सुनसरीमा बाढीको वितण्डा
इटहरी : सुनसरीका विभिन्न खोलामा आएको बाढीले विभिन्न गाउँ बस्ती डुबाएको छ। कयौं पसल, उद्योगमा पानी पसेको छ। सवारी साधन अवरुद्ध बनेको छ।
शेहरा खोलामा आएको बाढीले इटहरी डुबानमा परेको छ। शेहरा खोलाको बाढी टेंग्रा तथा बुढी खोलामा पसेकोले बाढी आएको हो। बाढीबाट इटहरीका अधिकांश वडाहरु डुबानमा परेका छन्। वर्षा निरन्तर रहेकोले थप डुबान हुने सम्भावना छ।
यसअघि कहिल्यै पानी नपसेका घरमा समेत पानी पसेको स्थानीयले बताए। तरहराको पानीपियामा आएको बाढीले स्थानीय केही घरहरु डुबाएका छन्। फँसेका मानिसहरुको उद्धार गरिएको थियो। कोशी राजमार्ग हुँदै इटहरीबाट धरान जाने सवारी साधनहरु तरहरामा रोकिएका छन्।
यता सर्दू र सुनसरी खोलाले बराहक्षेत्र, इनरुवा, दुहबीलगायतका ठाउँहरुसमेत डुबानमा परेको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले खोलाहरुमा भएका अवरोधहरु हटाउने कार्यलाई तीव्रता दिएका छन् भने आवश्यकताअनुसार उद्धारका गतिविधिसमेत अघि बढाएका छन्।
इटहरीको बुढी खोला किनारका दुई वटा वस्तीमा रहेका पाँच दर्जन बढी घर परिवारहरु सुरक्षित स्थानमा सरेका छन्। केही वर्षअघि आएको बाढीमा परी उक्त बुढी खोला किनारका दुई वस्तीका ६ जनाको ज्यान गएको थियो।