टिकटकले जन्माएको ‘सेल्फी रोड’

टिकटकले जन्माएको ‘सेल्फी रोड’

स्मार्ट फोन हातहातमा छ। कोही टिकटक बनाउने त कोही सेल्फी लिन मस्त छन्। अर्को व्यक्तिले के गर्दैछ भन्ने भन्दा पनि आफ्नो फोटो र टिकटक कसरी राम्रो बन्छ भन्ने सुरमा देखिन्छन् सबैजना। यो दृश्य हो पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरेस्थित जंगलभित्रको कालोपत्रे सडकको। जुन स्थान अहिले ‘सेल्फी रोड’का नामले चर्चित छ। 

दायाँबायाँ सालका रूख, रूखको फेद रातो र सेतो रंगले सुन्दर पारिएको यो ठाउँलाई कालोपत्रे सडकले आकर्षण बढाएको छ। यही आकर्षणले गर्दा युवाको ध्यान तानियो र एक किलोमिटर कालोपत्रे सडक सामाजिक सञ्जालमा भइरल बन्यो। 

यहाँ अहिले राम्रो फोटो र टिकटक बनाउने र भाइरल बन्ने दाउ युवायुवतीमा भेटिन्छन्। युवायुवतीले आफूलाई भाइरल गराउन खोज्दाखोज्दै ठाउँ चर्चित बन्यो। अहिले सामाजिक सञ्जालमा चर्चित बनेका मात्रै होइनन् कलाकार पनि फोटो खिच्नकै लागि यो ठाउँ पुग्छन्। पछिल्लो समय म्युजिक भिडियो छायांकन गर्ने एउटा गन्तव्य पनि सेल्फी रोड बनेको छ।  

selfieroad

‘कुन स्थान के कारणले चर्चित बन्छन् टुंगो नहुने रहेछ, यो स्थान अहिले फोटो खिचेर चर्चामा आयो,’ पथरी शनिश्चरेका स्थानीय रामकुमार सुनुवार भन्छन् ‘अहिले पर्यटकीय क्षेत्र बनेको छ। अहिले पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुसमेत केही समय सवारी रोकेर यहाँ केही समय रमाउने गर्छन्। ‘प्रदेश १ का तराईका जिल्लाका नागरिक त यो स्थानमा सबै आए होलान्, टिकटकका स्टर भन्नेहरू त यो ठाउँ खोज्दै विभिन्न जिल्लाबाट आएका छन्,’ यस्तै स्थानमा चट्पटे व्यापार गर्ने स्थानीय मञ्जु लिम्बू बताउँछिन्। उनका अनुसार यो स्थानमा विभिन्न स्थानबाट दैनिक पाँच हजारसम्म नागरिक पुग्ने गरेका छन्। अहिले यस स्थानमा घोडाले तान्ने ‘बग्गी’ पनि सञ्चालन छ। बग्गीमा चढेर घुम्न बालबालिका र बृद्धबृद्धासमेत पुग्छन्। 

जब कोरोना महामारीका कारण लकडाउन भयो अनि यो क्षेत्रको पहिचान भएको हो। लकडाउनको समयमा आसपासका स्थानबाट फाट्टफुट्ट पुग्ने व्यक्तिले हालेको फोटो र भिडियोकै कारण यो स्थान चर्चामा आएको हो। जंगलभित्रको एक किलोमिटर सडक पथरी शनिश्चरे नगरपालिका—२ स्थित बोक्रे चोक जान बनाइएको थियो। फोटो, भिडियोमा जंगल र सडक आकर्षक देखिन्छ। पूर्व–पश्चिम राजमार्ग नजिकै भएकाले पुग्न पनि सजिलो भएकाले यो स्थान चाँडै चर्चामा आएको हो। 

‘सुनसान जंगल, बीचमा चौंडा पिच सडक, भिडियो र फोटोमा पनि दृश्य राम्रो देखिने भएकाले मैले धेरै टिकटक भिडियो यो स्थानमा पुगेका बनाएको छु,’ मोरङ विराटनगरकी सञ्जु श्रेष्ठ भन्छिन्। अहिले निजी सवारीमा यो बाटो भएर हिँड्नेहरू यो स्थानमा पुगेर फोटो÷भिडियो खिचेर मात्रै हिँड्ने गरेको श्रेष्ठ बताउँछिन्।  सामाजिक सञ्जालमा फोटो र भिडियो हालेकै कारणले गर्दा यो स्थान चर्चित बनेको उनी पनि बताउँछिन्। यो सडकमा दर्जनौं नेपाली तथा भोजपुरी गीतहरूको छायांकन भइसकेको छ। यसैले दर्जनौं स्थानीयमा रोजगारीसमेत सिर्जना गरेको छ। सडकका छेउछाउमा आइसक्रिम, चियानास्ता, चटपटे र ममः चाउमिनको व्यापार फस्टाएको छ। एउटै व्यापारीले भने पनि यहाँ दैनिक ४ देखि ५ हजार रुपैयाँसम्मको व्यापार गर्छन्। 

हाल चौतारी सामुदायिक वनले पर्यापर्यटन क्षेत्रको रूपमा उक्त सडकलाई विकसित गर्ने योजना अघि सारेको छ। अत्यधिक चाप र भीडभाड बढेपछि अहिले सामुदायिक वनले फोहोरमैला बिसर्जनका लागि सडक छेउमा कन्टेनर राखिदिएको छ। यसको सबै क्षेत्र सामुदायिक वनभित्र पर्छ।  सामाजिक सञ्जालकै कारण यो ठाउँको प्रचारप्रसारमा सहयोग पुगेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईको विश्लेषण छ। उनी सो ठाउँलाई आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सडकमा बत्ती जडान गर्ने, बस्ने ठाउँहरूको व्यवस्था गर्ने तथा पर्यटन पूर्वाधारहरूको निर्माण कार्यमा तीव्रता दिइने योजना रहेको बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.