मुसहर जातिको शिक्षामा पहुँच बढ्दै : सम्मान गर्न पुगे नाजिर हुसेन
काठमाडौं : गरिबीले गाँस, बास, कपासकै अभावमा पिल्सिएका थिए मुसहर समुदायका पुराना पुस्ता। स्कुल टेक्न पाएका थिएनन् तर, पछिल्लो समय पढ्ने विद्यार्थीको संख्यामा वृद्धि आएको छ। उनीहरुको शैक्षिक प्रगतिको तथ्याङ्क बढेको छ।
सन् २०२१ मा २१५ मुसहर र ४ जना डोम समुदायका विद्यार्थीले एसइइ उत्तीर्ण गरेका छन्। देशमा मुसहरको संख्या १२ लाख छ। त्यसमा मुश्किलले १५ प्रतिशत साक्षर छन्।
चरम गरिवी, वञ्चितीकरणले मुसहर समुदायका बच्चाहरु शिक्षाको पहुँचमा छैनन्। एसइइ पास गरेका विधार्थीलाई नेपाली सिनेमा एवम रङ्गमञ्चका चर्चित अभिनेता नाजिर हुसेनले जनकपुरधाममा सम्मान गरेका छन्। भोरको नेतृत्वमा शक्तिहीनको सशक्तीकरण अभियान र नेपाल राष्ट्रिय मुसहर संघले उनीहरुलाई सम्मान गरेको हो।
शिक्षाबाट वञ्चित मुसहर बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन भोरले सन् २०११ बाट देश भरका एसइइ उत्तीर्ण मुसहर विधार्थीलाई उच्च शिक्षाका लागि पहल गर्दै आएको छ।
सन् २०११ मा जम्मा दुई जना मुसहर विधार्थीले एसएलसी पास गरेका थिए। सन् २०१२ मा ५ जना, २०१३ मा ७ जना, २०१४ मा ९ जना, २०१५ मा ६१ जना, २०१६ मा ९२ जना, २०१७ मा १४८ जना, २०१८ मा १६६ जना, २०१९ मा १७२ जना र २०२० मा ५४ जना मुसहर विधार्थी एसएलसी तथा एसइइ उत्तीर्ण भए।
कोरोना महामारीका कारण २०२० मा विद्यार्थीको संख्या घट्यो। देश र विदेशका मनकारी व्यक्ति तथा संघ संस्थाले कोषमा आर्थिक योगदान गर्छन्। त्यसैबाट छात्रावृत्ति दिएर उनीहरुलाई उच्चशिक्षा प्रदान गरिन्छ।
कतिपय कलेजहरुले मुसहर जातिका विद्यार्थीलाई निःशुल्क पनि पढाउने गरेको भोरका संस्थापक राजकुमार महतो बताउँछन्।