यस्तैमा बस्न बाध्य भएकी छन्। उनीसँग ८४ वर्षकी आमा छिन्। दुवै छोरीहरूले विवाह गरिसके। उनको घरसम्म बत्ती जसोतसो पुगे पनि बाटो र पानीको सुविधा छैन। पानीको चरम अभाव छ। त्यसैले वर्षमा एक बाली मकै मात्र फलाइन्छ त्यहाँ।
आर्थिक, सामाजिक, वातावरणीय लगायतका समस्या भोगिरहेका नेपालीहरू खाडी तथा मलेसियाका लागि खुला गरिएसँगै श्रमका लागि बाहिर जाने गरेका छन्। जलवायुको असरले जनजीवनमा एकखालको त्रास निम्त्याएको छ। अवसर र सुविधाको खोजीमा आन्तरिक बसाइसराइको अत्यधिक हुनेछन्। अस्वाभाविक खालका विपद्का घटना बढनेछन्।
बर्खेझरीको मौकामा केही तरकारी तथा गोलभेंडा लगाइन्छ। तर यस वर्ष एकोहोरो झरीले गोलभेंडाका दाना काला भएपछि तामाङको निद्रा बिथोलिएको छ। भनिन् ‘पहिला त यस्तो समस्या हुन्थेन, समय बदलिएको छ।’ एकोहोरो दर्के पानीकै कारण गोलभेंडाका दाना काला भएको उनले ठम्याइँ छ। जल तथा मौसम विज्ञान विभागले पनि यो वर्ष उक्त क्षेत्रमा औसतभन्दा धेरै वर्षा भएको जनाएको छ। ८ वडाका अध्यक्ष सञ्जय तामाङले पानीका अभाव भोगिरहेका आफ्ना जनतालाई बोरिंग गरेर पानी वितरण गरिरहेको दाबी गरे। तर छिरिङको धारामा पानी देख्न, हप्तादेखि महिना दिनसम्म कुर्नुपर्छ।
झरी परे पनि खानेपानीका स्रोत सुकिसकेका छन्। खेतीका काम शून्य छ। आर्थिक अवस्था जर्जर बन्दै गएको छ। वातावरणमा आएको परिवर्तनले आफूजस्तै गरिब, निमुखा मारमा परेकाले वैदेशिक रोजगारीमा धकेलिनु परेको अनुभव छिरिङले सुनाइन्। छिरिङ प्रतिनिधि घटनाका रूपमा विम्बित छिन्। उनी जस्तै हजारौंका कथाहरू भन्नै बाँकी छ।
लेबनानमा तीन वर्ष बिताएकी उनले १० हजार मासिक कमाइ पाउँथिन्। त्यो पैसाले चित्त नबुझेपछि कुवेत गएकी थिइन्। अलि बढी कमाउने लोभमा। घरेलु कामदारको रूपमा त्यहाँ २० हजार तलब बुझिन्। त्यो पैसाले घर बनाउँदा लागेको ऋण तिर्नसमेत पुगेन। त्यसैले नेपाल फर्किने निर्णय गरिन्। यस घटनाले खाडीमा कसरी श्रमको अवमूल्यन भइरहेको छ भन्ने प्रष्ट्याएको छ। भनिन् ‘महिलाहले श्रमको मूल्य पाएका छैनन्। १० हजारमा काम गर्न बाध्य थिएँ। बुढेसकाल पनि लाग्यो अब त। कहाँ सधैं काम गर्न सक्नु ?’ ५१ वर्षीया तामाङले बोल्दाबोल्दै आँसु खसाल्दै भनिन् ‘सुखले कोही विदेश जाँदैन।’
आफ्नै गाउँमा दुःख गर्न राजी भएर फर्केकी तामाङलाई गाउँमा पिउने पानीसमेत नपाइला भन्ने चिन्ता थपिएको छ। केही वर्षको अन्तरालमा उनको गाउँका कुवा र धारा सुकिसकेका छन्। ‘पुराना धारा, कुवाहरू सुक्यो’ गुनासो थपिन् ‘अन्नबाली रोप्छु भनेर नसोंचे हुन्छ। खै कसरी चल्छ आउने दिनहरू।’ पछिल्लो समय बर्खामा एकोहोरो वर्षा हुने या त लामो समय खडेरी पर्न थालेको अनुभव उनले गरेकी छन्। स्थानीयहरू आकाशेपानी जम्मा गर्छन्। तर उनीसँग गतिलो भाँडोसमेत छैन।
