पाल्पाली भैरवको भाकलपूजा
हातमा डमरु, त्रिशूल र देख्दै मन सिरिंग हुने फलामे कालदण्ड। अत्यन्त साँवलो भयानक स्थूल देह। कालो भद्दा पहिरन र डरलाग्दा तीन नेत्र। गलामा मुण्ड माला अनि त्यसमाथि भयंकर कालो कुकुरमाथिको सवारी। भयका प्रतीक कालभैरव तामस उपासनाका उग्रतम देवता हुन्। कालभैरवलाई शास्ता अर्थात् शास्ती दिने देवता पनि भनिन्छ। यी शिवका प्रलयंकारी गण हुन्। कालभैरवलाई मृत्युको देवताको रूपमा समेत उपसाना गरिन्छ। भारतमा कालभैरवलाई उज्जैनको सेनापति र काशीको कोतवाल भन्ने गरेको पाइन्छ। भैरवको जन्म मंसिर कृष्ण अष्टमीका दिन भएको मान्यता छ।
सामान्यतः भैरव उपासनाका दुई हाँगा छन्। बटुक भैरव शान्त, सौम्य र अभयदाताको रूपमा पुजिन्छन् भने कालभैरव प्रचण्ड दण्डनायक र भयदाता हुन्। ब्रह्मवैवर्त पुराणमा महा, संहार, असितांग, रुद्र, काल, क्रोध, ताम्रचूड र चन्द्रचूड भैरवको चर्चा गरिएको पाइन्छ। भारतमा भैरवलाई मासबाट बनेको मिठाई, दूध, दही, मेवा, सर्सिउँको तेल,गाजल, सिन्दूर, मदिरा, हलुवा, बलि, खिर आदि चढाउने र कालो कुकुरलाई प्रसाद खान दिने चलन छ। भैरवको उपासना गर्नेले यो स्तोत्र पाठ गर्ने गरेमा कल्याणकारी हुने लोकविश्वास छ–
‘यं यं यं यक्ष रूपं दशदिशिवदनं भूमिकम्पायमानं।
दं दं दं दीर्घकायं विकृतनख मुखं चौर्ध्वरोयं करालं।
पं पं पं पापनाशं प्रणमत सततं भैरवं क्षेत्रपालम्।’
पाल्पालीहरू समय विपरीत चल्दा, विदेशमा दुःख पर्दा, निर्जन वनमा एक्लै हुँदा, प्रेममा कष्ट पर्दा, विवाहको इच्छा जाग्दा, परीषा दिने समय हुँदा, सन्तान जन्माउने इच्छा लाग्दा, लाचार भएर भरोसा टुट्दा, खेतीपातीको समय हुँदा, गलित, थकित एवं निराश बन्दा र कसैकसैले त जुवा खेल्दासमेत आफ्ना इष्टदेव कालभैरवलाई भाकल गर्छन्। भैरवको नाम लिएर कसम खाने कुरालाई सत्य होला भनी विश्वास गर्ने चलन अझै पनि कायमै छ। धर्मभीरुहरू विवाद, आपसी कलह, लेनदेन र इमान्दारीको सत्यापन गर्न या पीर–वेदनामा र एक्लै बेसहारा हुँदा भैरवको नाम लिएर दुःख र शोकबाट त्राण पाएको अनुभव गर्छन्।
उनीहरू दुर्भाग्यले दुःख दिँदा, अकारण अकीर्ति फैलिँदार दुष्ट ग्रहले पीडा दिँदा पनि त्यसको शमनका लागि भैरवको भाकल गर्छन्।
पाल्पाली राजा मुकुन्दसेन (प्रथम) ले विक्रम संवत् १५८० को दशकमा काठमाडौं उपत्यकामा भीषण आक्रमण गरेका थिए। विजयी राजाले मत्स्येन्द्रनाथको जात्रामा निकालेको भैरवको मूर्ति उखेली पाल्पामा ल्याएर स्थापना गरे। सो सम्बन्धमा भाषा वंशावलीमा भनिएको छ, ‘पाल्पा देशदेखि मुकुन्दसेन नाम गर्याका बडो वीर राजा सवालाख लस्कर साथ गरी यस नेपाल पुरीमा प्रवेश गरी...मच्छेन्द्रनाथका जात्रामा निकासी राख्या भैरवको मूर्ति उखाली आफ्नो स्वदेश पाल्पा नाम बुटौलीदेश पठाइदिया’(निर्मल श्रेष्ठ, सेनकालीन इतिहास, कला र संस्कृति)।
सैनिकबलको भरमा मूर्ति लुटपाट गरेर ल्याएका राजा स्वदेश फर्केपछि अत्यन्त भयभीत भए। राजाले आफ्नो राजदरबार रहेको थुम्कोको सन्निकट पूर्वतर्फको डाँडामाथि मन्दिर स्थापना गरी कालभैरवलाई प्रसन्न पार्न थुप्रै राँगा, कुखुरा, हाँस, बोका र भेडाको बलि चढाए। किन्तु बलात् स्थान भ्रष्ट गरेर ल्याइएका भैरव झनै कुपित हुन पुगे। क्रोधित कालभैरव म राँगा बोका होइन, तँलाई नै खान्छु भन्दै राजामाथि जाइलाग्दा काली माताले जोगाएको र नाथ सम्प्रदायका जोगीहरूले भैरवलाई शान्त पारेर थान्को लगाएको जनश्रुति छ। मत्स्येन्द्रनाथको जात्रामा निकालिएका कालभैरवलाई उखेलेर ल्याएका राजा मुकुन्दसेनले मत्स्येन्द्रनाथकै अनुयायी नाथ सम्प्रदायका जोगीहरूलाई पुजारी नियुक्ति गर्नुमा ठूलो मनोवैज्ञानिक कारण छ। शक्तिको दम्भमा देवतालाई लुटेर ल्याउने राजा स्वदेश फर्केपछि भयभीत भएको घटना उनको धर्मभीरु चरित्रको बिम्ब हो। सायद त्यही भयले गर्दा राजाले भैरवको मूर्तिलाई हेर्नसम्म सकेनन्। अहिले पनि सो मूर्ति पुजारीलगायत कसैले पनि हेर्न पाउँदैनन्।
राजा मुकुन्दसेन तत्कालीन समयमा हिमालयपर्वतको दक्षिणतर्फ राज्य गर्ने राजामध्ये सर्वाधिक वीर, समृद्ध र प्रतापी थिए। उनले एकै समयमा हिन्दु संस्कृतिका दुईथरी प्रवृत्तिको प्रतिनिधित्व गर्ने देवताको स्थापना गरेका थिए। मुकुन्दसेनले सात्विक भावका भक्तहरूलाई लक्षित गरी कालीगण्डकीको किनारमा अवस्थित रुरु क्षेत्रमा ऋषिकेशवको मन्दिर निर्माण गर्न लगाए। भगवान् ऋषिकेशवको दर्शन गर्न जाने भक्तहरू यस जन्ममा सात्विक वैराग्य र मरणोपरान्त मोक्ष मिलोस् भनीकामना गर्दछन् । त्यहाँबाट डेढ दुई घण्टाको दूरीमा गण्डकीको दक्षिणतिरको डाँडामाथि स्थापना भएको कालभैरवको मन्दिर यसै जुनीमा सुख, समृद्धिर रमाइलो जीवनको चाहना गर्नेका लागि हो। विशेष गरेर भूत, प्रेत, ग्रह, रिसानी, डाकिनी, साकिनी, लागोभागो आदि तामसी र उत्पाती अरिष्टहरूको शमन र रोकथामका लागि कालभैरवको उपासना, पूजा र भाकल गर्ने चलन छ।
