हाँ हाँ रे पहिल ट बर्स ढुढिर कुहिर

हाँ हाँ रे पहिल ट बर्स ढुढिर कुहिर

इशर दास कविले काशीबाट विद्या हासिल गरी सुनेको स्मृतिको आधारमा काव्य रचेको उल्लेख गरेका छन्। यो काव्य लेखी सकेर उनले जसले यो कथा सुन्यो, उसले महापुण्य पाउने, मनले चिताएको पुग्नेछ, कवि इशर दासको भाषा सुन्ने नर (मान्छे) विष्णुलोकमा पुग्नेछ, भनेका छन्। 


२००७ सालमा प्रकाशित थारू भाषाको पहिलो कृति दाङका बढ्वा थारूको बढक्क जोर्नी  गीत संग्रह तथा दोस्रो कृति जीवराज आचार्यको हम्र ओ हमार बन्वा (२०११) कविता संग्रह मानिन्छ (पञ्जियार, २०५५ः१४)। तर, आजसम्म यी दुवै कृतिको प्रतिलिपि  भेटाउन सकिएको छैन। तेस्रो कृति चौधरी रूपलाल महतो र बद्रीनाथ योगीले संकलन गरेको दंगीशरण, बडकिमार, गुरुवावाकि जन्मौति (२०१६) हो। पहिलो र दोस्रो कृतिको प्रतिलिपि कुनै अनुसन्धानकर्मीले फेला पार्न नसकेकाले दंगीशरण, बडकिमार, गुरुवावाकी जन्मौति नै थारू साहित्यको प्राप्त पहिलो लिखित दस्तावेजीकरण मान्न सकिन्छ। 

प्रस्तुत आलेखमा यही पुस्तकको कृति तथा कृतिकारबारे चर्चा गरिएको छ।

एउटैमा ३ लोककाव्य
सिद्धरत्ननाथ मठ, दाङ चौघेराका बदरीनाथ योगी तथा दाङ जलौराका चौधरी (गाउँका अगुवा) रूपलाल महतोले २०१६ साल वैशाख पूर्णिमामा दंगीशरण कथा, बडकिमार, गुरु बाबाकि जन्मौति पुस्तक प्रकाशन गरे। यद्यपि, दुवैजनाले सम्पादक÷संकलक नभनी प्रकाशक मात्रै भनेर पुस्तकमा उल्लेख गरेका छन्। यसको मूल्य जम्मा एक रुपैया मात्र उल्लेख छ। मुद्रणमा उल्लेख भएअनुसार त्यसबेला यो कृति एक हजार प्रति छापिएको थियो।

योगी नरहरिनाथले पुस्तकको भूमिका लेखेका छन्। सम्पादकहरूले यस्तो कृति प्रकाशित गरेर आदर्शयोग्य काम गरेको भूमिकामा उल्लेख छ। यसरी बदरीनाथ योगी र चौधरी रूपलाल महतोलाई प्रकाशक /सम्पादक दुवै भन्न सकिन्छ। रूपलाल महतो आफैंले संकलन गरेको बाहेक नीलवराही बस्ने पूर्णबहादुर, महदेवा बस्ने नरांप्रसाद चौधरी, दाङ चटकमटिया बस्ने भोजुका बेटा, भारतका वेटा, रामलाल, जोगीराम, सीताराम तथा उत्तर तेघरा बस्ने वलीभद्र थारूको संकलन गरेको पाण्डुलिपिबाट पनि उतार गरेको भनिएको छ। 

दंगीशरण कथा
कुनै वेला दाङमा थारू राजा दंगीशरण थिए। तिनकै कथाको बारेमा दंगीशरण काव्यको जन्म भएको छ। बड्कीमार र गुर्वावक् जन्मौति थारू समुदायमा गायनको दृष्टिले महत्वपूर्ण मानिन्छ। तर, दंगीशरण काव्य गाइने परम्परा छैन। यहाँ संकलित दंगीशरण कथा पनि थारू लवजमा छैन। यसको सुरुआतमा नै ‘अथ दंगीशरण’ कथा प्राकृितक भाषामा भन्ने उल्लेख छ। यसको भाषा शैली अवधीझै लाग्छ। दंगीशरण काव्यको अन्त्यमा कवि इशर दासबारे उल्लेख छ। 

