खसी महँगियो, च्याङ्ग्रा भेटिएन
काठमाडौं : खाद्य व्यवस्था तथा व्यपार कम्पनी काठमाडौंमा शनिबार उपभोक्ताहरूको खचाखच भीड थियो । खसी र बोकाको बथान थियो । कोही खसी रोजेर तौलन लाइन लागेका । कोही रोज्दै गाडीमा लगाउँदै छन्। यो कार्यालय खाद्यले खसी/बोका बिक्री गर्ने मुलुककै एक मात्र स्थान हो।
जिउँदो खसी किलोको ६४०
कर्मचारीलाई भ्याइनभ्याइ छ। ग्राहकको नाममा बिल काट्छन्। अनि पैसा तिरेर खसी लैजान चिच्याउँछन्। खाद्यले गत वर्षदेखि उपभोक्तलाई च्याङ्ग्रा उपलब्ध गराउन सकेको छैन। ‘बजारभन्दा खसीको मूल्य बढी भयो। महँगो भएर के भो त ? हामी गरिबले सजिलै किन्न त पाइयो,’ उपभोक्ताहरू आपसमा गफिदै छन्। तुलसीपुर र हेटौंडाबाट ल्याएका हजार बढी खसी गोदामको खोरमा छन्। जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ तोकिएको छ । त्यसमा १० रुपैयाँ छुट दिइन्छ।
शनिबार पनि खुल्यो कार्यालय !
सरकारी कार्यालय शनिबार बन्द हुन्छ। तर, खाद्य व्यवस्था कार्यालय थापाथली भने शनिबार बिहानै खुलेको थियो। दसैंका लागि खसी/बोका किन्न उपभोक्तहरू खाद्य व्यवस्था कार्यालयमा लाइनमा बसेका थिए। अरू बेला खासै भीड हुँदैन। तर, दसैंमा स्वास्थ्य परीक्षण गरिएको खसी बोका पाइन्छ। त्यसैले उपभोक्ताको घुइँचो लागेको थियो।
सस्तोमा खसी किनियो
बसुन्धराका ३१ वर्षीय राजेन्द्र खड्काले २० किलाको खसी किने। उनले भने, ‘बल्ल दसैं आए जस्तो लाग्यो।’
राजेन्द्र औषधि व्यवसायी हुन्। उनलाई बजार पसेर खसी किन्ने फुर्सद थिएन। ‘सरकारी स्वस्थ्य खसी किन्ने व्यवस्था हुनु राम्रो हो,’ उनले भने, ‘बजारमा किन्दा कस्तो पर्छ–पर्छ भर हुँदैन। यहाँ सुलभ दरमा किन्न पाइयो।’
काठमाडौंकै उपेन्द्र कुँबर पनि खसी रोज्दै थिए। ‘जुन खसी हेर्यो त्यही राम्रो लाग्छ,’ उनले भने, ‘सरकारले यसपालि राम्रो व्यवस्थापन गरेको छ।’
जब घरमा खसी किनेर लगिन्छ अनि मात्रै बालबालिकाहरूलाई दसैं आएको भान हुन्छ। रमाउन थाल्छन्। अभिभावकसँग छोराछोरी पनि खसी रोज्न आएका थिए। अभिभावक उनीहरूले रोजेकै किन्थे। भैंसीपाटीका मदन केसीले १७ हजार २ सय ८० रुपैयाँमा २० किलोको खसी किने। ‘महँगो भन्न मिल्दैन। पोहोर साल अरू बजारमा किन्दा यत्रैलाई २२ हजार परेको थियो।
पहिलेभन्दा महँगो
टेकुका राजीव रामदाम खोजेको जस्तै खसी पाएपछि दंग परे। तर, पहिलेभन्दा मूल्य बढेको उनको भनाइ छ। ‘गएको वर्ष ५ सय ५० रुपैयाँ प्रतिकिलो जिउँदो खसी पाएका थियौं। सरकारीले आफ्नै कार्यालयमा पनि महँगी नियन्त्रण गर्न सकेन,’ उनले भने।
खसी कुर्न रातभरि जाग्राम
दाङ र हेटौंडाका गाउँ–गाउँबाट बिक्रीका लागि ल्याइएका १ हजार खसी बोका छन्। ती खसीबोका ३ दिनदेखि खोरमा ल्याएर राखिएको छ। खसीको रेखदेखमा १३ जना खटिएको कर्मचारी गणेशबहादुर फँुयालले बताए। जंगलबाट घाँस ल्याइएको छ। पानी, कुँडो खान दिइएको छ। दीपक दंगाललाई खसी बोका सेहार्न भ्याइनभ्याइ थियो। ‘चार दिनदेखि हामी खोरमा पाले बसेका छौं। एउटा तल माथि भयो भने जवाफ दिनुपर्छ,’ उनले भने।
