विश्व तापक्रम २.७ डिग्री सेल्सियसले बढ्यो, अफगानिस्तानमा ७ सयभन्दा बढी ओलम्पिक खेलाडी अझै खतरामा

विश्व तापक्रम २.७ डिग्री सेल्सियसले बढ्यो, अफगानिस्तानमा ७ सयभन्दा बढी ओलम्पिक खेलाडी अझै खतरामा

विश्वको तापक्रम २.७ डिग्री सेल्सियसले बढेको एक रिपोर्टले देखाएको छ। कार्बन उत्सर्जनका कारण तीव्र गतिमा तापक्रम बढेको रपोर्टमा भनिएको छ। यो खबर बुधबार चर्चामा रह्यो। त्यस्तै अफगानिस्तानमा ७ सय बढी ओलम्पिक खेलाडीहरू समस्यामा रहेको बुझिएको छ। भारतको सर्वोच्च अदालतले पेगासस मुद्दामा अनुसन्धान गर्न आदेश दिएको खबर पनि चर्चामा रह्यो। प्रस्तुत छ, बुधबार दिनभर चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


भारतको सर्वोच्च अदालतद्वारा पेगासस मुद्दाको अनुसन्धान गर्न आदेश

नयाँ दिल्ली : भारतको सर्वोच्च अदालतले पेगासस जासुसी मुद्दाको अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ। अदालतले बुधबार छानबिन समिति गर्दै पेगासस जासुसी मुद्दाको अनुसन्धान गर्न आदेश दिएको हो। 

अदालतले निवृत्त न्यायाधीस आरबी रविद्रनको अध्यक्षतामा विज्ञहरुको छानबिन समिति गठन गरेको हो।  सो समितिले पेगासस जासुसीसँग सम्बन्धित आरोपको तीब्र रुपमा अनुसन्धान एवम् जाँच गर्नेछ। 

करिब ८ हप्तापछि सो मुद्दाको सुनुवाई हुने बताइएको छ।

इजरायली कम्पनी एनएसओको जासुसी सफ्टवेयर पेगासस स्पाइवेयर मार्फत विभिन्न १० देशमा ५० हजारभन्दा बढी मानिसको जासुसी गरेको आरोप छ। ५० हजार मानिसको फोन निगरानीमा राखेर जासुसी गरिएको बताइन्छ। 

पेगाससको निगरानीमा सरकारका मन्त्री, विपक्षी नेता, पत्रकार, वकिल, न्यायाधीस, व्यापारी र वैज्ञानिक आदि सामेल रहेको अन्तर्राष्ट्रिय खोज पत्रकारको दाबी छ। जसमध्ये भारतका करिब ३ सय व्यक्तिको फोन ट्याप गरेर सरकारलाई बेचिएको आरोप छ। 
००० 

ब्राजिलका राष्ट्रपतिविरुद्ध लागेको अपराधको आरोप अनुमोदन
ब्रासिलिया : ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध लागेको अपराधको आरोप अनुमोदन भएको छ। ब्राजिलको सिनेट अनुसन्धान समितिले राष्ट्रपतिविरुद्ध लागेको अपराध आरोपको अनुमोदन गरेको हो। 

कोरोना नियन्त्रणमा असफल भएकोले लाखौँ ब्राजिलका नागरिकलाई मारेको भन्दै बोल्सोनारोमाथि गम्भीर आरोप लागेको थियो। सो आरोपसँगै उनीमाथि विभिन्न ९ वटा  गम्भीर आरोप लागेको थियो। सो आरोपपछि उनलाई कारबाही गर्न सिफारिस गरिएको थियो। 

हालै सार्वजनिक करिब १३ सय पेज लामो आरोपको रिपोर्टले उनलाई ६ महिनाभित्र पक्राउ गर्न सिफारिस गरेको छ। ब्राजिल सरकारले सो रिपोर्टको अनुमोदन गरेको अलजजिरामा समाचार छ। 
००० 

पाकिस्तानलाई साउदी अरबको ३ बिलियन डलर आर्थिक सहयोग
इस्लामावाद : साउदी अरेबियाले पाकिस्तालाई ३ बिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ। आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानलाई साउदी अरबले सो रकम आर्थिक सहयोग स्वरुप प्रदान गरेको हो। 

