७०० वर्ष पाको मैथिली नाट्यकृति

७०० वर्ष पाको मैथिली नाट्यकृति

मिथिलाको सूरता–वीरताजन्य इतिहासले आफ्नो देश÷परिवेशभन्दा बाहिर गएर फिँजिने खालको व्यापकता एवं विस्तृती पाएका छैनन्।


मिथिलाको इतिहासमा वीरता एवं बहादुरीको गाथा त्यति मुखर देखिँदैन। यद्यपि सलहेस, लोरिक, दीना–भद्रीजस्ता गाथा–नायकहरूको जीवनीमा वीरताका कुराहरू अवश्य आउँछन्। तर तिनमा पनि मानवीय संवेदना, सुशासन, आपसी सौहाद्र्रजस्ता पक्षहरू विशेष प्रखर छन्। र, यी गाथाहरू मिथिलाका आम जनमानसबीच नै सीमित रहेका छन्। तात्पर्य के भने मिथिलाको सूरता–वीरताजन्य इतिहासले आफ्नो

देश/परिवेशभन्दा बाहिर गएर फिँजिने खालको व्यापकता एवं विस्तृती पाएका छैनन्। तर विद्वता, शास्त्रार्थ, कला, काव्य, दर्शन, विदेहत्व आदि मिथिलाको पर्यायका रूपमा चिनिँदै आएको छ। यी कुराहरूले यहाँको जनजीवन शान्त र सौहाद्र्रपूर्ण थियो भन्ने संकेत गर्छ। शान्ति–सौहार्द्रकै वातावरणमा कला–साहित्य मौलाउने हुन्छ। मिथिला सभ्यता र संस्कृतिको झन्डा अद्यापि सिंगो आर्यावत्तमा फहराइरहनुको मुख्य कारण यही हुनुपर्छ।
परापूर्वकालदेखि कला–साहित्यका साथै ज्ञान–विज्ञानको केन्द्र रहेको मिथिलामा मध्यकाल (ज्योतिरीश्वरको समयदेखि मल्लकालसम्म) मा नाट्य–संगीतका क्षेत्रमा समेत यथेष्ट कार्यहरू हुन थाले। साहित्यमा आफ्नो भाषाको प्रयोग गर्ने परम्परा विकसित नभइसक्दा पनि मैथिल विद्वानहरू विविध साहित्यिक गतिविधिमा निरन्तर संलग्न रहँदै आएका थिए। आफ्ना मैथिली गीतहरूका कारण जनमनमा अमर भएका मैथिल कविकोकिल विद्यापतिले पनि कतिपय कृतिहरू संस्कृत भाषामै लेखेका थिए। यसै क्रममा उनले गोरक्ष–विजय नामक नाटक लेखे। यो नाटक मैथिली नाट्य–साहित्यको जग सुदृढ गर्ने पार्ने दिशाको एउटा कोसेढुंगा थियो। विद्यापतिले कर्णाटवंशीय राजाहरूको समयमा सुदृढ भएको नाट्य–संगीतको परम्परालाई अगाडि बढाउने क्रममा नै नाट्य–सिर्जना गरे वा यो मिथिलामा पहिल्यैदेखि रहेको परम्पराको निरन्तरता थियो, यस विषयमा इतिहास त्यति प्रष्ट छैन। उसै पनि कर्णाटवंशीय राजाहरूको राजधानी सिमरौनगढ ध्वस्त पार्ने यवनहरूले त्यहाँका ऐतिहासिक दस्तावेजहरू पनि निमिट्यान्न पारेका थिए। तर इतिहास विशृंखलित भए तापनि मैथिली नाटक भनेर नै किटान गर्न सकिने पहिलो कृति भने कवि शेखराचार्य ज्योतिरीश्वर ठाकुर (ई. १२८०–१३४०) कृत धूर्त्तसमागम नै हो भन्ने कुरा भने विभिन्न आधारमा स्थापित छ।

