तराईमा दुर्गा पूजाको उल्लास
काठमाडौं : दुर्गा पूजाको रौनकले मधेसलाई छपक्कै छोपेको छ। घटस्थापनासँगै तराईमा देवीका रुपमा दुर्गाको विशेष पूजा गरिन्छ। आफ्नो गाउँ तथा देशमा शान्तिका लागि गाउँलेहरू एकताबद्ध भई पूजा समारोह आयोजना गर्छन्।
थरीथरीका झिलिमिली बत्ती र फूलले दुर्गा मन्दिरलाई सजाइएको हुन्छ। वर्षभरि सुनसान देखिने दुर्गा मन्दिरहरू बेहुलीझैं शृंगारिएको हुन्छ। गाउँ प्रवेश गर्ने स्थानमा स्वागतद्वार बनाइएको छ। भक्ति संगीतले थप उल्लास छाएको छ।
कलश यात्रामा कन्याकुमारीहरू सहभागी हुन्छन्। लामबद्ध भएर जलासयबाट घैंटामा जल ल्याउँछन्। मन्दिरमा निष्ठापूर्वक जमरा राखिन्छ। विजयादशमीसम्म घरघरबाट कन्याकुमारी तथा महिला दिदीबहिनीहरूले बिहान बेलुका निष्ठापूर्व पूजा गर्छन्।
विजयादशमीका दिन मन्दिरबाट गाउँलेहरू प्रसादका रुपमा जमरा घरघरमा लैजान्छन्। वषौंदेखि मन्दिरबाट लगेको जमरासँगै दसैंको टीका लगाउने गरेको महोत्तरीको बर्दिबासका रामचन्द्र महतोले बताए। साँस्कृतिक नगरी मटिहानीमा हजारौंको सहभागितामा दुर्गा पूजाको कलश यात्रा निकालिएको छ। ‘लोक बाजागाजा, झाँखी प्रदर्शन गर्दै दुर्गा मातालाई हामीले नगरमा स्वागत गरेका छौं, ’मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल भन्छन्, ‘यो चाडले सबै जातजातिलाई एकै ठाउँमा एकत्रित गर्छ र सामाजिक सद्भावलाई पनि बलियो बनाउँछ।’ दसैंको आगमन अगावै गाउँलेहरूको भेला बस्छ।
पूजाको तयारीका लागि समिति गठन हुन्छ। जे सक्छन् पूजाका लागि चन्दा दिन्छन्। प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा राजा जनककी कुलदेवी राजदेवी माताको मन्दिर विशेष रुपमा झकिझकाउ बनाइएको छ।