आर्थिक सहयोग स्वरुप प्रदान गरेको सो रकम पाकिस्तानले बुधबार प्राप्त गरेको छ। 

साउदी अरबका राजकुमार मोहम्मद विन सलमानले कठिन समय पार गरिरहेको पाकिस्तानलाई सहयोग स्वरुप ३ विलियन डलर उपलब्ध गराएको बताएका छन्। ‘साउदीको मुस्लिम मित्र पाकिस्तान अप्ठेरोमा पर्दा साउदी अरबले सधैँ साथ दिएको छ र आगामी दिनमा पनि दिइरहनेछ’, साउदीका राजकुमार सलमानले भनेका छन्।

साउदीले दिएको सहयोगलाई आफुले सम्मान र कृतज्ञता प्रदान गरेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बताएका छन्।

नयाँ पाकिस्तानको नारा बोकेका प्रधानमन्त्री खानले पाकिस्तानलाई खर्बौ ऋणमा डुबाएको बताइन्छ।
००० 

सुडानमा गृह युद्ध रोक्न सत्ता कब्जा गरेको सेनाको भनाइ 
खार्तुम : सुडान सेनाले देशमा गृह युद्ध रोक्न आफूले सत्ता कब्जा गरेको बताएको छ। सेनाले सुडानमा सोमबारदेखि सैन्य शासन लागू गरेपछि पहिलो पटक सेनाले सो बताएको हो। 

सुडानका सेना प्रमुख अब्देल फताह अल बुर्हानले मंगलबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै देशको गृहयुद्ध रोक्न सैन्य शासन लागू गरेको बताएका हुन्। 

‘पछिल्लो समयको घटनाक्रम हेर्दा सुडान गृह युद्धमा होमिने खतरा प्रबल थियो। सो गृह युद्ध र अशान्ति रोक्न सेनासँग सत्ता कब्जा गर्नेबाहेक कुनै विकल्प थिएन’, उनले भनेका छन्। 

सुडान सेनाले सोमबार सुडानको लोकतन्त्र हत्याउँदै सैन्य शासन लागूको घोषणा गरेको थियो। सेनाले सोही दिन प्रधानमन्त्री अब्दल्ला हमडोक र मन्त्रालयका सबै सदस्यलाई नियन्त्रणमा लिएको थियो। 

सेनाको सो कदमपछि सैन्य शासन विरोधी र लोकतन्त्र समर्थकहरुले मंगलबार बन्द, हडताल र प्रदर्शन गरेका थिए। प्रदर्शन उग्र बन्दा ७ जनाको ज्यान गएको बताइएको छ।
००० 

आङ सान सुकीद्वारा ‘उक्साहट’को आरोप अस्वीकार 
बर्मा : म्यानमारकी पूर्व नेतृ आङ सान सुकीले आफूमाथि लागेको ‘लोभलालच र उक्साहट’को  आरोप अस्वीकार गरेकी छन्। उनीमाथि लागेको आरोपमा अदालतसमक्ष पहिलोपटक प्रमाण पेश गर्न पुगेकी सुकीले लोभलालच र जनतालाई उक्साएको आरोप अस्वीकार गरेकी हुन्। 

अदालतसमक्ष उपस्थित भएकी सुकीले फेब्रुअरीमा प्रकाशित उनको दलले गरेको सैन्य शासनको निन्दा गरेको अभिव्यक्ति र म्यानमार सेनासँग काम नगर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको अपील भड्काएकोबारे लागेको आरोप अस्वीकार गरेकी हुन्। 

गत फेब्रुअरी १ मा सेनाको सत्ता कब्जापछि सुकी पदच्युतमा परेकी थिइन्। पदच्युतपछि सेनाले उनलाई पक्राउ गरी नजरबन्दमा राखेको छ। ७६ वर्षीया सुकीमाथि दर्जनौ आरोप लगाइएका छन्। यदि उनीमाथि लागेका आरोप सही ठहरिएमा उनले वर्षौसम्म जेल सजाय भोग्नुपर्नेछ।
०००

विश्व तापक्रम २.७ डिग्री सेल्सियसले बढ्यो
जेनेभा : विश्व तापक्रम २.७ डिग्री सेल्सियसले बढेको एक तथ्यांकले देखाएको छ। संयुक्त राष्ट्रसंघको विश्व मौसम संगठनले यो शताब्दीमा विश्वको तापक्रम २.७ डिग्री सेल्सियसले बढेको देखाएको हो। 

