नेकपा एसको ३३५ सदस्यीय केन्द्रीय कमिटी, एमालेको जस्तै केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालय
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले ३ सय ३५ सदस्यीय जम्बो केन्द्रीय कमिटी बनाएको छ। पार्टी अध्यक्ष माधव नेपालले अन्तरपार्टी निर्देशिका (अपानि) जारी गर्दै पार्टीको सांगठनिक संरचना र नेताहरूको जिम्मेवारी सार्वजनिक गरेका हुन्। अपानिमा केन्द्रदेखि जिल्लाका नेताहरूको जिम्मेवारीसमेत निर्धारण गरिएको छ।
नेकपा एसमा २२ पदाधिकारीसहित ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको अन्तरपार्टी निर्देशन (अपानि) मा उल्लेख छ। नेता व्यवस्थापन गर्न पार्टीले जम्बो कमिटी बनाएको हो। झलनाथ खनाललाई पार्टीको ‘सम्मानित’ नेताको पद दिएर दोस्रो वरियाताक्रममा राखिएको छ। खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारीसमेत तोकिएको छ।
मुकुन्द न्यौपानेलाई तेस्रो र प्रदीप नेपाललाई चौथो वरियाताक्रममा राखिएको छ। न्यौपाने र नेपाललाई नयाँ पद ‘नेता’ हैसियत प्रदान गरिएको छ। न्यौपानेलाई उद्योग वाणिज्य विभागको प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्जको बनाइएको छ। नेता प्रदीप नेपाललाई प्रतिष्ठानहरूको इन्जार्च बनाइएको छ। त्यस्तै, ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव र ६ सचिव बनाइएको छ। उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ,धर्मनाथप्रसाद साह, जयन्ती राई छन् भने महासचिवमा डा. बेदुराम भुसाल, उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडालाई चयन गरिएको छ।
नागेन्द्र चौधरी, भागवत विश्वासी, गरिमा शाह, राजन्द्र राई, रामकुमारी झाक्री र जीवनराम श्रेष्ठलाई सचिव बनाइएको छ। यो पार्टीले ४२ सदस्यीय स्थायी समिति र ७१ सदस्यीय पोलिटब्युरो बनाएको छ। राजकीय मामिला विभाग प्रमुख उपाध्यक्ष पाण्डे, स्कुल विभागको जिम्मेवारी उपाध्यक्ष हमालाई दिइएको छ भने संगठन विभाग महासचिव भुसालले हेर्ने छन्। प्रचार विभागमा उपमहासचिव खतिवडा छन्। प्रेम आलेबाहेक मन्त्री बनेकालाई कुनै जिम्मेवारी दिइएको छैन। आलेलाई सुदूरपश्चिम प्रदेशको सह–इन्चार्ज बनाइएको छ। विरोध खतिवडा, रामकुमार झाँक्री र कृष्णकुमार श्रेष्ठ(किसान)लाई मन्त्रीको मात्रै जिम्मेवारी दिइएको छ।
एमालेको जस्तै केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालय
नेकपा (एमाले)को जस्तै नेकपा (एस)ले केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालयको गठन गरेको छ। एमालेले हालै सम्पन्न विधान महाधिवेशनमा केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालयको व्यवस्था गरेको छ। नेकपा एसले अध्यक्ष नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय बनाएको छ। सचिवालयमा झलनाथ खनाल, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, प्रमेख हमाल, जयन्ती राई, डा. बेदुराम भुसाल, प्रकाश ज्वाला, डा. गंगाधर तुलाधार, डा. विजय पौडेल, जगन्नाथ खतिवडा छन्। महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा केन्द्रीय कार्यालय ५ सदस्यीय बनाएको छ। प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र जगन्नाथ खतिवडा छन्।
