उत्तर कोरियाको छेप्यास्त्र प्रहारमा अमेरिका र युरोपद्वारा निन्दा
वासिङटनः उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारमा संयुक्त राज्य अमेरिका र युरोपले निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले मंगलबार जापानको समुद्री क्षेत्रमा ‘नयाँ खालको’ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको भन्दै अमेरिका, बेलायत र फ्रान्सले निन्दा गरेका हुन् ।
उत्तर कोरियाले गरेको छेप्यास्त्र परीक्षणबारे बुधबार बसेको सुरक्षा परिषद्को आपत्कालिन बैठकपछि तीनै देशका राजदूतले छुट्टाछुट्टै निन्दा गरेका हुन् । सुरक्षा परिषद्ले उत्तर कोरियाको पछिल्लो गतिविधिलाई गर्ने सम्भावित प्रतिबन्ध तथा संयुक्त कारबाहीबारे नबोली राजदूतहरुले सिधै अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अझै प्रभावकारी तरिकाले कार्यान्वयन गर्न आह्वान गरेका छन् ।
सन् २०१९ मा उत्तर कोरियाली नेता र पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच परमाणु निशस्त्रीकरणसम्बन्धी भएको हानोइ वार्ता असफल बनेपछि उत्तर कोरियाले विस्तारै आफ्नौ सैन्य हतियार विकासमा सुधार ल्याउँदै आएको छ ।
संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ ।