चिनियाँ क्षेप्यास्त्र प्रक्ष्येपणले अमेरिकी सेना चिन्तित, २४ घण्टामा १०५ हुथी विद्रोही मारिएको अरब गठबन्धनको दाबी

चिनियाँ क्षेप्यास्त्र प्रक्ष्येपणले अमेरिकी सेना चिन्तित, २४ घण्टामा १०५ हुथी विद्रोही मारिएको अरब गठबन्धनको दाबी

चीन र भारतले क्षेप्यास्त्र परीक्षण गरेको समाचार बिहीबार चर्चामा रह्यो। चीनले गरेको क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेनामा चिन्ता बढेको र भारतले पनि चीनसँगको सीमा विवादकाबीच परमाणुयोग्य क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ। विश्वको जलवायु परिवर्तनलाई रोक्न संसारभरका करिब ३ हजार कोइला उद्योग बन्द गर्नुपर्ने एक अध्ययनले देखाएको खबर पनि चर्चामा रह्यो। प्रस्तुत छ, बिहीबार चर्चामा रहेका केही प्रमुख खबरहरू :


चिनियाँ क्षेप्यास्त्र प्रक्ष्येपणले अमेरिकी सेना चिन्तित

भर्जिनिया : चीनले गरेको क्षेप्यास्त्र प्रक्ष्येपणपछि अमेरिकी सेना चिन्तित बनेको छ। पहिलो पटक चीनको क्षेप्यास्त्र प्रक्ष्येपणको पुष्टि गर्दै अमेरिकी सेना चिन्तित बनेको हो।

अमेरिकी सेनाका शीर्ष जनरल मार्क मिलेले चीनको क्षेप्यास्त्र प्रक्ष्येपण संसारको पहिलो मानवनिर्मित भूउपग्रह स्पुतिनक मुमेन्ट (क्षण) जस्तै रहेको बताएका छन्। ‘यो एक महत्वपूर्ण प्रविधिको घटना हो र यसमाथि हाम्रो ध्यान केन्द्रित हुनेछ’, हालै प्रशारित ब्लुमबर्ग टिभीसँगको अन्र्तवार्तामा उनले भनेका छन्।

गत साता बेलायतको फाइनान्सियल टाइम्सले चीनले परमाणु क्षमतासहितको क्षेप्यास्त्र प्रक्ष्येपण गरेको समाचार बाहिर ल्याएको थियो। सो समाचारले अमेरिकाको गुप्तचर एजेन्सीलाई झट्का लागेको थियो।
०००

संसारका करिब ३ हजार कोइला उद्योग बन्द गरिनुपर्ने : अध्ययन
साङ्घाई : जलवायु परिवर्तन संकटसँग जुध्न संसारका करिब ३ हजार कोइला पावर प्लान्ट(उद्योग) बन्द गरिनुपर्ने एक अध्ययनले देखाएको छ। विश्व तापमान नियन्त्रण र जलावायु परिवर्तन रोक्न सो संख्यामा कोइला उद्योग बन्द गरिनुपर्ने जलवायु थिंक ट्यांकको अध्ययनले देखाएको हो।

जलवायु थिंक ट्यांक ट्रान्जिसन जेरोले कप २६ सम्मेलन सुरु हुनुअघि सार्वजनिक गरेको अध्ययन रिपोर्टले सो देखाएको हो।

ट्रान्जिसनजेरोका अनुसार विद्युत् उत्पादनका लागि संसारभर सञ्चालित करिब ३ हजार कोइला प्लान्ट सन् २०३० अघि नै बन्द गर्नुपर्ने छ। विश्व तापमान नियन्त्रणमा राख्न करिब २ हजार देखि १ हजार गिगावाट विद्युत् क्षमता भएका ३ हजार कोइला प्लान्ट बन्द गरिनुपर्ने भएको हो।
०००

अफ्रिकन युनियनद्वारा सुडान निलम्बनमा
इथियोपिया : अफ्रिकन युनियन (एयु)ले सुडानलाई निलम्बनमा पारेको छ। सुडान सेनाले मुलुकमा सैन्य ‘कू’ लागू गरेपछि एयुले सुडानलाई निलम्बनमा पारेको हो।