त्यसैगरी, एसले प्रदेश कमिटीको पदाधिकारीको चयन गरेको छ। प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेतलाई बनाएको छ। सहइञ्चार्जमा राजेन्द्रकुमार राई, अध्यक्ष सुरेश कार्की, उपाध्यक्ष बलदेव चौधरी र राजन राई छन्। सचिवमा महेश रेग्मी र उपसचिवमा सरिता थापालाई चयन गरेको छ।
त्यस्तै, प्रदेश २ को इन्चार्जमा धर्मनाथप्रसाद साह, सहइन्चार्जमा रामप्रित पासवान, रत्नेश्वर गोइत, कल्याली खड्का तथा अध्यक्षमा रामचन्द्र यादव र सचिवमा लक्ष्मण पौडेललाई चयन गरेको छ। बागमती प्रदेशको इन्चार्जमा केदार न्यौपाने, सहइन्चार्जमा जीवनराम श्रेष्ठ र कृष्ण खनाल तथा अध्यक्षमा सावित्रा भुसाल र सचिवमा लमक्ष्ण लम्साल चयन भएका छन्।
गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ, सहइन्चार्जमा चुडामणि जंगली, शारदा सुवेदी चयन भएका छन् भने अध्यक्षमा तुलबहादुर गुरुङ, उपाध्यक्षमा रामजी शर्मा, सचिवमा प्रतावलाल श्रेष्ठ उपसचिवमा श्रीनाथ बराल र रेखा थापा चयन भएका छन्। लुम्बनी प्रदेशको इन्चार्जमा भागवत विश्वासी, सहइन्चार्जमा सोमप्रसाद पाण्डे र दलबहादुर सुनार छन्। अध्यक्षमा मेटमणि चौधरी र सचिव राजु गुरुङ चयन भएका छन्।
त्यस्तै, कर्णाली प्रदेशको इन्चार्जमा प्रकाश ज्वाला, सहइन्चार्जमा चन्द्रबहादुर शाही, हंशबहादुर शाही र शेरबहादुर केसी चयन भएका छन्। सचिव ठगेन्द्रप्रकाश पुरीलाई सचिव बनाइएको छ। सुदूरपश्चिम प्रदेशको इन्चार्ज गरिमा शाह र सहइन्चार्जमा प्रेम आले र नीरा जैरु, अध्यक्षमा विक्रम शाहीलाई बनाइएको छ। हर्कबहादुर सिंह, शेरबहादुर कुँवरलाई उपाध्यक्षमा दिनेशचन्द्र सुवेदी, सचिवमा दीर्घ सोडारी, तारा लामा र माया भट्टलाई उपसचिवको जिम्मेवारी दिइएको छ। उपत्यका विशेष प्रदेशको इन्चार्ज विश्वनाथ प्याकुरेल, अध्यक्ष केदार सञ्जेल र सचिव विष्णु लम्साल भएका छन्। सम्पर्क समन्वय कमिटीको संयोजक विजय गुरुङ, सहसंयोजक लक्ष्मण केसी र सचिवमा चन्द्र शाही छन्।
केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा शिवबहादुर देउवा, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्षमा भरतकुमार श्रेष्ठ, केन्द्रीय निर्वाचन आयोगका अध्यक्षमा माधव पौडेललाई जिम्मेवारी दिएको छ। नेकपा(एस) १३४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्, ३३ सदस्यीय केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च बनाएको छ। प्रदेश तथा स्थानीय कमिटीका ७ पदाधिकारीमध्ये कम्तीमा एक जना महिला हुनुपर्नेछ।
लेबी स्वेच्छिक
नेकपा(एस)ले लेबीलाई स्वेच्छिक बनाएको छ। नेकपा (एमाले) गठित सदस्यताको लिस्ट प्राप्त गर्ने र सगठित सदस्यता प्राप्त गरेको पुरानै मितिलाई कायम राखी नवीकरण गर्ने व्यवस्था गरको छ । अपानिमा भनिएको छ, ‘नवीकरण गर्दा विगत वर्षको सदस्यता शुल्क र लेबी अनिवार्य नगरी स्वेच्छिक सहयोगका रूपमा प्राप्त गर्न सकिने छ। मापदण्ड पूरा गरेका व्यक्तिहरूलाई प्रक्रिया पूरा गरेर व्यापक रूपमा नयाँ संगठित सदस्यता वितरण गर्ने।’