कांग्रेसको कान्तिक्षय

कांग्रेसको कान्तिक्षय

सही पात्रमा नेतृत्व पुर्‍याउन नसकेको मूल्य पार्टीका कार्यकर्ता मात्र नभई राष्ट्रले समेत चुकाउनुपर्ने हुन्छ।


महाभारतको संग्रामअघि संवादको सिलसिलामा दुर्योधनले कृष्णसँग भनेका थिए, ‘जानामी धर्मं न च में प्रवृत्तिः जानाम्यधर्मं न च मे निवृत्तिः’ अर्थात् मलाई मेरो धर्म (कर्तव्य) का बारेमा जानकारी त छ, किन्तु त्यसतर्फ रुचि लाग्दैन। म अधर्म (गर्न नहुने कर्म) बारे पनि जान्दछु, परन्तु मलाई त्यसबाट निवृत्त हुने या छुटकारा लिनेमा रुचि छैन। उनी अझै अगाडि बढेर भन्छन्, ‘केनापी देवेन हृदिस्थितेन यथा नियुक्तोस्मि तथा करोमी।’ मेरो हृदयस्थित ईश्वरले जे जे गर्न प्रेरित गर्दछ म त्यही नै गर्दछु।

अहिले आफ्नै नेतृत्वबाट भएको अनपेक्षित कार्यले नेपाली कांग्रेसको तेज र प्रभामा कमी ल्याउने काम गरेको छ। नेतृत्वकै नजाति कर्मको परिणामस्वरूप लोकतन्त्रको पर्याय ठानिएको पार्टीको छवि मलिन हुन पुगेको छ। जसरी दुर्योधन आफ्नो कर्तव्यबारे जानकार हुँदाहुँदै पनि त्यसमा रुचि नभएको हुनाले अकर्तव्यमा प्रवृत्त भए, त्यसैगरी नेपाली कांग्रेसको नेतृत्वलाई पनि लोकतान्त्रिक मर्यादाको पालना गर्ने कर्ममा प्रवृत्त हुनेमा रुचि भएन। कांग्रेसका युवा नेता गगन थापा लेख्छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो ? लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेर मात्र पुग्दैन। त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सके मात्र त्यसले वैधता पाउँछ। नत्र कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको ?’

चार महिनाअघि उत्पन्न परिस्थितिले कांग्रेसी नेतृत्वको हृदयभित्र सुषुप्त रहेको सत्तालिप्सालाई जागरुक बनायो। त्यही परिस्थितिमा कांग्रेस असम्यक र आश्चर्यजनक तवरले सरकारको नेतृत्वमा आएको थियो। अस्वाभाविक दृश्य त प्रतिनिधिसभाको कार्यकालको ७० प्रतिशत अवधि भुक्तान गरिसकेको र आपसी कलहले धुजाधुजा भएको पुरानो कोट पहिरेर सत्तारोहण गर्दा नै प्रकट भएको थियो। त्यही असम्यक र आश्चर्यजनक सत्तारोहण तीन महिनापछि आएर अलोकतान्त्रिक र अनैतिक अनुहार देखाउन सफल भएको छ। नेपाली कांग्रेसमा कैयौं वर्षदेखि पार्टीको विचार प्रवाह गर्ने र युवा धमनीमा नयाँ रक्तसञ्चार गराउने नेतृत्वको अभाव छ। युवावस्थामा त्याग र संघर्ष गरेको मात्र आधारमा आजीवन नेतृत्व ओगटेर बस्ने आशक्तिको सिकार भयो कांग्रेस। केही गर्लान् कि भनेर भरोसा गरिएका युवा आफैं वृद्ध हुन थालिसके। शारीरिक एवं मानसिक रूपमा थकित, गलित र क्लान्त पात्रहरूबाट पार्टीको उद्धार हुने सम्भावना शून्य छ। यो परिस्थितिलाई छिचोलेर युवा वर्गमा नेतृत्व हस्तान्तरण गर्ने वातावरण तयार हुन नसक्नुमा युवा कांग्रेसी पनि उत्तिकै जिम्मेवार छन्।