सोलुखुम्बुका सुदीप वन काठमाडौंमा बस्छन्। उनले दसैंमा घर आउन पाहुनालाई निम्तो दिइसकेका छन्। ‘रोज्दै छु। एउटा त किनेर लान्छु,’ छोटो कुरानाकी गरे।
दसैं भव्य हुन्छ
कोरोना कहरका कारण नागरिकले दुई वर्षदेखि राम्रोसंँग दसैं मान्न सकेका छैनन्। यो वर्ष संक्रमण कम भएको र धेरैको भ्याक्निसमेत लगाइसकेकाले जोखिम कम छ। त्यसैले पनि बजारमा चहलपहल बाक्लो छ। धुलिखेलका ३५ वर्षीय सन्तोष रानाभाट भव्य रूपमा दसैं मनाउने तयारीमा छन्। ‘खसी किनेर लगिन्छ। पाहुनालाई बोलाइन्छ। जमेर रमाइलो गरिन्छ,’ खसी किन्नेहरूको भीडबाट रानाभाटले भने, ‘कोरोनाको ह्यांगओभर भगाइन्छ।’
गोदामभरि खसी
सदर धान गोदामका २ वटा खोरमा खसी/बोका राखिएको छ। अबको चार दिनसम्म बिक्री गर्ने कार्यालयका जिन्सी शाखा वरिष्ठ सहायक ललिलकुमार यादवले बताए। ‘सहकारी र गाउँका किसानबाट हामी लोकल जातको खसीबोका किनेर काठमाडौं उपभोक्तालाई सस्तो रेटमा बिक्री गरिरहेका छौं,’ उनले भने, ‘यसपालि १ हजार ५६ वटा ल्याएका छौं।
जसको तौल १८ हजार १५० किलो छ।’ मागअनुसार ल्याउने क्रम जारी रहेको यादवले बताए। शनिबार ४ बजेसम्म ६ सय ५ वटा खसी उपभोक्ताले किनेर लगिसकेका छन्।
अनलाइनबाटै सेवा
दसैंको अवसरमा सस्तो मूल्यमा उपभोक्तालाई खसी/बोका उपलब्ध गराउँदै आइएको कार्यालय प्रमुख ज्ञानु थापाले बताइन्। ‘हामी यस वर्ष झण्डै २ हजार खसी बिक्री गर्ने योजनामा छौं,’ उनले भनिन्, ‘उपभोक्ताको चाप बढ्यो भने संख्या बढाउँछौं।’ अष्टमीसम्म कार्यालय खुला रहन्छ।
अघिल्लो वर्षभन्दा सय रुपैयाँ बढीमै खसी बोका किनेर ल्यानुपरेको खाद्य व्यवस्थाले जनाएको छ। ‘ढुवानी र प्रशासनिक खर्च हुन्छ। तर, पनि प्रतिकेजी १० रुपैयाँ छुट दिएका छौं,’ प्रमुख थापाले भनिन्, ‘नाफा होइन सेवाको भावनाले काम गरिहेका छौं।’
सरकारले खाद्यान्नको सौलियत पसल असोज १ गतेदेखि काठमाडौंको चार ठाउँमा राखेकोे उनले बताइन्। त्यहाँबाट दाल, चामल, तेल नुन, पिठो जस्ता समाग्रीहरू उपलब्ध गराइएको छ। अनलाइन अडरको समेत प्रबन्ध छ। निःशुल्क होमडेलेभरी सेवा दिइन्छ।
उपभोक्तालाई छैन च्याङ्ग्रा
यसपालिको दसैंमा खाद्यले च्याङ्ग्रा उपलब्ध गराउन सकेको छैन। चीनतर्फका नाका ठप्प छन्। हिमालपारीबाट ल्याउन सकिएको छैन। १ हजार च्याङ्ग्रा ल्याउने योजना थियो। ‘बजारमा माग बढ्यो तर, आपूर्ति कम छ।
महँगो पर्ने भएकाले हामीले ल्याउन सकेनौं,’ खाद्यका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले भने। शनिबार साँझसम्म कार्यालयमा खसी/बोका किन्नेको भीड थियो। खाद्य व्यवस्थाले ३९ जिल्लाका ४३ स्थानबाट चाडपर्वलाई लक्षित गरे सुविधाका स्टलहरू सञ्चालन गरेको छ।