तत्कालीन राजा मुकुन्दसेनले कालभैरवको स्थापना गर्नुअघि पनि पाल्पामा अनेकौं देवीदेवताका मन्दिर थिए र अझै पनि छन्। परन्तु काठमाडौंबाट ल्याइएका कालभैरव सेन राजपरिवारका इष्टदेव मात्र नभई सर्वसाधारणका समेत प्रिय देवता बने। टाढाको जोगी सिद्ध र टाढाका देवता ठूला मान्ने हाम्रो परम्परा नै हो। त्यसमा पनि कालभैरव त ठूलो देशबाट ल्याइएका ठूला देवता। काठमाडौंबाट पाल्पासम्म लामो यात्रा गरेर आएका कालभैरव पाल्पाली र सेरोफेरोका जनताका भयदाता र भयत्राता दुबै बने। सहकालका देवता मानिने मत्स्येन्द्रनाथको जात्रामा सँगसँगै निकालिएका कालभैरव त्यसबखतका धर्मभीरु पाल्पालीका लागि डर, सहकाल र वरदानका प्रतीक बन्न पुगे।
कालभैरव रिसाहा र भयंकर भए तापनि इच्छा पूरा गरिदिने दानी र उदार देवता हुन् भन्ने छविसमेत कायम भयो। सक्कली कालभैरवको मूर्ति नितान्त भयकारी भएको हुँदा उनको दर्शन गर्न कसैले नसक्ने लोकविश्वास छ। भक्तजनहरूको सुविधाका लागि चाँदीको अभयंकर मूर्तिको दर्शन गर्ने व्यवस्था मिलाइएको छ। सोही बखतदेखि आरम्भ भएको प्रत्येक घरबाट मंसिर, वैशाख र नवदुर्गाको समय गरी कम्तीमा वर्षको तीन पटक रोट चढाउने प्रचलन कायमै छ। पाथीको रोट, बोका या पञ्चबलि सामान्यतः भाकल पूरा भएपछि लैजाने गरिन्छ। मोटरबाटो नबन्दासम्म पञ्चबलि लैजाँदा बाजागाजासहित जन्ती गए जस्तै गरी रमाइलो गर्दै जाने परम्परा थियो। विशेष गरेर परदेशको युद्धमा परी सकुशल बाँचेर आउने लाहुरेहरू कालभैरवप्रति अत्यन्तै कृतज्ञ हुने गर्दथे।
भाकल भनेको आफूले चाहेअनुसार भएमा देवी देवतालाई पूजा गर्ने र भेटी या बलि चढाउने प्रतिज्ञा हो। कुनै अभावको पूर्ति या इच्छासिद्धि भएमा यसो गर्नेछु भनी पूर्वकबुलियत गर्नु नै भाकल हो। भैरवको भाकलको मनोविज्ञान अनौठो छ। यसले भाकलकर्तालाई कर्मशील भाग्यवादी बनाउँछ। भाकल गरेको व्यक्ति अत्यन्तै जाँगरसाथ आफ्नो कर्ममा जुट्छ। आफूले गरेको भाकल पूरा भएको व्यक्ति प्रफुल्ल हुँदै भैरवलाई भाकल बुझाउन जान्छ। प्रायः मनोकामना पूर्ण भएका कृतज्ञ मानिसहरू नै भैरवस्थान जाने हुँदा सबै यात्री प्रसन्न मुद्रामा देखिन्छन्। त्यसमाथि पाल्पा भैरवको सेरोफेरो र त्यहाँबाट देखिने लामो हिमशृंखलाको दृश्यले सबैलाई सुखद आनन्द प्रदान गरिरहेको हुन्छ।
विगतमा कालभैरवको पूजा नवरात्रको बेलामा सबै दिन र अरू समयमा शनिबार र मंगलबार मात्र गर्ने प्रचलन थियो। केही वर्षयता दर्शनार्थीहरूको संख्या निरन्तर बढ्दै गएको छ। हाल टाढाटाढाबाट आउने भक्तजनहरूको सुविधालाई ध्यानमा राखी बारको बन्देज हटाइएको छ। पाल्पाली कालभैरवको मन्दिर तानसेनबाट नौ किलोमिटर मात्र पश्चिममा रहेको हुँदा यात्रा सहज, रसिलो र रमणीय हुन्छ। पूजास्थल र मन्दिर परिसरमा कुनै प्रकारको जातीय विभेद छैन। भैरव र काली माईलाई चढाइने रोट र फूलप्रसाद सुपथ मूल्यमा खरिद गर्न पाइन्छ।