नेपाली राजनीतिक इतिहासको हरेक प्रयोगशालामा नेपाली कांग्रेसको नेतृत्वदायी प्रयोग हुँदै आएको छ। संवैधानिक राजतन्त्रात्मक संविधानको निर्माण, माओवादी द्वन्द्वको सुरुआत, सो द्वन्द्वको समापन, राजतन्त्रलाई जोगाउनमा तथा हटाउन र गणतान्त्रिक संविधान निर्माणमा समेत नेपाली कांग्रेसको महŒवपूर्ण भूमिका रह्यो। त्यति मात्र होइन २०५२÷०५३ सालतिर बाँडीचुँडी सत्ताभोग र पजेरो प्रवृत्तिको प्रयोग पनि नेपाली कांग्रेसकै नेतृत्वमा भयो। त्यसको फाइदा तत्कालका प्रायः सबै पार्टी र नेताले प्रचुर मात्रामा उठाए, परन्तु सारा अपयशको भारी कांग्रेसले एक्लै बोक्यो। राजनीतिक खेलको प्रयोगशालामा नेपाली कांग्रेस प्रयोग गर्न सजिलो आलुजस्तो साबित हुँदै आएको छ। जुनसुकै वादको तरकारीमा पनि सरल तरिकाले मिसिएर आफ्नो साख धमिलो पारेरै भए पनि अरूलाई मीठो स्वाद प्रदान गर्ने मिलापप्रेमी, सहज र सरस।

कांग्रेस नेतृत्वको आफ्ना मतदाता, समर्थक, शुभचिन्तक र लोकतन्त्रलाई समेत उपेक्षा गर्ने प्रवृत्ति उदेकलाग्दो छ। भनिन्छ, बूढी आमै मरिन् भनेर नरुनु काल पल्क्यो भनेर रुनु। न्यायपालिकाका प्रमुखको दवाबबाट कसैलाई मन्त्री पदमा नियुक्ति गरिनु अत्यन्तै लज्जास्पद र दुःखदायी घटना हो। लोकतान्त्रिक छवि बोकेको पार्टीबाट भएको यो कर्म नकामको सुरुआत त होइन ? यस्तो कर्म भविष्यमा नजिरको रूपमा कायम भएर लोकतन्त्रको विरूपीकरणको संस्कृति स्थापित हुने त होइन ? न्यायपालिका परिपक्व र न्यायप्रेमी हुनुपर्छ। न्यायपालिकाले चिन्ने भनेको मुलुकको संविधान र सोअन्तर्गत निर्मित कानुनलाई मात्र हो। मन्त्री पदमा नियुक्ति पाउन योग्य व्यक्ति यो हो भनेर चिनाउने काम न्यायपालिकाको होइन। न्यायपालिका संविधानको मर्यादा तथा संरक्षणको माध्यमबाट लोकतन्त्र र प्रचलित राजनीतिक पद्धतिको उन्नयन एवं प्रवद्र्धनमा सहयोगी बन्नु आवश्यक छ। त्यही भूमिका समुचित तवरले निर्वाह होस् भन्ने अभिप्रायले नै संविधानले सर्वोच्च अदालतमा प्रवेश गर्नका लागि सांसारिक सुखदुःखको अनुभव गरिसकेको, छोराछोरी हुर्काइसकेको, लोभ, लालच एवं आशक्तिबाट मुक्त रहन सक्ने भरपर्दो छवि कायम गरेको, योग्य, अनुभवी र पाको उमेरको व्यक्ति छान्नुपर्ने व्यवस्था गरेको छ।

सत्तारोहण संयोगले नेपाली कांग्रेस र स्वयं नेतृत्वलाई समेत गुमेको छवि सुधार्ने अवसरको रूपमा हातलागी भएको थियो। परन्तु नेतृत्वको चेत फिरेन।