संघको कप २६ जलवायु सम्मेलन हुनुअघि राष्ट्रसंघको वातावरण कार्यक्रम (युएनईपी)ले एक रिपोर्ट सार्वजनिक गर्दै विश्व तापक्रम तीव्र रुपमा वृद्धि भएको देखाएको हो। रिपोर्टले कार्बन उत्सर्जनका कारण विश्व तापमान बढ्दै गएको चेतावनीसमेत दिएको छ। 

‘कार्बन उत्सर्जनका कारण यस शताब्दीमा विश्व तापमान २.७ डिग्री सेल्सियसले वृद्धि भएको छ। ७८ प्रतिशत कार्बन उत्सर्जन गर्नमा सबैभन्दा बढी जिम्मेवार जी २० मुलुकहरु छन्’, युएनईपीका कार्यकारी निर्देशक इंगर एन्डर्सनले भनेकी छन्, ‘विश्व तापमान वृद्धि हुनुमा विश्वका सबै मुलुकहरु पनि जिम्मेवार छन्।’ 

यदि विश्व तापमान रोक्न कसैले कदम नचालेमा जलवायु संकटले केही दशकमा ठूलो विनाश ल्याउने चेतावनी उनले दिएकी छन्। 
०००

प्रसिद्ध हास्यव्यङ्ग्य कलाकारको निधन
क्यालिफोर्निया : अमेरिकाका प्रसिद्ध हास्य कलाकार एवम् राजनैतिक व्यङ्ग्यकार मोर्ट साहिलको निधन भएको छ। राष्ट्रपति ड्वाइट आइसेनहोवरदेखि डोनाल्ड ट्रम्पसम्मको कटाक्ष गर्ने प्रसिद्ध कलाकार मोर्टको ९४ वर्षको उमेरमा क्यालिफोर्नियास्थित मिल भ्यालीमा निधन भएको हो। 

सन् १९५० ताका साहिलको राजनैतिक कटाक्षले निकै चर्चा पाएको थियो। सोही कटाक्षका कारण उनी सबैसामु लोकप्रिय बनेका थिए। साहिल आधुनिक ‘स्ट्यान्ड अप कमेडी’का जन्मदाताको रुपमा समेत चिनिन्छन्। 

मोन्ट्रियलमा जन्मिएका साहिल बाल्यकालमै आफ्नो परिवारका सदस्यसँगै लस एन्जलस सरेका थिए। उनले हाँस्य कलाकारको रुपमा सान फ्रान्सिस्कोबाट आफ्नो कलाकारिताको यात्रा सुरु गरेका थिए। 

उनले सन् १९५९ मा पहिलो पटक ग्राम्मी अवार्ड र एकेडेमी अवार्डको होस्टसमेत गरेका थिए। 

उनले अमेरिकी राष्ट्रपति जोन एफ केनडीदेखि विभिन्न चर्चित राजनैतिक नेताको व्यङ्ग्य गरेका छन्। उनले ८० वर्षको उमेरसम्म आफ्नो हास्यव्यङ्ग्य यात्रालाई निरन्तरता दिएका थिए। 

जिवनभर चार जनासँग बिहे गरेका उनको हाल कुनैपनि पारिवारिक सदस्य नरहेको बताइएको छ। 
०००

अफगानिस्तानमा ७ सयभन्दा बढी ओलम्पिक खेलाडी अझै खतरामा
काबुल : अफगानिस्तानमा सात सयभन्दा बढी ओलम्पिक खेलाडी अझै पनि खतरामा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक समितिले (आइओसी) बताएको छ। समितिले अफगान टोकिया खेलकुदका सबै खेलाडीसहित अन्य योग्य खेलाडी अझैपनि अफगानिस्तानमा रहेको बताएको हो।

करिब तीन महिनाअघि तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएको थियो। त्यसयता सबै खेलाडी अफगानिस्तानमै रोकिएको समितिले जनाएको छ। 

आइओसीका अध्यक्ष थोमस बाचका अनुसार अफगानिस्तानबाट अन्य खेलका खेलाडीको उद्दार गरिएपनि ओलम्पिक समुदायका खेलाडी भने अझै पनि अफगानिस्तानभित्रै रोकिएका छन्। 

‘ओलम्पिक खेलाडीलाई पनि सुरक्षित मुलुकमा सार्न खोजिए पनि करिब ७ सय खेलाडी अफगानिस्तानमै फसेका छन’, उनले भनेका छन्, ‘खेलाडीहरुले अफगानिस्तानमा खाद्य र मानवीय संकटको सामना गरिरहेका छन्।’

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.