सेनाले मुलुकमा सैन्य ‘कू’ लागू गरेपछि सुडानका सबै गतिविधिमा रोक लगाएको एयुले बुधबार बताएको छ। ‘सेनाको कदमपछि हामीले सुडानलाई निलम्बनमा पार्ने निर्णय गरेका हौँ’ एयुले ट्वीटरमार्फत सूचना जारी गरेको छ।
०००

भारतले ग¥यो परमाणु योग्य क्षेप्यास्त्र परीक्षण
नयाँ दिल्ली : भारतले परमाणु क्षमतायोग्य क्षेप्यास्त्र परीक्षण गरेको छ। चीनसँगको बढ्दो सीमा विवादकाबीच भारतले अन्तरदेशीय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो।

भारतले बुधबार राति सफलतापूर्वक अग्नी ५ नामक क्षेप्यास्त्र परीक्षण गरेको बिहिबार जारी विज्ञप्तीमा उल्लेख छ। सो क्षेप्यास्त्र बे अफ बंगाल नजिक खसालिएको बताइएको छ।

भारतले परीक्षण गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण करिब ५ हजार किलोमिटरसम्म पुगेको बताइएको छ।
०००

जापानका राजदूत र तालिबानका विदेशमन्त्रीबीच भेट
टोकियो : अफगानिस्तानका लागि जापानका राजदूत र तालिबान सरकारका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ। राजदूत तासाकी ओकादा र तालिवानका विदेशमन्त्री अमिर खान मुताकीबीच दोहामा भेटवार्ता भएको हो।

जापानले अफगानिस्तानको लागि सुरक्षित मार्गबाट मानवीय सहायता पठाउने सम्बन्धमा उनीहरुबीच भेटवार्ता भएको जापानको विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सो भेटमा जापान सरकार अफगानिस्तानका महिला, जातीय अल्पसंख्यकले अधिकार पाउनुपर्नेमा जापानले जोड दिएको छ।

तलिबानले सत्ता कब्जामा लिएपछि जापान र तालिबानबीच पहिलो पटक भेटवार्ता भएको क्योडो न्यूजले जनाएको छ।
०००

उत्तरपूर्वी अमेरिकाका ६ लाख घर अन्धकारमा
न्यूयोर्क : उत्तरपूर्वी अमेरिकाका ६ लाखभन्दा बढी घर अन्धकारमा परेका छन्। तटीय आँधीका कारण विद्युत् कटौती हुँदा ६ लाखभन्दा बढी घर अन्धकारमा परेका हुन्।

विद्युत् कटौतीपछि म्यासाच्युट्स राज्य सबैभन्दा प्रभावित बनेको छ। म्यासाच्युट्समा मात्र करिब ४ लाख ६६ हजार घरमा अन्धकार छाएको बताइएको छ। बोस्टोनका करिब ९१ हजार घरमा विद्युत कटौती भएको छ भने न्यूयोर्क र न्यूजर्सी राज्यमा समेत सो प्रभाव परेको मौसमविद्ले बताएका छन्।

सो क्षेत्रमा हावा हुरी र आँधी तुफानको प्रबल सम्भावना रहेकोले खतरनाक अवस्था आउने नेसनल वेदर सर्भिसका मौसमविदले चेतावनी दिएका छन्। बिहीबारदेखि मात्र मौसममा क्रमिक सुधार आउनले बताइएको छ।  
०००

चीनमा अबदेखि अग्ला भवन निर्माण गर्न नपाइने  
बेइजिङ : चीनमा अबदेखि अग्ला भवन निर्माण गर्न नपाइने भएको छ। करिब ३० लाखभन्दा कम जनसंख्या भएका साना सहरहरुमा चीनले अग्ला भवन निर्माणमा रोक लगाएको हो।

चीनको भवन तथा ग्रामीण सहर विकास मन्त्रालय र आपतकालिन व्यवस्थापन मन्त्रालयले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको हो।