होक्सेबाट ६, ७ किलोमिटरको दूरीमा भेटवालथोक पुगिन्छ। उक्त ठाउँ वडा ९ मा पर्छ। त्यहाँ कम्तीमा ७० घर दलित बस्ती छन्। प्रत्येक घरका मानिसको गन्तव्य भारत बनेको छ। ४१ वर्षीय सानुभाइ बिशुंखे कोरोना संक्रमण भएपछि गत वर्ष नेपाल फर्किएका हुन्। नयाँदिल्लीमा बस्दै आएका उनी अवस्था सामान्य भएपछि पुनः उतै फर्किने सोचमा छन्। उनकी श्रीमती ३५ वर्षीया रामप्यारी बिशुंखे पनि चिया दोकान खोलेर उतै बसेकी थिइन्। केही वर्षदेखि छोराको पढाइको लागि गाउँमै फर्किएकी छन्। बिशुंखे दम्पतीलगायत उनका दाइको परिवार भारतमै बस्छन्। उनीहरू पालो मिलाएर बेलाबेला नेपाल आउँछन्।
रामप्यारीले भनिन् ‘म १६ वर्ष पहिला विवाह गरेर आउँदा सम्म मुलमा अंगालोभरीका पानी आउँथ्यो । झण्डै १० वर्ष भयो ती मुहान छैनन ।’ अरु बेला पानी नभएकाले यहाँका मानिस बर्खेबालीमा निर्भर छन् । तर तापक्रम वृद्धिसँगै अचाक्ली किरा लाग्न थालेको अनुभव सुनाईन् । मकै बाहेक अन्य बाली फल्दैन ।
तर आजकल मकैमा पनि विषादी लगाउनुपर्ने बाध्यता आइपरेको छ । भनिन् ‘खै के समय आयो । गर्मी अत्यधिक बढेको छ । किराले अचाक्ली सताउन थालेको छ । पोहोर सलहले सबै बाली खाइदियो ।’ बाली मर्ने, कीट, झार, रोग संक्रमण बढ्ने, प्रजनन चक्रमा परिवर्तन भएकाले धान, गहुँ, मकै जस्ता प्रमुख बालीको उत्पादन र उत्पादकत्वमा कमी भएको बताएको छ । देशको कुल ग्राहस्थ उत्पादन वार्षिक १.५ देखि २ प्रतिशत बराबर प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले भर्खरै निकालेको जलवायुसम्बन्धी प्रतिवेदनले पनि नेपालमा तापक्रम बढेसँगै कीरालाई फस्टाउने वातावरण सिर्जना भएको उल्लेख गरेको छ। बाली मर्ने, कीट, झार, रोग संक्रमण बढ्ने, प्रजनन चक्रमा परिवर्तन भएकाले धान, गहुँ, मकैजस्ता प्रमुख बालीको उत्पादन र उत्पादकत्वमा कमी भएको बताएको छ। देशको कुल ग्रार्हस्थ उत्पादन वार्षिक १.५ देखि २ प्रतिशत बराबर प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
भेटवालथोकका मानिसहरू चैत, वैशाखमा खानेपानीसमेत पाउँदैनन्। एक गाग्रीपानीले दुई दिन धान्नुपर्छ। यावत् समस्याले जकडिएको यहाँका बासिन्दा बाध्यतावश परदेश जानु परेको पीडा सानुभाइले सुनाए। सन् १९५० मा नेपाल भारतले सम्झौता गरेपछि स्वतन्त्र रूपमा काम तथा अन्य उद्देश्यले आउने जानेको संख्या बढेको नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले आफ्ना प्रतिवेदनहरूमा उल्लेख गर्दै आएको छ।
खाडी मुलुकको हकमा सन् १९८० को मध्यतिर खुल्ला भएको हो। आर्थिक, सामाजिक, वातावरणीय लगायतका समस्या भोगिरहेका नेपालीहरू खाडी तथा मलेसियाका लागि खुला गरिएसँगै श्रमका लागि बाहिर जाने गरेका छन्। वडा ९ पहरी गाउँकी ३१ वर्षीया सानुमाया पहरी लेबनान गएकी थिइन्। गाउँमा पानीको चरम अभाव भोगेकी उनलाई लेबनानको रहनसहन मन पर्यो। उनले लेबनानी पुरुषसँगै विवाह गरिन्। १२ वर्षदेखि उनी त्यहाँ बस्दै आएकी छन्। उनकी बहिनी २१ वर्षीया शशिना पहरीले दिदीलाई उद्धृत गर्दै भनिन् ‘गाउँमा जस्तो दुःख त छैन रे। पानी प्रशस्त खेलाउन पाइन्छ रे।’ एसईईमा अनुत्तीर्ण भएपछि पढाइ बिट मारेकी शशिनाले आफू पनि वैदेशिक रोजगारीमा जान सक्ने संकेत गर्दै भनिन् ‘दुःख झेल्दै कतिन्जेल बस्नु ?’
डाँडागाउँबाट नजिक रहेका पानीका मुहानहरू सुकिसकेका छन्। ९ वडाका अध्यक्ष किरण श्रेष्ठले विभिन्न खालका समस्याले यहाँका ५० प्रतिशत मानिस वैदेशिक रोजगारीमा गएको बताए। प्रायजसो खाडी मुलुकमा जाने गरेको बताउँदै भने ‘विकल्पका अवसर नै छैनन्।’ उनले आफ्नो वडाभित्र मात्रै कम्तीमा १० वटा पानीका मुहान सुकिसकेको बताए। उक्त ठाउँमा तापक्रम बढ्दै गएको, पानीका समस्या थपिँदै गएको महसुस गरेका छन्। वातावरणीय प्रभावले लामो समयदेखि काभ्रेमा पानीका स्रोत हराउँदै गएको अनुमान लगाए। पानी नहुँदा अनेक थरीका परिणाम निस्किएका छन्। ‘कति एक ठाउँबाट अर्कोतिर गए। धेरै बिदेसिए। कतै नजानेहरू दुःख झेलेर बसिरहेका छन्।’ उनले यस्ता समस्या बढ्दै जानुमा जलवायु परिवर्तनको असर हुन सक्ने अनुमान लगाएका छन्।
लाखौंले बासस्थान छोड्नुपर्ने विश्व बैंकको अनुमान
विश्व बैंकको अनुमान अनुसार सन् २०५० सम्ममा विश्वका (२१६ मिलियन) २ करोड १६ लाख मानिस मुलुकभित्र अथवा मुलुक बाहिर बसाइँ सर्नेछन्। आर्थिक, सामाजिक, राजनैतिक तथा वातावरणीय प्रभाव एकअर्कामा अन्तरसम्बन्धित भएकाले यस्तो परिणाम आउन सक्ने जनाएको छ।
त्यसैगरी जलवायुसम्बन्धी अन्तरसरकारी प्रतिवेदन २०२१ (आईपीसीसी) को रिपोर्टले पनि दक्षिण एसियाका मुलुकलाई जोखिमयुक्त मानेको छ। दक्षिण एसियामा मात्रै (४० मिलियन) ४ करोड मानिसहरू स्थानान्तरण सर्ने अनुमान लगाएको छ। जलवायुको असरले जनजीवनमा एकखालको त्रास निम्त्याएको छ। अवसर र सुविधाको खोजीमा आन्तरिक बसाइसराइको अत्यधिक हुनेछन्। अस्वाभाविक खालका विपद्का घटना बढनेछन्। यसले मान्छेको बसाइँसराइ तथा बिदेसिने क्रमलाई अझै बढावा दिनेछ। नेपालजस्ता मुलुकबाट अत्यधिक मात्रामा वैदेशिक रोजगारीका जानु पर्ने अवस्था सिर्जना हुनेछ। जोखिमयुक्त स्थानको पहिचान गरेर स्थानान्तरणको व्यवस्थापन हुनु पर्नेछ। अन्यथा प्रत्येक वर्ष वातावरणीय तनाव झेल्नुपर्ने विज्ञहरूको तर्क छ।
नेपालको संविधान २०७४ ले नेपालीलाई एक ठाउँबाट अर्को ठाउँमा सर्न स्वतन्त्रता दिएको छ। पहाड र हिमालबाट हालसम्म १५ लाख मानिस तराई सरिसकेका छन्। जलवायुजन्य विपद्, अकस्मात सुरु भएका जोखिमयुक्त घटना, पानीको समस्याले खेतीमा कठिनाइ, उब्जनीमा ह्रास हुने समस्याका कारण तराई सरेको देखिन्छ। नेपालमा यस्ता समस्या समाधान गर्नका लागि बलियो नीति बनाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
