तीन दिनदेखि अवरुद्ध मेची राजमार्ग खुल्यो
फिदिम : अबिरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको छ। सडकमा झरेको पहिरो पन्छाएपछि तीन दिनदेखि अवरुद्ध बनेको मेची राजमार्ग इलामको रक्सेस्थिर देउरालीसम्म सुचारु भएको हो ।
राजमार्गको पाँचथर खण्डमा करिब डेढ सय स्थानमा पहिरो गएको थियो । बिहीबार दिनभरमा पाँचथर खण्डका सबै पहिरो पन्छाएर यातायात सुचारु गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए।
पाँचर र इलामको प्रशासन र प्रहरीको संयुक्त प्रयासबाट राजमार्गमा यातायात सुचारु गरिने ढकालको भनाइ छ। राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रुहरु अलपत्र परेका थिए। सडक अवरुद्ध हुँदा पाथीभरा देवीको दर्शन गरेर फर्कने र दसैं मानेर आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका थिए।