सीमा सुरक्षा ‘बलियो पार्न’ चीनले पारित गर्‍यो नयाँ कानुन, अमेरिकाले उत्तर कोरियालाई भन्यो, ‘उत्तेजनात्मक परीक्षण अन्त्य गरी वार्तामा आउ’

सीमा सुरक्षा ‘बलियो पार्न’ चीनले पारित गर्‍यो नयाँ कानुन, अमेरिकाले उत्तर कोरियालाई भन्यो, ‘उत्तेजनात्मक परीक्षण अन्त्य गरी वार्तामा आउ’

अमेरिकाले उत्तर कोरियालाई आफ्ना क्षेप्यास्त्र परीक्षणका कार्यक्रम अन्त्य गरी वार्तामा बस्न आग्रह गरेको छ। अमेरिकाले उत्तर कोरियाको ‘उत्तेजनात्मक परीक्षण’ बन्द गरी वार्तामा बस्न आग्रह गरेको हो। आइतबार चीनले आफ्नो सीमा सुरक्षालाई थप मजबुत गर्ने नयाँ कानुन पारित गरेको छ। सो समाचारलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरेका छन्। प्रस्तुत छ, आइतबार चर्चामा रहेका केही प्रमुख विश्व खबरहरू :

०००

सीमा सुरक्षा बलियो पार्न चीनले पारित गर्‍यो नयाँ कानुन

बेइजिङ : चीनले सीमा सुरक्षा बलियो पार्न नयाँ कानुन पारित गरेको छ। भारतसँगको विवादित सीमा सुरक्षा सुल्झिन नपाउँदै चीनले नयाँ कानुन पारित गरेको हो। 

चीनले पिपुल्स रिपब्लिक अफ चाइना स्थापना भएको ७२ वर्षपछि सीमा सुरक्षा बलियो बनाउन पहिलो पटक सीमा सम्बन्धी नयाँ कानुन पारित गरेको बताइएको छ। 

नयाँ जमिन सीमा कानुनले सीमा सुरक्षा बलियो बनाउने चीनको विश्वास छ। चीनले छिमेकी मुलुक अफगानिस्तानमा तालिबानले शासन सुरु गरेपछि नजिकबाट नियालिरहेको रोयटर्समा समाचार छ। 

विभिन्न १४ वटा मुलुकसँग चीनको सीमा जोडिएको छ। 
०००

कस्मिरमा अफगानिस्तान जस्तै संकट निम्तिने चेतावनी 
श्रीनगर : भारतीय सैन्य बल प्रमुखले भारत सरकारद्वारा सञ्चालित जम्मु कस्मिर राज्यमा अफगानिस्तान जस्तै संकट निम्तिने चेतावनी दिएका छन्। सैन्य बल प्रमुख जनरल विपिन रावतले आइतबार कस्मिर क्षेत्रमा पनि अफगानिस्तान जस्तो संकट निम्तिने चेतावनी दिएका हुन्। 

गुहावटीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कस्मिर क्षेत्र र त्यहाँको सीमा क्षेत्रको अवस्था खतरनाक हुने चेतावनी दिएका हुन्। सो चेतावनी दिँदै उनले भारतले पूर्व तयारी अपनाउन आग्रह गरेका छन्। 

‘तालिबानले अफगानिस्तानमा निम्त्याएजस्तै संकट कस्मिरमा पनि निम्तिने सम्भावना बढी छ’, उनले भनेका छन्, ‘त्यसैले भारत सरकारले कस्मिर सीमामा नजर लगाउन, सीमा बन्द गर्न, निगरानी बढाउन र संकटविरुद्ध लड्न तयार बस्न जरुरी छ।’ 

केही दिनअघि जम्मु कस्मिर क्षेत्रमा आतंकवादी समूहले आक्रमण गरेका थिए। आक्रमणपछि भारतीय सेनाले आतंककारीविरुद्ध सैन्य अपरेसन थालेको थियो। 
००० 

आसियानको शान्ति योजनामा म्यानमार सेना प्रतिबद्ध  
बर्मा : म्यानमार सेनाले आइतबार दक्षिणपूर्वी एसियाली संगठन आसियानको शान्ति योजनामा आपूm प्रतिबद्ध रहेको बताएको छ। आसियानले गरेको सैन्य आलोचनाका बाबजुद आफु शान्ति योजनामा प्रतिबद्ध रहेको सेनाले बताएको हो। 

जुन्ता सेनाका प्रमुख मिन आउङ लेइङले आइतबार विज्ञप्ती जारी गर्दै आसियानको शान्ति योजनामा सहकार्य गर्ने बताएका छन्। ‘आसियानले म्यानमार सेनालाई आगामी शिखर सम्मेलनबाट बहिष्कार गरेपनि आसियानको शान्ति योजनामा भने कुनै अवरोध ल्याउने छैन। अन्य मुलुकमा शान्ति कायम गर्न म्यानमार सेनाले आसियानको शान्ति योजनालाई सहयोग गर्नेछ’, उनले भनेका छन्। 

गएको अक्टोबरमा आसियानले आगामी शिखर सम्मेलनमा म्यानमार सेनालाई निम्तो नदिने निर्णय गरेको थियो। आसियानको सो निर्णयपछि म्यानमार सेना रुष्ट बनेको थियो। आसियानको शिखर सम्मेलन यही अक्टोबर अन्तिममा आयोजना गरिएको छ। 
०००

अमेरिकाले उत्तर कोरियालाई भन्यो, ‘उत्तेजनात्मक परीक्षण अन्त्य गरी वार्तामा आउ’ 
वासिङटन : आइतबार संयुक्त राज्य अमेरिकाका वरिष्ठ कुटनीतिज्ञले उत्तर कोरियालाई वार्तामा आउन आग्रह गरेका छन्। उत्तेजनात्मक क्षेप्यास्त्र परीक्षण अन्त्य गरी तत्काल वार्तामा आउन अमेरिकी कुटनीतिज्ञ सुङ किमले उत्तर कोरियालाई आग्रह गरेका हुन्। 

उत्तर कोरियाली मामिलासम्बन्धी अमेरिकी शीर्ष नेता किमले दक्षिण कोरियाली अधिकारीहरुसँगको छलफलपछि आइतबार सो आग्रह गरेका हुन्। 

‘उत्तेजक परीक्षण र अन्य सैन्य गतिविधि गर्नुको सट्टा सिधै वार्तामा आउन हामीले उत्तर कोरियासँग आग्रह गरिसकेका छौँ’, किमले रिपोटरहरुसँग भनेका छन्, ‘साथै यदि उत्तर कोरिया तयार भएमा अमेरिका बिना शर्त वार्तामा आउन तयार रहेको पनि हामीले स्पष्ट पारिसकेका छौँ।’

गएको मंगलबार उत्तर कोरियाले पनडुब्बीबाटै जापानको समुद्र क्षेत्रनजिक दुईवटा नवनिर्मित ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सो प्रहारले जापान, कोरिया प्रायद्धिप क्षेत्रमा तनाव बढ्ने भन्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले समेत बैठक बसालेको थियो। 
०००

टर्कीले अमेरिकासहित १० वटा पश्चिमेली देशका राजदूत फिर्ता गर्ने
अंकारा : टर्कीका राष्ट्रपति रेजेप तायियप एद्रोगानले विभिन्न १० वटा पश्चिमेली देशका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेका छन्। राष्ट्रपति एद्रोगानले विगत चार वर्षदेखि टर्कीले थुनामा राखेको अभियन्ता प्रमुख रिहाईको माग गर्दै आएका अमेरिकासहित १० वटा पश्चिमेली देशका राजदूतलाई फिर्ता गर्ने निर्णय गरेका हुन्। 

टर्कीले अभियन्ता प्रमुख ओजम्यान कभालालाई सन् २०१७ देखि थुनामा राखेको छ। उनलाई सन् २०१३ को राष्ट्रव्यापाी आन्दोलनमा आर्थिक सहयोग गरेको र सन् २०१६ मा सैन्य कु असफल गराउन भूमिका खेलेको आरोपमा थुनामा राखेको हो। गत हप्ता ओजम्यानको रिहाईको माग गर्दै अमेरिका, जर्मनी, क्यानडा, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्यूजिल्याण्ड र स्वीडेनसहित १० वटा मुलुकले संयुक्त विज्ञप्ती जारी गरेका थिए। 

टर्कीको परराष्ट्र मामलामा सो मुलुकहरुले आदेश दिन नसक्ने बताउँदै १० वटा मुलुकका राजदूतलाई हटाउने र फिर्ता गर्ने निर्णय गरेको राष्ट्रपति एद्रोगानले बताएका छन्। 

टर्कीको सो निर्णयपछि आगामी दिनमा कुटनैतिक सम्बन्ध कस्तो हुने भन्नेबारे अन्योलता छाएको बताइएको छ। राजदूतलाई कहिले फिर्ता पठाउने भन्नेबारे भने टर्कीले हाल सूचना जारी नगरेको बताइएको छ।
००० 

