दोस्रो बच्चा कहिले ?
सुनसरी इटहरी उपमहानगरपालिकाकी— ३६ वर्षीया सावित्री भण्डारी (नाम परिवर्तन) को यो तेस्रो गर्भ थियो। श्रीमान् श्रीमती नै जागिरमा रहेका भण्डारी दम्पतीको ११ वर्षीया छोरी छन्। ‘विवाह त २० वर्षमै भयो, स्नातक तहको पढाइ नसकिँदै छोरी पाएँ, त्यसको तीन वर्ष नपुग्दै गर्भ रह्यो। जागिर सुरु गर्नेबित्तिकै भएकाले छोरीलाई हुर्काउन गाह्रो थियो। त्यस्तो बेलामा अर्को गर्भलाई निरन्तरता दिन सकिनँ र गर्भपतन रोजें।’ श्रीमती भण्डारीले बाध्यता बताइन्। ‘जागिर र कामको व्यस्तताले अर्को सन्तानको रहर गरिनँ। तर आफन्त, साथीभाइ र छोरीले पनि भाइको रहर गर्न थालिन्, त्यसैले रहर गरियो डाक्टर साब’ भनेर दोस्रो सन्तानको चाहना स्पष्टसँग राखेकी उनको ३६ वर्षको उमेरमा दोस्रो गर्भ रहेको थियो। दोस्रो गर्भको सन्दर्भमा उनी एउटी पात्र मात्र हुन्।
गर्भका भू्रण (बच्चा) खेर जाने कारण धेरै हुन्छन्। समान्यतया: कुनै पनि किसिमका संक्रमणहरू तथा क्रोमोजममा भएका खराबीहरूले भ्रूण खेर जाने हुन्छ।
‘नेपाल डेमोग्राफी एन्ड हेल्थ सर्भे २०१६’ का अनुसार नेपालमा औसत महिलाको विवाह १७.९ अर्थात् १८ वर्ष नपुग्दै हुने गरेको देखाएको छ। पछिल्लो समयमा भने ढिला विवाह गर्ने संस्कृति बढ्दै गएको छ। अझ राष्ट्रका कानुन र सामाजिक अभियानहरूले ‘बिहेवारी २० वर्ष पारि’को चरितार्थ गर्दै लगेकाले अवस्था राम्रो हुँदै गएको अनुमान गर्न सकिन्छ। विवाहलगतै पहिलो सन्तान पाउनेको संख्या धेरै हुन्छ। तर पहिलो सन्तानको प्राप्ति पछि त्यही सन्तानको लालनपालन र कार्यव्यस्तताले विशेषगरी सहरी क्षेत्रमा अर्को सन्तानको चाहनामा घट्दै गएको पाइन्छ। विभिन्न अध्ययनले नेपालको प्रजनन दर अर्थात् प्रतिमहिला सन्तानको संख्यामा कमी आएको देखाएको छ। सन् २०१९ अनुसार नेपालको प्रजनन दर १.९ छ। श्रीमती भण्डारी जस्तै औसत नेपाली महिलाको रहर दुई सन्तान नै देखिन्छ।
पहिलो गर्भकै बेला गर्भको योजना र पर्याप्त समय, स्याहार दिन नसकेका दम्पतीहरू पनि अधिकांशले दोस्रो गर्भलाई समय र स्याहारमा कमी हुन दिएका हुँदैनन्। भण्डारी दम्पतीले पनि यस पटकको गर्भलाई राम्रोसँग हेरचाह र स्याहार गर्न जागिर, समय र व्यवहार सबैलाई व्यवस्थापन गरेका थिए। त्यसैले उनीहरू निकै खुसी थिए। नियमित गर्भजाँच, चिकित्सकीय निर्देशनअनुसार परीक्षणहरू र औषधि सेवन गरेर २७ सातासम्म गर्भलाई राम्रोसँग हुर्काउन सफल भए। तर गर्भको २८ साता पुग्नेबित्तिकै उनको खुसीमा आँखा लाग्यो। एक्कासि उनलाई पेट दुख्न थाल्यो। पेटको दुखाइ कम नभएपछि आत्तिएर अस्पताल आएकी सावित्रीको गर्भ परीक्षण गर्दा गर्भे बच्चाको मृत्यु भएर व्यथा लागेको थाहा भयो।