शक्ति पृथकीकरणको सिद्धान्तमा अटल आस्था राख्ने कांग्रेसले राजनीतिक शक्तिभित्रका आकांक्षी मात्र नभई अदालतका अगुवाको झोलीसमेत भरिदियो। संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको उपस्थिति स्वार्थको द्वन्द्व पैदा हुने सम्भावना रहेको कार्यमा निजलाई संलग्न गराउने संवैधानिक उपक्रम थियो। त्यो संवैधानिक प्रावधानले चलखेल गर्नमा रुचि लिने व्यक्तिलाई पल्काउने काम गर्‍यो। भाग खोज्ने आदत एउटा सरुवा रोग हो। न्यायपालिकाका नायकले कार्यपालिकामा भाग खोजेको भनी व्यापक आलोचना हुँदाहुँदैको अवस्थामा त्यसलाई पुष्टि गर्ने गरी कार्यपालिकामा नियुक्ति हुनु नेपाली कांग्रेसको निधारमा लागेको मेट्न नसकिने दाग हो। यो प्रकरणमा मन्त्री पद पाउने व्यक्तिले प्राप्त पद परित्याग गरेर नैतिकताको परिचय दिएका छन्, परन्तु पद दिलाउने र दिनेको छविमा लागेको धब्बा भने जुनसुकै डिटर्जेन्टले धोइपखाली गरे पनि निर्मल हुने छैन।
कांग्रेसको नेतृत्वलाई आलोचना दुख्दैन, गाली र निन्दाले छुदैन र लज्जाबोध हुँदैन। ऊ मर्माहत हुँदैन, कान बाक्ला छन् सुन्दैन, छाला बाक्लो छ स्पर्श हुँदैन, स्वाभिमान छैन, कुनै संकोच छैन र जवाफ दिनु पनि पर्दैन। न कुनै जोस छ न त कुनै होस। आजको कांग्रेस उद्देश्यहीन र गन्तव्यहीन सत्तायात्राको त्यस्तो बटुवा हो जसलाई कता जाँदै छु भन्ने चेतसमेत छैन। सायद उसको शरीरभित्र पश्चातापको ग्रन्थी पनि छैन। कांग्रेससँग कम्युनिस्ट पार्टीहरूको आधारशिलाभन्दा बाहिर परेको गुमनाम र निष्क्रिय समर्थकहरूको ठूलो समूहसमेत रहेको छ। बुझेर या नबुझेर कम्युनिस्ट विचारमा प्रभावित हुन नसकेको असंगठित जनसमूह चुपचाप मतदान गर्न जान्छ र रूखमा ठप्पा हानेर फर्कन्छ। कुनै प्रशिक्षण छैन, कुनै संगठित अभ्यास छैन र मूल नेतृत्वलाई त्यसको चासो र चिन्ता पनि छैन।

जनअभिमत प्राप्त गरेको पार्टीको कलहको कारण चुहेर आएको सत्ता हो यो। अहंकार र आपसी रडाकोले गर्दा सरेआम पछारिन पुगेको सत्ता बल्लबल्ल उठेर धुलोसम्म टकटक्याउन नपाउँदै कांग्रेसको पोल्टामा पुगेको छ। वर्तमान गठबन्धन कांग्रेसको माया लागेर स्थापित भएको होइन। यो सत्तारोहण सहआरोही साथीसँग रिसाएको पर्वतारोहीले अर्को कसैलाई बोकेर सगरमाथामा चढाएजस्तो मात्र हो। संस्कृतमा एउटा प्रसिद्ध उक्ति छ, ‘उष्ट्रानां च विवाहेषु गीतः गायन्ति गर्दभाः, परस्परं प्रशंसन्ति अहो रूपः अहो ध्वनि’ कुरा मिलेको समयमा ऊँटको विवाहमा गधाले गीत गाउन थाल्दछ। परस्परमा क्या सुन्दर रूप ! क्या मीठो ध्वनि ! भनेर प्रशंसा पनि हुन्छ। परन्तु जब वैवाहिक भोज समाप्त हुन्छ, सबैले आआफ्नै बाटो तताउँछन्।

