व्यापार घाटा उच्च, विदेशी मुद्रा सञ्चितिमा दबाब

व्यापार घाटा उच्च, विदेशी मुद्रा सञ्चितिमा दबाब

काठमाडौं : स्वदेशमा उत्पादन नबढ्दा व्यापारघाटा उच्च बन्दै गएको छ। हरेक महिना स्वदेशमै उत्पादन गर्न सकिने अत्यावश्यकदेखि विलासी वस्तु तथा सेवाको आयात बढ्दै गएको छ। स्वदेशी वस्तु निर्यातको तुलनामा आयातित वस्तु अधिक हुँदा व्यापार घाटा बढेको हो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/०७९ को दुई महिनामा व्यापार घाटा ७०.८ प्रतिशतले बढेको छ। व्यापार घाटा २ खर्ब ७० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले घटेको थियो। 
भदौसम्ममा आयात ७५.९ प्रतिशतले वृद्धि भई ३ खर्ब १४ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.१ प्रतिशतले घटेको थियो। भारतबाट ५६.७ प्रतिशत, चीनबाट ७६.२ प्रतिशत र अन्य मुलुकबाट १४१.४ प्रतिशतले आयात बढेको हो। 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, सुन, चाँदीलगायतका वस्तुको आयात बढेको छ ।  तर रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाललगायतका वस्तुको आयात घटेको छ। यसपटक सबै भन्सार नाकाबाट भएको आयात बढेको छ।
भदौसम्ममा ७ अर्ब ९२ करोड २७ लाख रुपैयाँको चामल आयात भएको छ। बेमौसमी बाढी तथा डुबानले ८ अर्ब ३६ करोड रुपैयाँबराबरको ३ लाख २५ हजार मेट्रिक टन धानको क्षति भएको छ। यस कारणले पनि आगामी दिनमा धान आयात दोब्बरले बढ्न सक्ने राष्ट्र बैंकको ठहर छ। 

चालू आवको दुई महिनामा निर्यात ११५.४ प्रतिशतले वृद्धि भई ४४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा यस्तो निर्यात १०.५ प्रतिशतले वृद्धि भएको थियो। भारत १५०.७ प्रतिशत, चीन २०.७ प्रतिशत र अन्य मुलुकतर्फ ३१.० प्रतिशतले निर्यात वृद्धि भएको छ। सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ । चिया, आयुर्वेदिक औषधि, तार, जस्तापाता, अलैंचीलगायतका वस्तुको निर्यात घटेको छ। कञ्चनपुर, कृष्णनगर, मेची र नेपालगन्ज भन्सार कार्यालयबाहेकका नाकाबाट निर्यात बढेको छ। 
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका अनुसार आम नेपालीको खर्च बढेको छ। ‘सेयरबजार र घरजग्गाको मूल्यवृद्धि भएपछि आम्दानी भएकाहरूसँग पैसा हुने भएकाले गाडीजस्ता विलासीताका वस्तु खरिद गर्छन्। यसकारण पनि यसले आयात बढ्न मद्दत गर्‍यो,’ राष्ट्र बैंक स्रोतको भनाइ छ।

शोधनान्तर घाटा पनि उच्च
मुलुक भित्रिनेभन्दा बाहिरिने विदेशी मुद्रा बढी हँुदा शोधनान्तर फेरि घाटामा गएको छ। विदेशी मुद्राको मुख्य स्रोत विप्रेषण घट्दा र आयात अत्यधिक बढेकाले शोधनान्तर घाटामा पुगेको हो। केन्द्रीय बैंकका अनुसार साउन–भदौमा विदेशी ऋण, अनुदान पनि आएको छैन।  पर्यटन व्यवसायमा पनि उल्लेखित वृद्धि हुन सकेको छैन। 

भदौमा शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोड रुपैयाँले घाटामा छ। गत आव सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड बचत थियो। अमेरिकी डलरमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति अहिले ७० करोड ४३ लाखले घाटामा छ। अझै चालू आवको पहिलो महिना ३८ अर्ब ७५ करोडले घाटामा रहेकोमा झन् बढ्दै गएको छ। 
राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ पर्यटनबाट मुलुकमा हुने आम्दानी पनि खासै नभएको अवस्थामा अहिले विप्रेषण पनि घटेको र आयात उच्च भएकाले शोधनान्तर घाटामा गइरहेको बताउँछन्। 

विप्रेषण ६.३ प्रतिशतले घट्यो
विप्रेषण आप्रवाह ६.३ प्रतिशतले कमी आई १५५ अर्ब ३७ करोड रुपैयाँमा सीमित छ।  गत वर्ष विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो। यद्यपि असोजमा भने दसैं लक्षित गर्दै कामदारले विप्रेषण पठाएकाले बढेको राष्ट्र बैंकले जनाएको छ। ‘मुलुक परनिर्भरतातर्फ धकिलिँदै गएकाले स्वदेशी उत्पादनमा जोड दिनुपर्छ,’ उनले भने। 
सामान्यतया मुलुक भित्रिने रकममा कमी आउँदा विदेशी विनिमय सञ्चितिमा समेत दबाब परेको छ। गत असार मसान्तमा १३९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले घटेको छ। जसले गर्दा गत भदौ मसान्तमा १३०६ अर्ब ९५ करोड रुपैयाँमा सीमित छ। 

अमेरिकी डलरमा यस्तो सञ्चिति ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड रुपैयाँ कायम छ। दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। 

तेलको मूल्यवृद्धि अधिक
उपभोग्य वस्तुमध्ये घिउ तथा तेलको मूल्यवृद्धि (मुद्रास्फीति) बढेको छ। २०७७ भदौको तुलनामा यो भदौमा घिउ तथा तेलको मूल्य २८.९१ प्रतिशतले बढेको छ। माछामासु १०.६६ प्रतिशत, गैर–मदिराजन्य पेयपदार्थ १०.२५ प्रतिशत, सुर्तीजन्य वस्तु र यातायात उपसमूहको मूल्यवृद्धि ९.९९ प्रतिशत बढेको छ। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२२ प्रतिशत छ। केही वस्तुको मूल्य बढे पनि समग्रमा मुद्रास्फीति ३.४९ प्रतिशत छ। गत आव ४.५२ प्रतिशत थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.