अहिलेसम्म प्राप्त प्रमाणहरूका आधारमा मैथिलीको पहिलो नाट्यग्रन्थ धूर्त्तसमागम नामक प्रहसनलाई नै मानिएको छ। अनंगसेना नामक एक वेश्याका लागि विश्वनगर नामक सन्न्यासी र स्नातक नामक उनका शिष्यबीच भएको हानथापलाई धूर्त्तसमागमको मूल विषय बनाइएको छ। गुरु–शिष्यमा कसले अनंगसेनालाई आफ्नो बनाउने टुंगो नलागेपछि उनीहरू पञ्चायत गर्न असज्जाति मिश्र नामक ब्राह्मणकहाँ हनंगसेनालाई समेत लिएर जान्छन्। तर त्यहाँ असज्जाति स्वयं हनंगसेनाप्रति आकर्षित हुन्छन् र उनीमाथि पहिलो हक आफ्नै लाग्ने दाबी ठोक्छन्। यसरी बूढा ब्राह्मणले खेल उल्ट्याउन लागेको देखेर उनका शिष्य बन्धुवञ्चक त्यस्ता बूढासँग के लाग्छौ भनेर हनंगसेनालाई फकाउन थाल्छन्। यत्तिकैमा मूलनाशक नामक हजाम त्यहाँ आइपुग्छन् र आफूले हजामत गरेको ज्यालाबापत हनंगसेनामाथि आफ्नो दावेदारी पेस गर्छन्। एवं प्रकारले यस नाटकमा धूर्तै–धूर्तको गजब जमघट गराइएको छ र त्यसै आधारमा नाटकको शीर्षक धूर्त्तसमागमलाई सार्थक बनाइएको छ। यदि हनंगसेनालाई राजकीय सत्ता मानिदिइने हो भने हाम्रो देश मात्र नभई सिंगो दक्षिण एसियाली परिवेशमा लेखाइको सात सय वर्षपछि पनि ज्योतिरीश्वरको धूर्त्तसमागम पूर्णतः सार्थक भइरहेको छ। यस अर्थमा मैथिलीको पहिलो नाटक धूर्त्तसमागमलाई कालजयीभन्दा पनि अत्युक्ति ठहर्दैन।

यस नाटकको कालजयीता तथा मुख्य चरित्रका विषयमा प्रसिद्ध कवि तथा सामयिक टिप्पणीकार रोशन जनकपुरी लेख्दछन्— धूर्त्तसमागमलाई  कविशेखराचार्य ज्योतिरीश्वरले प्रहसन भनेका छन्। प्रहसन हास्यप्रधान नाट्य विधा हो। तर हास्य जुनविपरीत विकृत परिस्थितिमा जन्मन्छ, त्यस परिस्थिति र पात्रमा आफूलाई प्रतिस्थापित गरियो भने त्यो स्थिति एउटा कारुणिक र त्रासदीयुक्त अनुभूत हुन थाल्छ। धूर्त्तसमागममा पनि प्रत्यक्षतः पर्याप्त हास्य छ। तर यस्मा वर्णित समाजका अगुवा र प्रतिष्ठित वर्ग धनी, साधु र शासनतन्त्र जसरी अनैतिकता तथा पाखण्डमा डुबेको छ, र जनसामान्यलाई भोग मात्रको वस्तुको रूपमा जसरी प्रस्तुत गरिएको छ। त्यसको विवेकशील विश्लेषण गर्दा क्षोभ, त्रासद र करुणायुक्त स्थिति उत्पन्न हुन्छ। यसले धूर्त्तसमागमलाई एउटा उत्कृष्ट व्यंग्यको पंक्तिमा खडा गर्छ। स्वार्थमय ईश्वरभक्ति, भोग र शासकप्रतिको भाटपनाले भरिएको समयको सामाजिक पाखण्डलाई अत्यन्त सशक्त रूपमा उजागर गरिएको धूर्त समागममा ज्योतिरीश्वरको सामाजिक व्यंग्यदृष्टिले चमत्कृत गर्छ । यस अर्थमा तुलना गर्दा वर्तमान समकालीनतामा पनि यो उत्कृष्ट व्यंग्य ठहर्छ।

अहिलेसम्म प्राप्त प्रमाणहरूका आधारमा मैथिलीको पहिलो नाट्यग्रन्थ धूर्त्तासमागम नामक प्रहसनलाई नै मानिएको छ। यस नाटकमा धूर्तै–धूर्तको गजब जमघट गराइएको छ र त्यसै आधारमा नाटकको शीर्षक धूर्त्तसमागमलाई सार्थक बनाइएको छ।

ज्योतिरीश्वर ठाकुर सिम्रौनगढ राजधानी भएको तिरहुत/मिथिला राजदरबारका विद्वान सभासद् थिए। त्यही बेला गयासुिद्दन तुगलकले तिरहुत (मिथिला) को राजधानी सिम्रौनगढमा आक्रमण गरे। कर्णावंशीय नरेश हरिसिंहदेव त्यस आक्रमणको प्रतिकारमा असफल भएपछि बन्धुबान्धवसमेत नेपाल उपत्यका पसे। हरिसिंहदेवको दरबारका मन्त्री रहेका चण्डेश्वर ठाकुरले नेपालमा पहिल्यै आफ्नो राज्य स्थापना गरिसकेका थिए। नेपाल उपत्यकाका मल्ल राजाहरूसँग पनि हरिसिंह देवको राम्रो सम्बन्ध थियो। उनीहरूका बीच वैवाहिक सम्बन्ध पनि स्थापित थियो। चण्डेश्वरद्वारा सञ्चालित राज्य सिम्रौनगढ राजधानी भएको मिथिला राज्यकै अधीन थियो र हरिसिंह देवले चण्डेश्वरलाई आफ्नो समकक्षी सरह नै मान्यता दिएका थिए। यवन आक्रमणबाट पराजयपश्चात् हरिसिंह देव र उनका भारदारहरू नेपाल आए। ज्योतिरीश्वर पनि उनका साथ नै आएका थिए। ज्योतिरीश्वरले नेपाल आइसकेपछि नै धूर्त्तसमागमको रचना गरेका हुन् भन्ने पनि विद्वान्हरूको धारणा रहेको छ।

ज्योतिरीश्वरकै वर्णरत्नाकरलाई मैथिलीको पहिलो गद्यग्रन्थको गौरव प्राप्त छ। यस वर्णरत्नाकरले मैथिलीको मात्र नभई सम्पूर्ण उत्तर भारतीय भाषाहरूमध्येको प्रथम गद्यग्रन्थ हुनुको गौरव पनि सँगालेको छ। 
धूर्त्तसमागमको भाषा तथा कतिपय संवाद मैथिलीमा नभएर संस्कृत भाषामै रहेको छ। यसैले गर्दा कतिपय विद्वान्हरू यसलाई संस्कृत रचनाको कोटीमा पनि राख्दछन्। तीन भाषाको प्रत्यक्ष प्रयोग रहेको धूर्त्तसमागममा मञ्च–निर्देशका लागि संस्कृत र प्राकृत भाषा प्रयोग गरिएको छ भने गीतहरू र भाषिक परिवेश तथा केही संवादसमेत मैथिलीमा पनि छन्। तर यसलाई मैथिली भाषाकै साहित्य मान्नुपर्ने मुख्य आधारका रूपमा यसमा प्रयुक्त ज्योतिरीश्वरकै मैथिली गीतहरूलाई मान्न सकिन्छ। जम्मा २० वटा मैथिली गीत प्रयुक्त कृति धूर्त्तसमागमको पछिल्लो पाण्डुलिपिमा भने आठ वटा गीत घटेका छन्। पाण्डुलिपिबाट केही पाना नष्ट भएकाले कृतिमा यो बिटुलोपन आएको हो। जे होस्, गीतका साथै यसको सूत्रधार, विश्वनगर, मृत्ताङ्गार ठाकुर र असज्जाति मिश्र— यी चारजना पात्रहरू संस्कृत बोल्दछन्। अरू पात्रहरूमा स्नातक, मूलनाशक, विदुषक, नटी, सूरतप्रिया, अनङ्गसेनाले प्राकृतमा संवाद बोल्दछन्। यसरी मात्रै चारजना पात्रहरूले बोलेका संवादको भरमा यसलाई संस्कृतको रचना भन्नु उचित नदेखिने तर्क केही समालोचकहरूको छ। यसरी विचार राख्नेहरूमा डा. जयकान्त मिश्र, महेन्द्र मलंगिया, डा. देवशंकर ‘नवीन’, रमेश रञ्जन, रोशन जनकपुरीलगायतका समालोचकहरू छन्। डा. नवीन धूर्त्तसमागममा प्रस्तुत वातावरण, शिल्प, संवादको चरित्र र समग्र गीतहरूको प्रभावकारी स्वरूपले यसलाई मैथिलीको रचना भन्नु अनुपयुक्त नहुने तर्क राख्दछन्।