यो सत्तारोहण संयोगले नेपाली कांग्रेस र स्वयं नेतृत्वलाई समेत गुमेको छवि सुधार्ने अवसरको रूपमा हातलागी भएको थियो। परन्तु नेतृत्वको चेत फिरेन। यो अवसर केही व्यक्तिका लागि तत्कालीन सत्तासुखमा सीमित हुने लक्षण प्रकट हुँदैछ। विद्यमान परिस्थितिमा कांग्रेसले आगामी चुनावमा सायद साबिकभन्दा राम्रो जनमत प्राप्त गर्ला, किन्तु गुमेको लोकतान्त्रिक छवि फेरि कायम गर्न धेरै परिश्रम गर्नुपर्नेछ। मन्त्रीको पद काफल बाँडेसरी अनैतिक तरिकाले लुटान गर्ने वस्तु हो ? भनेर प्रश्न गर्नेलाई चित्तबुझ्दो उत्तर दिन अत्यन्तै कठिन हुनेछ।

मूल नेतृत्वलाई यस्ता प्रश्नले छुन छाडेको धेरै समय बितिसक्यो। त्यसैले पार्टी राजनीतिको आफ्नै घरमा आफैं शोषण र पीडनमा परेका युवा कांग्रेसीहरूले नै यसको जवाफ दिनुपर्नेछ। उनीहरू पार्टी नेतृत्वको अशोभनीय र असमर्थनीय कर्महरूको बचाउ गर्ने तार्किक आधार खोज्न विवश हुनेछन्।  महासमुद्रबीचमा फसेको जहाजमा रहेको चरा चुहुचुहु गर्दै परसम्म उडेर गए तापनि किनारा भेट्टाउन नसकी पुनः त्यही जहाजमा फर्केर आउँछ। विडम्बना ! अहिले त्यही लाचार चराको जस्तै अवस्थामा छन् पार्टीका स्वाभिमानी युवाहरू। सही पात्रमा नेतृत्व पुर्‍याउन नसकेको मूल्य पार्टीका कार्यकर्ता मात्र नभई राष्ट्रले समेत चुकाउनुपर्ने हुन्छ। अहिले त्यही समय छ। यो हठग्रस्त तथा आशक्त वृद्धपितातन्त्रको चोट कांग्रेस र कम्युनिस्ट पार्टीका युवा नेताहरूले कहिलेसम्म झेलेर बस्ने हुन् प्रतीक्षाको विषय बनेको छ।

लोकले के भन्ला भन्ने भय रहेन, परदेशले कस्तो मूल्यांकन गर्ला भन्ने सरोकार रहेन, लोकतन्त्रको दीर्घ जीवनका लागि आसन्न दुष्परिणामको आभास रहेन, पदीय गरिमा र मर्यादाको हेक्का रहेन। नेतृत्व अनीति तथा चारित्रिक निर्बलताको सिकार हुन पुग्यो। लोकतन्त्रको भविष्यको हकमा यो अत्यन्त घनिभूत विफलता हो। यसको सम्भावित दुष्परिणाम नेपाली कांग्रेस मात्र होइन, प्राप्त जनमतको कदर गर्नबाट चुक्ने कम्युनिस्टहरूले पनि व्यहोर्नु पर्नेछ। तथापि यस्तो परिस्थितिमा पनि उच्चतम आसनमा हुनेहरूले चैनको बाँसुरी बजाइरहने छन्। केहीलाई सत्ताको न्यानोमा क्षणिक आनन्द पनि महसुस होला। परन्तु होस र चेत भएका राजनीतिक कर्मीहरूलाई भने चैनको नीद भेट्टाउन निकै मुस्किल पर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.