न्याय माग्न २० दिन हिंडेर काठमाडौं आएका भन्छन् : वार्ता गर्न माइतीघरमै आउनुहोस्
काठमाडौं :
कि हम्का न्याय देव सरकार
कि हम्का सांस दे सरकार।
निर्मला कुर्मी का न्याय देव।
शनिबार मध्यान्न १ बजे माइतीघर मण्डलाको माहोल अशान्त देखिन्थ्यो। हातमा प्लेकार्ड बोकेर केही महिला माइतघर प्राङ्गणमा बसिरहेका थिए। निकै थकित, गलित र बिरामी जस्ता देखिने उनीहरु कोही भुईंमा बिच्छ्याएको म्याट्रेसमै निदाएका थिए। अधिकांश महिलाहरु एक अर्काको सहारामा ढल्किरहेका थिए। कोही बिरामी देखिन्थे।
नेपाली भाषा नबुझ्ने उनीहरु कुरा गर्न पनि धक मानिरहेका थिए। कोहीको खुट्टा सुन्निएर टेक्न सकिरहेका थिएनन्। कोहीको खुट्टामा घाउ लागेको थियो। उनीहरु नेपालगन्जबाट २० दिनसम्म निरन्तर हिंडेर काठमाडौं पुगेका हुन्। उनीहरुसँगै आएकी सामाजिक अभियन्ता रुवी खानलाई हिजो प्रहरीले प्रक्राउ गरी थुनामा राखेको छ। उनको अनुपस्थितिमा महिलाहरु अल्मलिएका थिए। भन्दै थिए, ‘रुबी खानलाई रिहा गर।’
व्यापक प्रहरीको सुरक्षा घेराभित्र रहेका उनीहरु केही आत्तिएका देखिन्थे। यसै क्रममा एक जना प्रहरी अनुसन्धानकर्मी आएर उनीहरुलाई आफूसँग जानको लागि अनुरोध गरिरहेका थिए। प्रहरीले तपाईंहरुको माग सुनाउन भए पनि हामीसँग हिंड्नुहोस् भनिरहेका थिए।
तर सकिनाले आफूहरु कहीं नजाने। यहि आएर कुरा गर्नुपर्ने कुरा राखिन्।
प्रहरीले गृहमन्त्री भएको ठाउँमा वार्ता गर्न लाने भन्दा पनि सकिनाले रुबि खानलाई रिहा गर्नुपर्ने बताएकी थिइन्।
'न्यायका लागि गुहार' लेखिएको व्यानर बोकेर माइतीघरमा धर्नामा बसेका छन् उनीहरु। उनीहरुका प्लेकार्डमा ‘जबसम्म हुन्न अपराधीलाई सजाय, तबसम्म पाउँदैनन् हजारौं नन्कुन्नी धोबी र निर्मला कुर्मीले न्याय', 'महिलाको हत्या, अपहरण, शारीरिक बन्धक र कर्तव्य ज्यान गरि मार्नेहरु होसियार, मौन बस्ने सरकार खबरदार' जस्ता नारा छन्।
उनीहरुले घरेलु हिंसा पिडित महिला नन्कुन्नी धोवी हत्याका दोषीहरु तथा बिधवा महिला निर्मला कुर्मी हत्याका सबै दोषीलाई तुरुन्त प्रक्राउ गरी कारवाही गर्नुपर्ने माग राखेका छन्। साथै बाँके जिल्ला जिप्रका एसपी श्यामकुमार अधिकारी तथा डिएसपीलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ।
उनीहरुको मागबारे जिप्रका बाँकेले रामोसँग ध्यान नदिएकाले आफ्ना कुरा सुनाउन काठमाडौं आएका हुन्। गृहमन्त्री लगायत सरकार प्रमुखले आफ्नो कुरा सुनोस् र माग सम्बोधन होस् भनेर माइतीघरमा धर्ना बसिरहेका छन् । आन्दोलनमा सहभागी सकिना तेली भन्छिन्, ‘हामी नेपालगन्जदेखि हिंडेर यहाँ आयौं। उहाँहरुले हामीलाई यहीं भेटेर कुरा गर्नुहोस्। हाम्रा कुरा सुन्दैमा उहाहरुको के जान्छ ? हामी हिंसा पिडित सम्पूर्ण महिलाको न्यायको लागि लडिरहेका छौं। न्याय पाउनु हाम्रो अधिकार हो।'
बाँके नेवाजी गाउँकी नकुन्नी धोबी गत साउन ५ गते आफ्नै घरमा मृत भेटिइन्। शरीरभरि निलडाम र घाउचोटसँगै मृत भेटिएकी उनको मृत्युको कारण अहिलेसम्म पत्ता लागेको छैन। यस्तै बाँके परस्पर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको एक दशक बढी भयो। तर अहिलेसम्म उनको परिवारले कुर्मीको न सास भेटे न त लाश नै देख्न पाए। प्रहरीमा जाहेरी दिन जाँदा कुर्मीको पहिल्यै मृत्यु भएको भनी जाहेरी दर्ता गर्न नै मानेन।
उनीहरुको न्यायको माग गर्दै बाँकेबाट ११ जना महिलासहित १४ जना काठमाडौं आएका हुन्। उनीहरुले बाँकेमै पटक-पटक आन्दोलन गरे। दोषी पत्ता लगाउन, सजाय दिन भन्दै हारगुहार गरे। उनीहरुको आवाज न त प्रहरी प्रशासनले सुन्यो न त जिल्लामा सम्बन्धित निकायले बुझ्यो। कहिले प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाए त कहिले सिडियो कार्यालयमा आन्दोलन गरे ।
दोषीलाई सजाय दिलाउन तथा पिडीतलाई न्याय दिलाउन भन्दै आफ्नो कुरा केन्द्र सरकारलाई सुनाउन उनीहरु २० दिनसम्म हिंडेर काठमाडौं आएका हुन्। कहिले दिउँसोको टन्टलापुर घाममा हिंडिरहे त कहिले दिउँसो चौतारीमा सुस्ताएर रातमा हिंडिरहे। ठेला उठेर सुनिएका खुट्टा बोकेर उनीहरुले २० दिनका दिन गत बुधबार काठमाडौं टेके।
माइतीघर मण्डलामै शुक्रबार बास बस्ने योजना थियो। सहयोगी संस्थाले जुटाइदिएको खाना खाँदै थिए। प्रहरीले धरपकट गर्यो। पक्राउ गरेर उनीहरुलाई प्रहरीको गाडीमा हालेर महेन्द्र पुलिस क्लब पुर्यायो। मध्यरातमा प्रहरीले रानीवनमा रहेको मानवसेवा आश्रममा उनीहरुलाई बस्ने व्यवस्था बनाएर उहीं पुर्यायो। राती प्रक्राउ परेका महिलालाई शनिबार पुन १२ बजे माइतीघरमै ल्याएर छाडियो।
उनीहरु गृहमन्त्रीलाई नै भेट्न चाहन्थे। कुरा सुनाउन चाहन्थे। न्यायका लागि माग गर्न खोजेका थिए। गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आन्दोलनकर्मीसँग सहमती भएको जानकारी दिएका छन्। तर के के विषयमा सहमती भयो ? अब उनीहरुले आन्दोलन रोक्छन् ? या रोक्दैनन् ? केही खुलाउन चाहेनन्।