यसमा समाविष्ट गीतहरू फगत गीतका लागि मात्र नभएर नाटकलाई अगाडि बढाउने माध्यमका रूपमा वा कथानकलाई लिएर हिँड्ने प्रक्रियाका रूपमा प्रयुक्त भएका छन्। यतिमात्र नभई संवादको ठाउँमा पनि मैथिली र संस्कृत दुवैको मिश्रित रूपसमेत प्रयुक्त भएको छ। संस्कृतमै बोल्नुपर्ने संवादहरूका लागि ‘संस्कृतमाश्रित्य’ भनी निर्देश दिइएबाट पनि धूर्त्तसमागम मैथिली नाटक भएको कुराले बढी बल प्राप्त गरेको छ। धूर्त्तसमागमका गीतहरू नाटककै अभिन्न अंगको रूपमा रहेका छन्। जस्तो— असज्जाति मिश्रले हनंगसेनामाथि आफ्नो दाबेदारी पेस गरेपछि मूलनाशक हजामका साथै स्नातक पनि जुकोलाई जुकोले टोक्दैन भनेर बाहिर निस्कन्छन्। यस प्रसंगलाई निम्न गीतद्वारा अभिव्यक्ति दिइएको छ—
अरे रे सनातक तोरहि कुमान्ति।
हनंगसेना हरि लेल असजाति।।
कतए विचार कराओल आनि।
जन्हिक चरित मूलनाशक जानि।।
हेरितहि हरि धन लए गेल चोर।
हाथक रतन हरायल मोर।।
क के होएबह हरि अनुरागे।
जोँकक आग गोतल न लागे।।
कविशेषर जोतिक एहु गाव।
राए हरसिंह बुझए रस भाव।।

धूर्त्तसमागमको प्रस्तावनामा यसलाई शृंगार–रसप्रधान भनिए तापनि यस कृतिको बनोट तथा संवाद आदिबाट यो हास्यरसको नाटक हो भन्ने स्पष्ट हुन्छ। यसका केही प्रसंगले त हास्यरसभन्दा अझ बढी शृंगारको नाममा अश्लीलताले समेत यसमा स्थान पाएको पनि देखिन्छ। तर वस्तुतः मिथिला राज्य विशृंखलित भएपछि जनजीवनको विविध पक्षमा देखिएका विकृति, विसंगति, भ्रष्टाचार, अनाचार आदिलाई यस कृतिमा प्रतिविम्बित गर्ने चेष्टा गरिएको छ। धूर्त्तसमागमका एकजना पात्र मृतांगार ठाकुरले राष्ट्रभंगको कुरा गरेका छन्। यी समस्त पक्षहरूलाई दृष्टिगत गर्दा मिथिलाको तत्कालीन राजनीतिक अस्थिरताजन्य ऐतिहासिक तथ्यलाई धूर्त्तसमागमले प्रष्ट्याउन खोजेको भान हुन्छ। 

नाटक धूर्त्तसमागमको प्रारम्भिक मञ्चन काठमाडौं उपत्यकामै भएको हुनुपर्छ। किनकि नाटक लेखनभन्दा मञ्चनको विषय हो। अझ तत्कालीन समयमा प्रकाशनको समुचित व्यवस्था नभएको परिप्रेक्ष्यमा पाण्डुलिपि पनि मञ्चनको लागि आधारभूमि जुटाउन मात्र प्रयोग हुने गर्दथ्यो। त्यसैले विभिन्न कालखण्डमा यस नाटकको डा. जयकान्त मिश्रलगायतका साहित्यकारहरूले सम्पादन÷प्रकाशन गराएका छन्। तर वि.सं. २०७५ सालमा भारतको दिल्लीमा सक्रिय मैलोरंग (मैथिली लोकरंग) नामक संस्थाको शत्प्रयासबाट यस नाटकलाई समयानुकूल भाव–भंगिमाका साथ मञ्चमा प्रस्तुत गरिएको थियो। अझ महŒवपूर्ण थियो काठमाडौं लेखिएको र प्रारम्भिक मञ्चन भएको नाटकको ६९३ वर्षपछि काठमाडौंको प्रेक्षालयमा मञ्चन हुनु। पछिल्लो समयको मञ्चनजन्य परिवेश र विचारहरू समेटिएर डा. प्रकाश झाको सम्पादनमा पनि धूर्त्तसमागमका विविध पाटा केलाइएको पुस्तक प्रकाशन भएको छ।