३० प्रतिशत पानी घट्यो
वन तथा वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको रिपोर्ट जलवायुका कारण (जोखिम तथा खतरा आकलन र अनुकूलनका पहिचान) अनुसार जलवायुका कारण वर्षात्को शैली परिवर्तन भएको छ। चरम खालका घटना (एक्सट्रिम इभेन्टस) का कारण खडेरी तथा बाढीपहिरोको जोखिम उत्तिकै बढेको छ। पहाडी क्षेत्रमा ३० वर्षको अवधिमा ३० प्रतिशतले पानीको स्रोतहरू घट्दै गएका छन्।
उक्त रिपोर्टअनुसार वर्षा र तापक्रमको मात्रामा परिवर्तनका साथ खडेरी, बाढी, पहिरो नेपालका लागि मुख्य सम्भावित चुनौती बन्नेछन्। नेपालमा ८ प्रतिशत बाढीमा जोखिम, ५९ प्रतिशत पहिरो र ५६ प्रतिशत खडेरीले प्रभावित पार्नेछ। नेपालमा २०३० सम्ममा पानीको क्षेत्रमा हुने जोखिम बढ्दै जाने र २०५० सम्म अझ धेरै जोखिम बढ्ने अनुमान गरिएको छ।
पानीकै कारण बसाइँसराइ
जलवायुको असरले पानी सुकेर स्थानान्तरण पहिलो घटना मुस्ताङको छ। वन तथा वातावरण मन्त्रालयले गरेको अध्ययनमा खटिएका रेगन सापकोटाका अनुसार मुस्ताङको ध्ये गाउँमा २०० मिलिमिटरभन्दा कम वर्षाका कारण सन् २००९ मा थांगचुंग भन्ने स्थानमा सरेका थिए। २०१६ मा सामजोंग गाउँका १८ घरपरिवार खडेरीका कारण सरेका थिए।
जलवायुका कारण धेरै पानी पर्ने अथवा पर्दै नपर्ने समस्या भविष्यमा बढ्दै जानेछ। यसको असर कृषिमा आश्रित जीविकोपार्जन गर्नेहरूलाई पर्नेछ र त्यसले बिदेसिन बाध्य बनाउँछ। कमाउनका लागि विदेश जानुपर्ने र जीवन धान्नका लागि कतै सरेर जानुपर्ने अवस्था रहेको छ।
पानी सदुपयोग केन्द्रले गरेको प्रारम्भिक अध्ययनले पनि नेपालका तनहुँको मानुङकोट, भोजपुरको रामप्रसाद राई गाउँपालिका, धनकुटाको सहिदभूमि गाउँपालिका र
महालक्ष्मी नगरपालिका, मुस्ताङको दालोमे गाउँपालिका, सल्यानका छत्रेश्वरी गाउँपालिकालगायतका क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने समस्या देखिएको छ।
बेलायती दूतावासमा जलवायु विज्ञका रूपमा कार्यरत युगान मानन्धर भन्छन् ‘मुस्ताङबाहेक पानीको कारण बसाइँसराइ गरेको विषयमा अन्य ठाउँको रिसर्च भएको छैन।’ तर जलवायुको असरले कृषिमा आश्रितलाई जीविकोपार्जन गर्नका लागि समस्या भएपछि स्थानान्तरण गरेको र कमाउन बिदेसिन बाध्य बनाएको देखिन्छ।
पाँचखाल क्षेत्रमा प्रतिवर्ष सात मिलिमिटर दरले वर्षा घट्दै
