मुस्ताङको एक यस्तो गाउँ; जहाँ सामूहिक दसैं टिका लगाइन्छ
जोमसोम : मुस्ताङको ५ स्थानीय तहमा ९६ वटा गाउँ छन्। उपल्लो मुस्ताङमा गुरुङ, बिष्ट र लोहा समुदायको बस्ती छ। तल्लो मुस्ताङमा थकाली, गुरुङ र केही दलित समुदायको बस्ती छ। सबै गाउँहरुमा मुखिया प्रथा कायम छ।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङमा अधिकांश आदिबासी जनजाति समुदायले बौद्ध धर्म मान्ने गर्छन्। उनीहरु सबैको जातीय परम्परा अनुसारको धर्म संस्कृति, सभ्यता र मौलिक पर्वको विशेषता छ। उपल्लो मुताङका जनजाति समुदायले यार्तुङ, तिजी, धज्याङ लगायतका चाडपर्व बौद्ध परम्परा अनुसार मनाउने गर्छन्। तल्लो मुस्ताङका थकालीले फागु पूर्णिमा अर्थात तोरन्ल्ह पर्व हर्ष उल्लासका साथ मनाउने गर्छन्। मुस्ताङका १३ प्रतिशत दलित समुदायले पनि जनजाति समुदायले मनाउने चाड पर्व अनुसरण गर्दै आइरहेका छन्। यद्यपि यो समुदायले हिन्दूहरुको महान् पर्व बडादसैँ पर्व पनि मनाउने गर्छन्।
मुस्ताङमा बडादसैँले खासै महत्व राख्दैन। तर सामान्य रूपमा भने मनाउने गर्छन्। मुस्ताङको ९६ वटा गाउँमध्ये घरपझोङ—५ ठिनी गाउँ यस्तो गाउँ हो जहाँ दसैँमा सदियौँदेखि टीका लगाउने चलन छ। मुस्ताङका दलित समुदाय बाहेक अन्य गाउँका जनजातिले दसैँ पर्वमा टीका लगाउँदैनन्। तर ठिनी गाउँको कोतघरमा बर्सेनि सामूहिक टीका लगाउने प्रचलन अझै जिवितै छ। ठिनी गाउँका ज्येष्ठ नागरिकहरुले कोतघरमा आउने व्यक्तिलाई टीका लगाएर आर्शिवाद दिने चलन रहेको ठिनी थकाली होम स्टेकी सचिव जुमा थकालीले जानकारी दिईन्। उनका अनुसार ठिनी कोतघरमा जोमसोम, स्याङ र ठिनी लगायतकाले टिका लगाउन आउने गरेको बताइन्।
मुस्ताङको ठिनीमा राजा थर्कोचेनको पालादेखि नै कोतघरमा सामूहिक दसैँ टीका लगाउने चलन रहेको छ।
मुस्ताङको ठिनी कोतघरमा यसपटक २ सय भन्दा बढीले दसैँ टीका र ज्येष्ठ नागरिकबाट आर्शिवाद ग्रहण गरेका छन्। बर्सेनि दसैँमा कोतघरमा सामूहिक टीका लगाउने चलन रहेपनि कोरोना कहरका कारण अघिल्लो वर्ष लगाइएको थिएन। यस वर्ष भने कोरोना संक्रमण अलि कम भएपछि सामूहिक टीका लगाइएको हो।
मुस्ताङमा दसैँ पर्वमा पशु बलिदिने चलन छैन। बरु दसैँ पर्वमा देशभरका शक्तिपीठमा पशु बलि दिने चलन रहेकाले शान्तिको कामना गर्दे दीप प्रज्वलन र पूजापाठ गर्ने चलन छ। मुस्ताङका अधिकांश गाउँमा दसैँ पर्व मनाउने प्रचलन नरहेपनि पछिल्लो समय मिठो खाने, राम्रो लगाउने र आपसमा रमाईलो गर्ने चलन बढेको छ।