संवादको ठाउँमा पनि मैथिली र संस्कृत दुवैको मिश्रित रूपसमेत प्रयुत्ताm भएको छ। संस्कृतमै बोल्नुपर्ने संवादहरूका लागि ‘संस्कृतमाश्रित्य’ भनी निर्देश दिइएबाट पनि धूर्त्तासमागम मैथिली नाटक भएको कुराले बढी बल प्राप्त गरेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो समय नाटकका दर्शक त पाइन्छन्, तर दर्शकदीर्घामा मैथिलीभाषी दर्शकको संख्या नगन्य हुन्छ। यस्तोमा काठमाडौंका दर्शकमाझ मैथिली भाषामा त्यही पनि सात सय वर्ष पुरानो नाटक मञ्चन गर्ने सोच एउटा दुस्साहस नै थियो। तर मैलोरंगका निर्देशक डा. प्रकाश झा र कलाकारहरूले सो जोखिम मोले। त्यस प्रदर्शनको हिस्सा बन्ने अवसर मलाई पनि जुरेको थियो। संस्कृतनिष्ट मैथिली भाषाको प्रयोग भए तापनि नेपाली भाषी दर्शकको बहुलता रहेको प्रेक्षालय निरन्तर हाँसोको फोहोरा र तालीको गडगडाहटले गुञ्जायमान रह्यो। प्रत्येक संवाद र आंगिक अभिनयपछि दर्शकको रोमाञ्च र प्रतिक्रिया प्रेक्षालयमा छरिने गर्दथ्यो। यसबाट के देखिन्थ्यो भने हरेक दर्शकले नाटकको भरपूर रसास्वादन गरिरहेका छन्। धूर्त्तसमागमले यसरी पनि आफ्नो रचनात्मक वैशिष्ट्य र कालजयिता प्रमाणित गरेको थियो। यस कार्यमार्फत नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले तत्कालीन अवस्थामा ज्योतिरीश्वर रंग उत्सवका रूपमा एउटा सार्थक र उल्लेख्य कार्य गरेको थियो भन्ने पनि प्रमाणित भएको थियो।

तिरहुत/मिथिलाको चौधौं शताब्दीको सामाजिक इतिहासका दृष्टिले पनि यस नाट्यकृतिको विशेष महŒव रहेको छ। मिथिलामा तिनताका विद्यमान जाति व्यवस्था, खाद्यपदार्थ, आचार–व्यवहार तथा नियम–कानुनका थुप्रै पक्ष यसमा प्रकट भएका छन्। यस नाटकको सबैभन्दा महŒवपूर्ण पक्ष हो यसको विषयवस्तु। समाजको यथार्थ चित्र प्रस्तुत गर्नु र समाजलाई नै नाटकको आधारभूमि बनाउनु मैथिली नाटकको जन्मसँगै जोडिएर आएको सकारात्मकताको रूपमा यस नाटकबाट देखिएको छ। ज्योतिरीश्वरको भाषा–शैलीमा जुन किसिमको माझिएको स्वरूप र परिपक्वता पाइन्छ, त्यसका आधारमा उनी तत्कालीन समयका प्रथम मैथिली साहित्यकार वा एक मात्र साहित्यकार हुन् भन्ने लाग्दैन। तसर्थ धूर्त्तसमागमलाई मैथिली साहित्यको पहिलो नाट्यकृति मानिए तापनि मैथिली नाटकको इतिहास अझै टाढासम्म पनि 
जान सक्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.