सिके राउत आन्दोलनबीच चुनावी प्रचार गर्दै (फोटो फिचर)
काठमाडौं : डा. सिके राउत नेतृत्वको जनमत पार्टी अहिले आन्दोलनमा छ। पार्टीका कार्यकर्ता पूर्व मोरङदेखि पश्चिमको बाँके—बर्दियामा दुई दिनदेखि प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनकारीको आक्रोशको निशानामा मधेशवादी दल परेका छन्। जनमत पार्टीका कार्यकर्ता अझ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सरकारविरुद्ध थप आक्रोशित देखिन्छन्। उनीहरु राउतलाई लक्षित गर्दै 'साइकल चोर ! देश छोड' नारा लगाउन छाड्दैनन्।
प्रदेश २ को मुख्यमन्त्री कार्यालयले ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमिता गरेको आरोपमा अख्यिारले छापामारी गर्यो। त्यसपछि जनमत पार्टी मुख्यमन्त्री कार्यालयविरुद्ध नाराबाजी गर्दै आएको छ।
फरक घटनामा गत बिहीबार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थान कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाइ हिलो छ्याप्दै दुर्व्यवहार गरेको घटनामा जनमत पार्टीका १७ जना कार्यकर्ताविरुद्ध प्रहरीले अपराध उपद्र मुद्दामा मुद्दा चलाएको छ।
आफ्ना कार्यकर्तामाथि प्रहरीले चलाएको मुद्दा फिर्ता गराउन माग गर्दै डा. राउतले कार्तिक ८ गतेदेखि १६ गतेसम्मका लागि साताव्यापी आन्दोलन घोषणा गरेका थिए। तर आन्दोलनमा उत्रिएका समर्थक चुनावी प्रचारमा पनि सरिक देखिएका छन्।
आन्दोलनको दोस्रो दिन मंगलबार बाराको कलैयामा उनीहरुले आउँदो निर्वाचनका लागि भोट मागे। समर्थकहरुले ‘चुपे चाप– हर्न छाप ! डा. सि.के राउत जिन्दावाद ! ’ को नारा लगाएका थिए।
जनमत पार्टीले भ्रष्टाचारविरुद्ध उठाएको आवाजप्रति धेरैको समर्थन देखिन्छ। तर जनकपुर घटनामा जनतम पार्टीका कार्यकर्ताले कानुन हातमा लिएर कार्यालयका इन्जिनियरप्रति गरेको व्यवहारमा देशव्यापी विरोध भइरहेको छ।
जनकपुरधाममा पक्राउ परेका कार्यकर्तालाई छुटाउन प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता ।