पहिरो पन्छाएसँगै सिद्धार्थ राजमार्ग सुचारु
स्याङ्जा : लगातारको वर्षाको कारण झरेको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु भएको छ। स्याङ्जाको फेदीखोला गाँउपालिका-२ स्थित भालुपहाडमा बिहीबार बिहानपख पहिरो झर्दा राजमार्ग अवरुद्ध भएको भएको थियो।
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको भालु पहाडबाट खसेको पहिरो हटाएपछि अहिले दुईतर्फी रुपमा यातायातका साधन सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
राजमार्गमा ठूल्ठूला ढुङ्गासहित पहिरो खसेको थियो। केही महिनाअघि सडक विस्तारका लागि भालुपहाड नै कटान गरिएकाले यहाँ पटक–पटक पहिरो खस्ने गरेको छ। पहिराका कारण धेरै सवारी साधन र सयौं यात्रुले सास्ती भोग्नु परेको छ।