गर्भका भ्रूण (बच्चा) खेर जाने कारण धेरै हुन्छन्। समान्यतया: कुनै पनि किसिमका संक्रमणहरू तथा क्रोमोजममा भएका खराबीहरूले भ्रूण खेर जाने हुन्छ। तापनि २८ सातापछि गर्भ खेर जानुका पछाडि क्रोमोजमका खराबीहरू भन्दा पनि अन्य कारण बढी रहने गरेको अध्ययनहरूले देखाएका छन्। हुन त गर्भको बच्चा खेर गएको सबै अवस्थामा कारण पत्ता लगाउन सकिँदैन। उच्च रक्तचाप र उच्च रक्तचापका जटिलताहरू, मोटोपन, मधुमेह, धूमपान तथा मद्यपानको सेवन, वायुप्रदूषणजस्ता कारणले गर्भका बच्चाको वृद्धि कम हुने र मृत्यु हुने गरेको देखिएको छ। विभिन्न अध्ययनले यी कारण आमाको उमेरसँग गहिरो सम्बन्ध राख्ने गरेको देखाएको छ। आमाको उमेर बढी भएपछि गर्भका जटिलताहरू बढ्ने सँगै गर्भ नरहने, गर्भ खेर जाने, अपांगता भएका बच्चा जन्मिने सम्भावना पनि बढी हुने अध्ययनहरूले देखाएका छन्।
टर्कीको सुकुरोभा विश्वविद्यालय स्कुल अफ मेडिसिनमा जनवरी २०११ देखि जुलाई २०१५ सम्ममा वेकिर काहभेकी र उनका साथीले विभिन्न उमेरका ९ सय ५७ गर्भवतीमा गरेको लामो अध्ययनले १८ वर्षदेखि ३४ वर्षका उमेरसमूहभन्दा ३५ देखि ३९ वर्षको उमेरसमूहका र ४० वर्ष पार गरेका महिलामा गर्भका जटिलता बढी भएको देखाएको छ। सो अध्ययनले गर्भवतीको उमेर १८ देखि ३४ वर्षसम्मभन्दा ३५ वर्ष पार गरेकामा गर्भावस्थाको मधुमेह (जेस्टेसनल डायबेटिज), गर्भावस्थाको उच्च रक्तचाप (जेस्टेसनल हाइपरटेन्सन), एबप्र्टो प्लासेन्टा (समय नै नपुगी सालनाल छुट्टिनु) जस्ता जटिलता दुई गुणाले बढी भएको देखाएको छ। अध्ययनले ३५ वर्ष पार गरिसकेका गर्भवतीको गर्भको बच्चा अवधि नपुगेर (३४ हप्ता अगाडि) नै जन्मिनेको संख्या बढी रहेको, बच्चाको तौल कम रहेको र सिजरियन दर बढी भएको देखाएको छ।
युनाइटेड स्टेट सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अध्ययनले पनि २५ देखि २९ वर्षको उमेरमा गर्भवती भएको तुलनामा ३० देखि ३४ वर्ष र ३५ देखि ३९ वर्षको उमेरमा गर्भवती हँुदा फरक अवस्था हुने देखिएको हो। अध्ययनले गर्भवतीको उमेर ४० वर्ष पार गरेपछि अझ यो सम्भावना तीन गुणाले बढेको देखाएको छ। अधिकांश दम्पतीको चाहना दुई सन्तान हुन्छ, अझ एउटा छोरा र अर्को छोरी भइदिए उत्तम। तर सधैं त्यसो हुन्छन् भन्ने छैन। गर्भको सन्तान छोरा वा छोरी बनाउने कुनै सूत्र वा उपायहरू छैनन्। स्वास्थ्य, तन्दुरुस्त र राम्रो सन्तान पाउने उपायहरू भने अवश्य छन्। ‘दोस्रो सन्तान कहिले ? पहिलो स्कुल जान्छ जहिले’ भनेझैं पहिलो र दोस्रो सन्तानबीचको फरक ३ देखि ५ वर्ष राख्नु उपयुक्त हुन्छ।
(लेखक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।)