इशर दास कविले काशीबाट विद्या हासिल गरी सुनेको स्मृतिको आधारमा काव्य रचेको उल्लेख गरेका छन्। यो काव्य लेखी सकेर उनले जसले यो कथा सुन्यो, उसले महापुण्य पाउने, मनले चिताएको पुग्नेछ, कवि इशर दासको भाषा सुन्ने नर (मान्छे) विष्णुलोकमा पुग्नेछ,  भनेका छन्। यही काव्यका आधारमा महेश चौधरीले उनलाई थारू भाषाको पहिलो आदिकवि हुन सक्ने तर्क गरेका छ्र्रन्। यसरी लोककाव्यको संकलनमा सिर्जनात्मक कार्य पनि देखिन्छ। 

बडकिमार
महाभारतको कथा समेटिएको बडकिमार (बर्कीमार) मा विभिन्न पैधार (खण्ड) दिइएको छ। यसमा कुल १२ पैढार (अध्याय) समेटिएको छ। जसमा लखागीर, जतिया मार, राउबेध, पसावर, बनिवास, घरबास, हँठ्यक मार, किच्का मार, सुसर्मक मार, मनसाधक, बर्किमार र स्वार्गारोहण पैढार रहेका छन्। देवीदेउताको समह्रौटी (स्तुति) गाउँदै बर्किमारको सुरुआत भएको छ। जस्तो स्तुतिको एक श्लोक हेरौं–

पुरुव मै समिरौँ सुरज भरार, पछिउँ मै समिरौ डेवी र अउटार
उटर मै समिरौ हरिकविलास, लंका रि पवन समिरौ हनुमान 
अर्थात् पूर्व उदाउने सूर्य देउतालाई म सधैं स्तुति गर्छु, 

पश्चिम दिशामा अवतार लिने देवीहरूलाई, उत्तरमा हिमालय कविलाश (कैलाश) मा बस्ने महादेवलाई तथा लंका नष्ट गर्ने हनुमानलाई स्मरण गर्छु। त्यति मात्रै होइन, समह्रौतीमा आकाशका इन्द्र, पातालका वासुकी, विद्याकी देवी सरस्वतीलगायत रचनाकारले भूलवश लिन नसकेका सम्पूर्ण देवदेवीहरूको स्मरण गर्दै बर्किमारको कथा सुरुआत हुन्छ। यद्यपि विभिन्न संकलकहरूले संकलन गरेको बर्किमार महाकाव्यको समह्रौतीपछि पहिलो अध्यायको शृंखलामा फरकफरक प्रस्तुति छ (चौधरी, २०६७ः ९३)। 

बेबुरिक बिनायक झमकि उराय, बिना बुँडि टुहरि पाउ
घनिपटि घन रे सुगा कई ठोंर, हृडा बइस मोटि डेहो र सिखाइ,
भगमोटि सरन लिहनु टोंहर नाउ, डेखि ढरम डेबि बन्ढन बाट 
डेस डेस राजा कोडरा मगावै, चौडो जोजन भुँइया राजा उटिस खाँर 
उट बेड डुरपटि लइ जाउ, जेकर नाउर ढनर जिउ होइ।

यहाँ द्रौपदीको स्वयमवरको प्रसंग छ। विभिन्न देशबाट राजकुमार निम्त्याइएका छन्। धर्नुवेदले जसले चरालाई भेदन गर्न सक्छ, उसैले द्रौपदीलाई लैजाला भन्ने चर्चा छ।
विपरो र भैया नान डुलार, राजा बैराठक बेह्रि र गाइ
भलि र भिवाँ अर्जुन ढनुर्ढर, कौरो मारि बहुट गाइ।

यहाँ लाखौं घोडसवार कौरवहरूबाट असंख्य गौहत्याको प्रसंग  छ। महाभारतका घटनाक्रमलाई समेटिएको यो गाथा दसैंैको अवसरमा बर्का नाचको रूपमा गीत गाउँदै नाचिन्छ। बडकिमारको आधारमा नाचिने बर्का नाच ५÷५ वर्षको अन्तरमा गरिए पनि यो असाध्यै खर्चालु छ। जस्तो नाच समापनपछि ४ बोका, १ भेडा, ४ सुँगुर, १०० वटा कुखुरा, बली चढाउनुपर्छ। दाङमा २०१०, २०१५, २०२० र २०५५ मा गरी ४ पटक मात्रै वर्का नाच विधिवत् रूपमा गरिएको छ (थारू दहित २०५७ः ४४)। यसलाई बडकिमारको संकलनकर्ता दाङ जलौराका चन्द्रप्रसाद थारूको समूहले मात्र निरन्तरता दिएका छन्। 

जनसंख्याको हिसाबले नेपालमा बोलिने भाषामध्ये थारू भाषाको स्थान चौथोमा छ। थारू भाषाको लिखित दस्तावेजीकरणको इतिहास त्यति लामो छैन। २०६८ को जनगणनाअनुसार थारू जातिको जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको छ।  

गुरुबाबाकि जन्मौति
गुरुबाबाकि जन्मौति (गुरुबाबक् जन्मौटी÷जल्मौटी) थारू जातिको चेतनाको प्राचीन अवशेष हो। यसमा सम्बत् १६४४ कात्तिक १० गते शुक्रबारको दिन लेखिएको काथा (कथा) भनिएको छ। त्यसको तल राज्य दाङ पश्चिम चरकमटिया बस्न्या चौधरी भोजुका बेटा, भारतका वेटा रामलाल जोगीराम सीतारामको सुर्षेल पुस्तक छापेर दिने भन्ने संग्रहकालको समय २०११ मा लेखिएको छ। यस भनाइबाट सामाजिक परिवेश आजभन्दा चार सय वर्षअघिको छ। रचनाकाल यसभन्दा पनि निकै पूर्व हुनुपर्छ (आचार्यः २०६३ः १२८)। डा. गोविन्द आचार्यका अनुसार गुरुबाबक् जन्मौति नेपालकै प्रथम संकलित लोकसाहित्यको सामग्री बन्न सक्छ  (आचार्यः २०६३ः २१)। 
भनिन्छ, जुन समुदायमा सृष्टिको कथा छ, त्यो निकै आदिम समुदाय हो। गुरुवावक् जन्मौतिमा सृष्टिको कथा छ। यसको उदाहरण हेरौं–

हाँ हाँ रे पहिल ट बर्स ढुढिर कुहिर।
आव डैया कलजुग घेरल मिरटि भवन।।
हाँ हाँ रे सोनकै झलकटाव अगिउनकै रेख
जरि र ढरटि होइला र अन्ढार। 
हाँ हाँ रे चिरि चुरङगन मनुवा जरि र होइला र अन्ढार
हाँ हाँ रे रुख बरिख बाट जरि जरि होइ र अंगार
जरि ढरटि होइ र अंगार
हाँ हाँ र इन्डर रानी इन्दर राजा भौना घुमा।
चिरै भई घुमलि मिरटि भवन,
चारिकोन पिरठमि खखट उजाड
हाँ हाँ र एक छटर राजा रानी खेल हाँस करि
मासुकै ढोढार रकटमै बुँड
हाँ हाँ र एक महिनवा गुरुबाबा नाहि सर्पुन
एक महिनावकै कारि चिमटि होइ जा।

(योगी र महतो, २०१६ः ७७)

अर्थात् कलियुगले घेरेर पहिले पृथ्वी धुलै–धुलो भएर कुहिरीमण्डलझैँ ढाकियो। पृथ्वीको गर्भमा रहेको खनिज लाभाको रूपमा चारैतर्फ विस्फोट भएर कोइलाको फिलिंगोसँगै आगो जाज्वल्यमान देखियो। रूखवृक्ष, मनुष्य सबै अंगार भए। पृथ्वी अन्धकारमय भयो। यसै क्रममा इन्द्र राजा र इन्द्र रानी चरा भई पृथ्वीको परिक्रमा गरे। हाँसखेल गर्दा गर्दै रानीको गर्भ बस्यो  र पहिलो महिना कालो कमिलाको जन्म भयो। 
यद्यपि थारू समुदायको सखिया तथा अष्टिम्की काव्यमा जल, स्थलपछि कुशको उत्पत्ति भएको कथा छ। थारू भाषामा छुट्टै महाभारत (बर्किमार), रामायण (रामबिहग्रा), शिवपुराण (फुलवार)लगायत काव्य छन्। यसको व्याख्या विश्लेषण जरुरी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.