सो मापदण्डअनुसार चीनले कम जनसंख्या भएका साना सहरहरुमा १५० मिटरभन्दा अग्ला गगनचुम्बी भवन निर्माणमा रोक लगाएको हो। करिब ३० लाखभन्दा माथि जनसंख्या भएका सहरहरुमा भने २५० मिटरभन्दा अग्ला भवन निर्माणमा रोक लगाएको छ।

चीनमा संसारका केही अग्ला भवनहरु निर्मित भएपनि करिब ५ सय मिटरभन्दा अग्ला भवन निर्माण गर्न नपाइने प्रावधान छ। यद्यपि, करिब ६३२ मिटर अग्लो साङ्घाई टावर र ५९९ मिटर अग्लो पिङ आन फाइनान्स सेन्टर चीनमा निर्माण भएका छन्।  
स्थानीय मिडियाकाअनुसार साङ्घाई र सेनेजेङ ठूलो सहरहरुमा गगनचुम्बी भवनहरु आवश्यक भएकोले त्यहाँ अग्ला भवनहरु निर्माण भएका हुन्। साना सहरहरुमा निर्माता कम्पनी र मालिकले आफ्नो लक्ष्य र मूल्य प्राप्त गर्न नसक्ने भएकोले सरकारले अग्ला भवन निर्माणमा रोक लगाएको हो।

यसअघि यस वर्षको सुरुवातमा चीनले ‘खराब आर्किटेक्चर’ भएका भवनहरु निर्माणमा रोक लगाएको थियो।
०००

चीनको हस्तक्षेपविरुद्ध अमेरिकाले रक्षा गर्ने ताइवानको विश्वास
ताइपेई : चीनको नयाँ हस्तक्षेपविरुद्ध अमेरिकाले रक्षा गर्ने ताइवानकी राष्ट्रपति साई इङ वेनले बताएकी छन्। सीएनएनसँगको अन्तरवार्तामा उनले चीनविरुद्ध अमेरिकाले ताइवानको रक्षा गर्ने बताएकी हुन्।

‘चीनको हस्तक्षेप र हमलाविरुद्ध अमेरिकाले ताइवानको रक्षा गर्नेमा म विश्वस्त छु’, अन्तर्वातामा उनले भनेकी छन्, ‘ताइवानको रक्षा क्षमता बढाउने उदेश्यले अमेरिकाले व्यापक सहयोग गरिरहेको छ।’

ताइवानको रक्षा मन्त्रालयले हालै चीनले तिनवटा सैन्य विमान आफ्नो वायु रक्षा क्षेत्रमा पठाएको पुष्टि गरेपछि राष्ट्रपति वेनले सो अभिव्यक्ति दिएकी हुन्।

चीनले ताइवानको टापु क्षेत्रमा सैन्य गतिविधि बढाएको बताइन्छ। चीनको सो गतिविधिपछि अमेरिकी सेनाले ताइवानको सैन्य बललाई प्रशिक्षण दिइरहेको वाल स्ट्रिट जर्नलमा समाचार छ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले चीनविरुद्ध ताइवानको रक्षा गर्ने बताएका थिए।
०००

यमनमा १०५ हुथी विद्रोही मारिएको अरब गठबन्धनको दाबी
अल मुकाल्ला : अरब गठबन्धले यमनको मारिब सहरमा पछिल्लो २४ घण्टामा करिब १०५ हुथी विद्रोही मारिएको दाबी गरेको छ। गठबन्धले पछिल्लो समय भएको हवाई हमलामा सो संख्यामा हुथी विद्रोही मारिएको दाबी गरेको हो।

अन्तर्राष्ट्रिय रुपमा परिचित अरब गठबन्धले अक्टोबर ११ देखि हालसम्म सो क्षेत्रमा करिब २ हजारभन्दा बढि हुथी विद्रोही मारिएको बताएको छ। पछिल्लो २४ घण्टामा १०५ विद्रोही मारिएको र करिब १३ वटा सैन्य गाडी नस्ट पारिएको बताइएको छ।

यमनको मारिबमा हुथी विद्रोही र सरकार पक्षबीच लामो समयदेखि युद्ध जारी छ।

– संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.