१७ हजार शिक्षकको दरबन्दी खाली

१७ हजार शिक्षकको दरबन्दी खाली

काठमाडौं : शिक्षक सेवा आयोगको नियमावली संशोधनपछि रिक्त शिक्षक दरबन्दी पदपूर्तिका लागि विज्ञापन खुलाउने तयारी भएको छ। आयोग नियमावली २०५७ को दफा (१८) र (३८) नम्बरको बुँदा संशोधन भएपछि विज्ञापन खुलाउने तयारी भएको हो।

दफा १८ को परीक्षाको पुर्णाङक र उत्तीर्णाङक सम्बन्धी व्यवस्थामा आयोगबाट लिइने प्रतियोगितात्मक परीक्षाको पुर्णाङक देहाय बमोजिमको हुने उल्लेख छ। उक्त बुँदा संशोधन गरी खुला प्रतियोगीतात्मक परीक्षा बनाउनुपर्ने गरी प्रस्ताव लगिएको छ।

यस्तै, दफा ३८ को परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारीस सम्बन्धी अन्य व्यवस्थाको दुई नम्बर बुँदा संशोधन गर्ने गरी प्रस्ताव लगिएको छ। आयोगले ६ महिनाअघि नै शिक्षक सेवा नियमावलीसमेत संशोधनका लागि मन्त्रिपरीषद्मा प्रस्ताव लगेको थियो। शिक्षामन्त्री नियुक्त नहुँदा नियमावली संशोधन प्रकृया अघि बढ्न सकेको थिएन। 

आयोगले शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा लगायतका काम अड्काएका छन्। आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाका अनुसार नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरीषद्ले पास गरे रिक्त दरबन्दी १७ हजार २२३ जना शिक्षकको विज्ञापन खुलाइनेछ। आयोगका अनुसार माध्यमिक तहमा १ हजार ५४४, निम्न माध्यमिक तहमा २ हजार ५९४ र प्राथमिक तहमा १३ हजार ८५ स्थायी शिक्षक छनोट गर्ने तयारी छ।

प्रवक्ता मरहठ्ठाले अन्नपूर्णसँग भने, ‘शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट मावीमा १५ सय ४४ निमावीमा २५ सय ९४ र प्राथमिक तहमा १३ हजार ८५ जना शिक्षकरिक्त दरबन्दी आयोगलाइ प्राप्त भएको छ।’

केन्द्रले २०७८ चैत मसान्तसम्म अनिवार्य अवकाश हुनेसहित रिक्त हुने शिक्षकको दरबन्दी विवरण आयोगमा पठाएको छ। आयोगलाई केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार २२३ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाएको छ। यस्तै, ३ हजार ३९१ शिक्षकको बढुवा प्रक्रियामा रहेको छ।

शिक्षकको छनौट लगत्तै शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन गर्ने आयोगको योजना छ। आर्थिक वर्ष ०७५-०७६ मा लाइसेन्स परीक्षा लिइएको थियो। हालसम्म  विभिन्न तहमा ७ लाख १७ हजार १०३ जनाले शिक्षक अध्यापन अनुमति पत्र लिइसकेका छन्। जसअन्तर्गत अहिलेसम्म माध्यमिक तहमा १ लाख ४४ हजार ३८१ जना, नीम्न माध्यमिक तहमा ३ लाख र प्राथमिक तहमा २ लाख २ हजार ७१२ जनाले अध्यापन अनुमति पत्र लिएका छन्।

आर्थिक वर्ष २०७४-०७५ देखि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन हुन सकेको छैन। नियमावली संशोधन नहुँदा आयोगको वार्षिक कार्यतालिका, परीक्षा लगायतका कामहरु प्रभावित बनेका छन्।

प्रवक्ता मरहठ्ठाले भने, ‘शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा रोकिएको भन्न मिल्दैन। अध्यापन अनुमतिपत्र २०७६ असार २ गते विज्ञापन प्रकाशीत गर्‍यौँ। अध्यापन अनुमति पत्र परीक्षामा भएको त्रुटीहरु सच्याउँदैछौँ। २०७५ जेठ र असारमा खुला विज्ञापन गर्‍यौँ। लाइसेन्सको लागि समस्या छैन। लाइसेन्स भएका जनशक्ती मार्केटमा छ।’ हाल देशभर १ लाख ८ हजार शिक्षकहरु कार्यरत रहेका छन्।'

यस्तै, शिक्षक सेवा नियमावली संशोधन लगायतका विषयमा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मी र शिक्षा मन्त्री देवेन्द्र पौडेलबीच छलफल हुने तयारी छ। छलफलबाट निष्कर्ष निस्किए लगत्तै नियमावली संशोधन भए आयोगले विज्ञापन खुलाउनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.