बंगलादेश हिंसा सम्बन्धमा प्रहरीविरुद्ध ३ हजार मुद्दा दर्ता
ढाका : बंगलादेशमा हिन्दू अल्पसंख्यकविरुद्ध भएको धार्मिक साम्प्रदायिक हिंसा सम्बन्धमा करिब ३ हजार मानिसले प्रहरीविरुद्ध मुद्दा दर्ता गराएका छन्। सो हिंसा सम्बन्धमा प्रहरीले लापरबाही गरेको भन्दै स्थानीय करिब ३ हजारले मुद्दा दर्ता गराएका हुन्। 

गएको अक्टोबर १३ मा बंगलादेशको चादपुरमा हिन्दू अल्पसंख्यकमाथि साम्प्रदायिक हिंसा भएको थियो। हिंसापछि प्रहरीले गरेको फायरिङमा पाँच युवकको मृत्यु भएको थियो भने ३३ मानिस घाइते भएका थिए। 

सो साम्प्रदायिक हिंसा नियन्त्रणमा प्रहरीले लापरबाही गरेको भन्दै करिब ३ हजार अज्ञात व्यक्तिले प्रहरीविरुद्ध मुद्दा दर्ता गराएको बताइएको छ। सो संख्याका अज्ञात मानिसले करिब ७५ मुद्दा दर्ता गराएको बताइएको छ।
०००

ताइवानमा शक्तिशाली भूकम्प
ताइपेई : ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार शक्तिशाली भूकम्प गएको छ। ताइवानको यिलान काउन्टी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.५ म्याग्निच्युडको भूकम्प गएको हो। 

आइतबार दिउँसो गएको सो भूकम्प यस वर्षकै ठूलो रहेको ताइवानको केन्द्रीय मौसम ब्यूरोले जनाएको छ। सो भूकम्प करिब ३० सेकेन्डसम्म महसुस गरिएको स्थानीयले बताएका छन्।

भूकम्पले केही भौतिक क्षति पुर्‍याएको छ। त्यस्तै मानवीय क्षति भयो भएन भन्ने यकिन विवरण आउन बाँकी रहेको बताइएको छ। 
०००

क्यालिफोर्नियाको डढेलोपछि १० हजारभन्दा बढी सुकेका रुख हटाइने 
क्यालिफोर्निया : सरकारले क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोपछि काम नलाग्ने गरी सुकेका हजारौँ रुखहरु हटाइने भएको छ। क्यालिफोर्नियाको राज्य सरकारले डढेलोको कारण सुकेका १० हजारभन्दा बढी रुखहरु हटाउने निर्णय गरिएको हो। 

कम नलाग्ने गरी सुकेका रुखहरुले सम्भावित दुर्घटना ननिम्त्याओस् भन्दै पहिलो चरणमा राजमार्ग र मानव बस्ती वरिपरीका रुखहरु हटाइने राज्य सरकारको वन विभागले जनाएको छ। 

अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा यस वर्षकै ठूलो डढेलो लागेको थियो। जलवायु परिवर्तनका कारण युरोप र अमेरिकाका विभिन्न जंगलहरुमा तीब्र रुपमा डढेलो लागेको विज्ञहरुले बताएका थिए।
०००

पिकासोको उत्कृष्ट रचना ११० मिलियन डलरमा बिक्री
लस भेगास : कलाकार इलेभेन पाब्लो पिकासोको उत्कृष्ट कलाकृतिहरु लास भेगस सहरको एक होटलमा बिक्री भएको छ। नाभेडास्थित लास भेगस सहरको एक होटेलमा दुई दशकअघिदेखि प्रदर्शनीमा राखिएको कलाकृतिहरु करिब ११० मिलियन डलरमा लिलामीमा बिक्री भएको हो।

एमजीएम रिसोर्टको स्वामित्वमा रहेको होटेल बेलाजियोमा पिकासोका उत्कृष्ट कलाकृतिहरु प्रदर्शनीमा राखिएका थिए। जसमा ९ वटा पेन्टिङ र २ वटा माटोका कलाकृतिहरु राखिएका थिए। 

सो कलाकृतिहरु करिब ११० मिलियन डलरमा लिलामीमा होटेल सञ्चालकले बिक्री गरेका हुन्। जसमध्ये सन् १९३८ मा पिकासोले बनाएको ‘वुमेन इन अ रेड ओरेन्ज बेरेट’ सबैभन्दा बढी मूल्य ४०.५ मिलियन अमेरिकी डलरमा बिक्री गरिएको छ भने सन् १९४२ मा बनाएको ‘नेचर मोर्ते औ प्यानियर’ १६.६ मिलियन डलरमा बिक्री गरिएको छ। 

–संयोजन : अस्मिता खड्का
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.