जल तथा मौसम विज्ञान विभागमा कार्यरत सिनियर डिभिजनल मेट्रोलोजिस्ट इन्दिरा कँडेलका अनुसार जुनदेखि सेप्टेम्बर चार महिनालाई धेरै वर्षा हुने सिजनको रूपमा लिइन्छ। वर्षभरिमा हुने वर्षाको ८० प्रतिशत यसै चार महिनामा हुन्छ। तर काभ्रेमा प्रतिसिजन वर्षा घटेको देखिन्छ।
सन् १९७६ देखि २०१९ सम्मको तथ्यांक हेर्दा प्रतिवर्ष सात प्रतिशतले पाँचखाल क्षेत्रमा वर्षा घटेको छ। पाँचखाल खासै वर्षा हुने ठाउँ होइन। तर कुनै कुनै वर्ष बीचमा अत्यधिक वर्षा देखिन्छ। पछिल्लो १० वर्षमा २०१९ मा सबैभन्दा धेरै १०४८.८ मिलिमिटर पानी परेको छ। ८६८.८ मिलिमिटरभन्दा धेरै पानी पर्यो भने त्यसलाई औसतभन्दा बढी मानिन्छ। २०२० मा ९३३.८ मिलिमिटर पानी परेको थियो। उक्त क्षेत्रमा जेठदेखि यता ८७० मिलिमिटर वर्षा भइसकेको छ।
२०१५ देखि २०१८ सम्म सरदरभन्दा कम पानी परेको छ। जलवायु परिवर्तन महाशाखाका प्रमुख डा. राधा वाग्लेका अनुसार यस्ता समस्यालाई समाधान गर्नका लािग प्रदेश तहबाट कार्ययोजना बनिरहेको छ। स्थानीय सरकारमा २०७६ मा फ्रेमवर्क बनाएको र त्यहाँका वार्षिक योजना र परियोजनामार्फत काम भएको बताइन्।
जलवायु परिवर्तनको फरक ठाउँमा छुट्टै तरिकाले मान्छेमा प्रभाव पार्छ। जलवायुको असर धनी, गरिब, सिमान्तकृतहरूलाई फरक हुन्छ। विपद्मा प्रायजसो गरिब, सिमान्तकृृत, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्तहरू परेको अध्ययनले देखाएको बताइन्। आदिवासी समुदाय, विशेषगरी माझी, राउटे, सतारहरू बाढीपहिरो, आगोजस्ता प्रकोपका कारण जोखिममा पर्नेछन्।
वल्र्ड माइग्रेसन रिपोर्ट २०२० नेपालमा रेमिट्यान्सबाट आएको पैसाले जलवायुजन्य जोखिमबाट बच्नका लागि खर्च गर्नुपर्ने अवस्था आउन सक्ने अवस्थाको आकलन गरेको छ।
सुक्खा, खडेरी, बाढी, पहिरोलगायतका समस्याबाट बच्नलाई सरकारले चनाखो हुन आवश्यक रहेको छ। यस्ता विषयमा गहिरो अध्ययन गरेर क्षतिको आकलन तथा अनुकूलनका काम गर्न यथाशिघ्र गर्न आवश्यक छ। समस्याग्रस्त क्षेत्रमा पानीको समाधान खोज्न आवश्यक छ। जलवायुजन्य जोखिम भोगिरहेकाहरूलाई स्थानान्तरणका लागि स्थान पहिचान गर्न पनि आवश्यक छ। विज्ञहरूले चितवन जिल्लालाई नजानिँदो रूपमा स्थानान्तरणको उचित ठाउँको रूपमा प्रयोग भइसकेको जनाएका छन्। बाढी, पहिरोको कारण थुप्रै मानिस चितवन सरिसकेका छन्।
यो आलेख ब्रिटिस काउन्सिलको (रोड टु कप २६ कार्यक्रम) अन्तर्गत तयार पारिएको हो।